बेसीशहर(लमजुङ)– यहाँ स्थित भु.पू. सैनिक माध्यमिक विद्यालयको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ । साताव्यापी रुपमा सञ्चालन गरिएको खेलकुद सहितको उक्त कार्यक्रम पुष ३० गते आफ्नै विद्यालय परिसरमा सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षिकाद्वय फूलमाया थापा र पवित्र गुरुङले उल्लेखनीय योगदान गर्नु भएकोमा कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा शैक्षिक वर्ष २०८० का वर्षका उत्कृष्ट विद्यार्थी कक्षा १० का स्वरूप पौडेल र अलिशा गुरुङलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद गुरुङले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार वार्षिकोत्सवका अवसरमा अभिभावक तथा विद्यार्थीको संयुक्त नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई आठ हजार रूपैंया नगर तथा दोस्रो हुने टोलीलाई पाँच हजार रूपैंया नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, विद्यालयका अभिभावक देबेन्द्रकुमार गुरुङ (हाल यु.के) ले जेहेनदार विद्यार्थीहरूको सहयोगार्थ ५० हजार रूपैंयाको पहिलो पटक अक्षयकोष स्थापना गर्नु भएर विद्यालयलाई अतुलनीय गुण लगाउनु भएको छ । यो पुरस्कारले उक्त विद्यालयको सिकाईका क्षेत्रमा थप उपलब्धि हालिस गर्ने आशा गरिएको छ ।
सो विद्यालय बेसीशहर नगरपालिका– ७ को सातवीसे टोलमा आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति २०८२ माघ १, बिहीबार १६:४८ गते