
मिप्रा(लमजुङ)– लमजुङको मस्र्याङ्दी गाउँपालिका– ४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप– २०८३ को खुला पुरुष र महिला प्रतियोगिता गरिएको हो । आयोजक कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो । सो प्रतियोगिता अन्तर्गत पुरुषतर्फका आज ३ गते चार खेल सम्पन्न भएका छन् ।
आज कार्तिक २ गतेको पहिलो खेल जन कल्याण युवा क्लब नाइचे र केवाइसी क्लबका बीच भएकोमा ३– १ गोल अन्तरले जन कल्याण युवा क्लब नाइचे विजयी बनेको छ । त्यस्तै, दोस्रो खेल चन्द्रमा युवा क्लब थाकनका र अन्नपूर्ण युवा क्लब छापा ‘बि’का बीचमा भएको थियो । सो खेल ३– ० गोलको परिणामका साथ सम्पन्न भएको छ । तेस्रो खेल अन्नपूर्ण युवा क्लब छापा ए र तराचोक क्लबका बीचमा भएको थियो । जसमा २– ० गोलको अन्तरले अन्नपूर्ण युवा क्लब छापा ए अघि बढेको आयोजक क्लबका खेल संयोजक प्रदीप गुरुङले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार चौथो खेल स्टार युवा क्लब नयाँ गाउँ र कालिका युवा क्लब आठखेतका बीचमा भएको छ । सो खेलमा ६– १ गोल गरी फराकिलो गोल अन्तरले स्टार युवा क्लब नयाँ गाउँ अघि बढेको छ । उहाँले भन्नुभयो, ‘बिजेता टिमहरू सबै सेमी फाइनलमा प्रवेश गरेका छन् ।’
पुरुषतर्फको सेमी फाइनल खेल भोलि बिहान हुने छ । त्यस्तै दिउँसो महिला र पुरुष दुवैको फाइनल खेल भई समापन कार्यक्रममा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजको भनाइ छ ।
‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ ।’ भन्ने मूल नाराका साथ आयोजना गरिएको आयोजक क्लबका आयोजक कन्यादेवी क्लबका अध्यक्ष सुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताउनु भयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने उल्लेख गर्नुभयो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख १५ हजार १५ रुपैयाँ, दोस्रो हुने टिमलाई ७५ हजार ७५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिलातर्फका विजेता टिमलाई २० हजार २० रुपैयाँ, दोस्रो हुने टिमलाई १२ हजार १२ रुपैयाँ र साथमा कप, मेडल र प्रमाणपत्र रहेको आयोजक क्लबका खेल संयोजक प्रदिप गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुषतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई दुई दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने प्रवन्ध गरिएको छ । उहाँले भन्नुभयो, ‘महिलातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलरक्षकलाई एक एक हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र पुरस्कार दिइने व्यवस्था छ ।’
सो प्रतियोगितामा पुरुषतर्फ मनाङ र लमजुङका २४ टोली भाग लिएका छन् ।
उक्त प्रतियोगिताको समापन भोलि कार्तिक ४ गते रामनवमीको दिनमा बिहान पुरुष सेमी फाइनल प्रतियोगिता हुनुका साथै दिउँसो महिला र पुरुष दुवै तर्फको फाइनल खेल हुने कार्यक्रम छ ।
उक्त फुटबल प्रतियोगिताको उद्घाटन मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक ३, सोमबार १८:०६ गते