
लमजुङ– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आज बडादशैंको महानवमी, नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरी बडादशैँको महानवमी पर्व आज कार्तिक ३ गते मनाइँदैछ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन बिसर्जन गर्ने प्रचलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभर सुख, शान्ति र आरोग्य मिल्ने शास्त्रीय मत छ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आजै दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।
मार्कण्डेय पुराणअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
कतिपय शक्तिपीठहरूमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।
यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
पशुबलि नदिने साकाहारीहरूले आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
तलेजु भवानीको मन्दिर आज खुल्ने ः
यसैबीच, काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदैछ । तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने प्रचलन छ ।
वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ । आज बिहानैदेखि लाम बसेका सबै भक्तजनलाई तलेजु भवानीको दर्शन गर्न दिइन्छ ।
महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।
आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ ।
आजै सवारी साधनहरूलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

प्रकाशित मिति २०८३ कार्तिक ४, मंगलवार ०६:४१ गते