काठमाडौँ– मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं रिहा हुनु भएको छ । उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाएर उहाँ साउन १९ गते रिहा हुनु भएको हो ।
उच्च अदालत पाटनले तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा प्रसाईंलाई छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसैगरी, सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गर्नु भएको हो ।
कांग्रेस सांसद डा. सुनिल शर्मा प्रसाईंलाई लिन डिल्लीबजार कारागार पुग्नु भएको थियो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा गरिएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक घट्नामा संलग्न रहेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो । राजसंस्थाको पुनः स्थापनाको मागसहित चैत्र १५ गते भएको उक्त प्रदर्शनले हिंसात्मक रुप लिँदा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सो घट्नामा कम्तीमा १९ जनालाई प्रहरीको गोली लागेको थियो भने कयौं घाइते भएका थिए ।
उच्च अदालतले प्रसाईंसँग ३ लाख रुपैयाँ धरौटी वा बैंक जमानत लिएर छाड्न आदेश दिएको हो । घटनापछि भागेर भारत पुगेका प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याइएको थियो । तर प्रसाईंमाथि लगाईंको अभियोग पुष्टि हुने विश्वास योग्य प्रमाण पेश हुन नसकेको उच्चले ठहर गरेको छ ।
नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो । सिआइबीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो ।
मुुद्दामा प्रतिवादी बनाइएका मिश्र, जबरासहितका ४६ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । सरकारले जिल्ला अदालतले थुनछेक आदेशविरुद्ध एकमुद्दा निवेदन दिएको थियो ।
धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिदै दुर्गा प्रसाईंले फेसबुक पेजमा स्टाटस लेख्नु भएको छ, ‘न्याय मरेको छैन भन्ने आभाष भयो ।’ उहाँले आफूलाई साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार समेत व्यक्त गर्नु भएको छ । उच्च अदालतको आदेशले कारागारमुक्त भएपछि प्रसाईंले आफ्नो लेख्दै न्यायप्रणालीप्रति कृतज्ञता व्यक्त भएको हो ।
कारागार चलान हुँदा पनि आफूले अदालतको आदेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको स्मरण गर्दै लेख्नु भएको, ‘आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनि देश निर्माणको भावी योजनाका साथ म घर फर्किँदै छु ।’
कारागारमा बिताएको समयबारे ‘मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन ।’ प्रसाईंले उल्लेख गर्नु भएको छ ।
भविष्यमा देश र जनताको लागि काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, ‘म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु ।’
आफ्नो तरिका र शैली बदलिए पनि नागरिक र देशका लागि मन, वचन र कर्मले लाग्ने स्वभाव कहिल्यै परिवर्तन नहुने उल्लेख गर्दै प्रसाईले अन्तमा, सबैलाई पुनः हृदयको अन्तस्करणबाट आभार व्यक्त गर्दै धन्यवाद भन्नुभएको छ ।
कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजे पनि प्रहरीले उहाँ चढेको गाडीलाई अघि बढ्न भन्यो र प्रतिक्रिया दिन नपाएपछि फेसबुक स्टाटस आएको हो ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएका मुद्दाहरूका साथै बैंकिङ कसुर दुवैमा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो । अदालतले तोकेको धरौटीको रकम बुझाएपछि कारागार प्रशासनले रिहाईको प्रक्रिया टुंग्याएर प्रसाईंलाई छाडेको हो ।
राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा भएको घटनामा काठमाडौँ सरकारी वकिल कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा र दुर्गा प्रसाईँसहित ५० जनाविरूद्ध जेठ ११ गते मुद्दा दर्ता गरेको थियो ।
विश्वासयोग्य प्रमाण पेश नभएको हुँदा धरौटी माग :
गत चैत १५ गते तीनकुनेमा राजवादीहरूले आन्दोलन गर्दा भएको घटनामा संलग्न रहेको भन्दै पुुर्पक्षका लागि थुनामाम रहेका दुर्गा प्रसाईंसहित चारजनालाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतले चार जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशलाई बदर गर्दै धरौटी माग गरेको हो ।
त्यसो त उच्च अदालतले दुर्गा प्रसाईं अहिले नै निर्दोष हुन् भन्न नसकिने पनि आदेशमा उल्लेख गरेको छ । प्रसाई क्यान्सरका बिरामी समेत भएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै उच्च अदालतले उहाँलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईंमाथि सरकारी वकिलले पनि राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो ।
थुनामा रहेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०÷५० हजार धरौटी माग गरेको छ । त्यस्तै दण्डपाणि रेग्मीसँग १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
स्मरणीय छ, तीनकुने घटनामा दुईजनाको मृत्यु हुनुनको साथै व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको तोडफोड भएको थियो । सरकारले उक्त घटनामा संलग्न रहेकाहरू विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी पाँच किसिमका अभियोग लगाएको थियो ।
प्रकाशित मिति २०८२ श्रावण २०, मंगलवार ०८:५७ गते