आयोजक र खेलाडी दुवै महिला बनेको फुटबल प्रतियोगितामा ढोडेनी आमा समूह विजयी

आयोजक र खेलाडी दुवै महिला बनेको फुटबल प्रतियोगितामा ढोडेनी आमा समूह विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २६ गते सोमबार ०७:५८

श्लिाषा एवम् वाकस अर्थात ‘बालबालिका स्कूलमा, महिला काममा’ अभियानका परिकल्पनाकार संगीता श्रेष्ठले विजयी टिमलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रतियोगिताको एक खेलका लागि २५ मिनेट समय उपलब्ध गराइएको थियो ।

हिजोबजार(लमजुङ)– आयोजक र खेलाडी दुवै महिला मात्रले सञ्चालन गरेको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । श्लिषा नामक गैससको उत्प्रेरणामा गठित वासक लमजुङको क्षेत्र नं ९ को क्षेत्रीय समितिले सो प्रतियोगिता ११५ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा को फागुन २४ गते अयोजना गरेको हो ।
दोर्दी गाउँपालिका– ८ को हिलेबजारको फुटबल खेल मैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । ‘आमाहरू पनि फुटबल खेल खेल्न सक्छन्’ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ सो प्रतियोगिता गरिएको वाकस लमजुङकी सहजकर्ता पवित्रा परियारले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।

ढोडेनी आमा समूह र माझ खर्क आमा समूहका बीचमा भएको फाइनल प्रतियोगितामा १– ० गोलले ढोडेनी आमा समूह पहिलो भएको हो । उहाँका अनुसार विजेता टिमकी सरिता तामाङले गोल हान्दै आफू समूहलाई जीतको ताज हात लागएकी हुन् । उहाँले भन्नुभयो ‘प्रतियोगितामा कम्तिमा एक सन्तानकी आमा तथा ३० वर्ष माथि उमेरका महिलालाई सहभागी गराइएको थियो ।’
फाइनलमा पुगेका ती आमा समूहले सेमी फाइनलमा ढोडेनी आमा समूह र बन्सार आमा समूहबीच प्रतिस्पर्धा भएको थियो । खेल अवधिमा दुवै पक्षबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ४– ३ गोलले हराउँदै ढोडेनी आमा समूह फाइनलमा प्रवेश गरेको हो । माझखर्क आमा समूहले सराञ्चोक आमा समुहलाई २– ० गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको एक खेलका लागि २५ मिनेट समय उपलब्ध गराइएको थियो ।
पहिलो हुने टिमलाई १० हजार रुपैयाँ र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजक समूहकी सचिव हितकुमारी गुरुङले बताउनु भयो । उहाँका अनुसार सोही वडाका वडासदस्य एवम् उदघाटन सत्रकी प्रमुखअतिथि लालमाया मिजारले खेलको उदघाटन गर्नु भएको हो । मिजारले आउँदो वर्षदेखि यस प्रतियोगिताको पहिलो पुरस्कार आफ्नो वडा समितिले बेहोर गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
समापन कार्यक्रममा श्लिाषा एवम् वाकस अर्थात ‘बालबालिका स्कूलमा, महिला काममा’ अभियानका परिकल्पनाकार संगीता श्रेष्ठले विजयी टिमलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले प्रतियोगितामा दिदी बहिनीहरूको उत्साहपूर्ण सहभागिताले आफूलाई थप उत्प्रेरित गरेको बताउनु भयो ।
सो खेलको उदघाटन तथा समापन आयोजक संस्थाका अध्यक्ष विष्णुकुमारी गुरुङको अध्यक्षतामा भएको आयोजक समूहकी कोषाध्यक्ष प्रतिक्षा तामाङले बताउनु भयो ।

प्रकाशित मिति २०८१ फाल्गुन २६, सोमबार १९:५८ गते
हजुरको प्रतिक्रिया