इतिहासमा रुचि राख्ने पर्यटक घुम्न निस्कँदा पुरातात्विक सम्पदा खोज्छन । सम्पदा भनेको समुदायले सृजना गरेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थल हुन् । चित्लाङको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूले पर्यटकलाई तान्दछ । मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा पर्यटकहरूले दृश्यभन्दा गहिरो इतिहास भेटछन । चित्लाङमा पर्यटनका लागि प्राकृतिक सौन्दर्य मात्र नभएर पदयात्रा समेत रमाउन सक्दछन । चित्लाङ तीनतिर चुरे र महाभारत पहाडले घेरेको उपत्यकामा पर्दछ । पुरातात्विक सम्पदाले भरिएको चित्लाङ काठमाडौंबाट नजिक, स्वच्छ बातावरण ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउँदाको अनुभव छुट्टै हुन्छ । त्यसैले छोटो विदामा पर्यटकहरू चित्लाङ पुग्ने गर्दछन ।
काठमाडौंबाट चन्द्रागिरिको उकालो काटेर ओरालो झर्नेबित्तिकै चिसो सिरेटो र हरियो फाँटले पर्यटकहरूलाई स्वागत गर्दछ । साँझपख चित्लाङबाट देखिने हिमश्रृखला, बिहानको शीतले भिजेका आलुका बारी, दिनभर घाममा टल्किने नासपातीका बगैंचाले पहिलो पटक चित्लाङ पुग्नेलाई नै मोहनी लगाउँछ । गर्मीमा पनि चित्लाङमा पातलो ज्याकेट चाहिन्छ । चित्लाङको चिसोपनले पर्यटकहरूलाई गर्मीको समयमा छुट्टै आनन्द हुन्छ । चित्लाङमा प्रकृतिले पर्यटकको आँखा तान्छ भने इतिहासले यात्रामा पाइला रोक्छ । चित्लाङ केवल प्राकृतिक सौन्दर्यमा सीमित छैन, नेपालको गौरवशाली इतिहासको साक्षीसमेत हो । चित्लाङको ऐतिहासिक र पुरातात्विक महत्व अपूर्व छ । पर्यटनको लागि चित्लाङ उपत्यका समयको दस्तावेजको रुपमा छ । जहाँ नेपाली इतिहास, संस्कृति र कला समेटिएका छन । पुराना मन्दिर, पाटी–पौवा, पदमार्ग, दरबार र स्मारकहरूले नेपालका राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिएको छ । चित्लाङको बाटो, पाटी, मन्दिर र पुरातात्विक सम्पदाले पर्यटकलाइै लोभ्याउछ ।

पहिले चित्लाङको नाम चित्रापुर थियो भन्ने लोककथा छ । अर्को मान्यताअनुसार चैत्य जाने बाटो भएकाले चैतलोङ भनियो । चैत्य अर्थात स्तूप र ल नेवारी भाषामा बाटो अर्थात चैत्य भएको बाटो चैतलोङ हुँदै बोल्ने क्रममा अपभ्रंश भएर चित्लाङ रहन गएको इतिहास भेटिन्छ । चित्लाङ पुगेपछि इतिहासमा रुचि राख्ने पर्यटकहरूले इतिहासको खोज गर्दछन । लिच्छविकालदेखि नै काठमाडौंबाट दक्षिण जाने यात्रीहरू चन्द्रागिरि भएर चित्लाङ हुँदै यात्रा गर्थे । राजा अंशुवर्माले चित्लाङ गाउँ गोठालाहरूलाई उपहार दिएको लोककथा अझै सुनिन्छ । यहाँ राजा उदयदेवको संवत ४५ को शीलालेख भेटिन्छ । किराँतकालीन तीन गजुरे शिवालय छ, जुन पूर्ण रुपमा ढुंगाबाट बनेको छ र शिल्पकलाको अनुपम नमुना हो । अहिले गजुरहरू धातुका राखिए पनि मन्दिरको मौलिकता उस्तै छ । शिवरात्रि र बाला चतुर्दशीमा यहाँ मेला लाग्छ । वि.सं.३१६ मा सम्राट अशोकले बनाउन लगाएको भनिने अशोक चैत्य, द्वापरयुगमा सप्तऋषिले नुहाएको भनिने सप्तधारा, भालेबास डाँडोलाई शिव मानेर गरिने पूजा यी सबैले चित्लाङलाई खुला संग्रहालय बनाएको छ । १७औं र १८औं शताब्दीका पाटी पौवा, काठका कलात्मक झ्याल ढोका र विश्रामस्थलहरू अझै पनि यात्रुलाई शीतल दिन्छन । तीमध्ये केही पाटीमा अहिले प्रहरी चौकी र सामुदायिक पुस्तकालय चलेका छन । कुन्छाल फेदीको बज्रबाराही मन्दिरमा वन, माटो र उपजकी प्रतीक देवीको पूजा हुन्छ । हरेक ३ वर्षमा रथयात्रा र १२ वर्षमा बध पूजा गर्ने परम्परा छ ।
चित्लाङको इतिहास किताबमा मात्र होइन, ढुंगामा पनि कुँदिएको छ । वि.सं.१९९८ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा चन्द्रागिरिबाट मकवानपुर झर्दै गर्दा गुर्जुधारामा पानी पिउन अडिएका थिए । त्यही बेला काँधमा बिरामी श्रीमती बोकेर पशुपतिनाथ दर्शन गर्न हिँडेका एक भारतीय तीर्थयात्रीलाई देखेर उनले कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता लेखेका थिए । देवकोटा बसेको त्यो ढुंगा आज पनि गुर्जुधारामा सुरक्षित छ । पर्यटकहरूले त्यो ढुंगा छोएर कविताको भावना महसुस गर्छन । पर्यटकहरू चित्लाङमा नयाँ पौवाको ढुंगे साँघु देख्दा आश्चर्य मान्दछन । वि.सं. १९५० तिर चन्द्रागिरि पाखाको एउटै विशाल ढुंगालाई महिनौँ लगाएर कुँदेर करिब दश मिटर लामो, डेढ मिटर चौडा साँघु बनाई पौवा खोलामाथि राखिएको थियो । १३३ वर्ष बितिसक्दा पनि त्यो ढुंगे साँघुले न मर्मत मागेको छ, न हल्लिएको छ । समयलाई जितेको त्यो ढुंगा हेर्न चित्लाङमा भिड मात्र नभएर कोहि फोटो खिच्ने, भिडिओ बनाउने धेरै हुन्छन । वि.सं १९६० तिर बनेका दुईवटा दरबार श्री ३ चन्द्र शमशेरकालीन दरबार र श्री ५ का विश्रामस्थलले दुई ठूला भूकम्प वि.सं.१९९० र २०७२ लाई समेत प्रतिरोध गरे । यी दरबारले तत्कालीन निर्माण कलाको मजबुतीको प्रमाणले पर्यटकहरू इतिहासमा निर्माण कलाको सस्मरण गर्दछन ।

चित्लाङको बाटोले नेपालको इतिहास बोकेको छ । त्रिभुवन राजपथ वि.सं.२०१३ मा खुल्नुअघि भीमफेदी–चित्लाङ–चन्द्रागिरि–थानकोट नै काठमाडौं–तराई जोडने मुख्य पदमार्ग थियो । भारतीय तीर्थयात्री पशुपतिनाथ आउने चित्लाङकै बाटो प्रयोग गर्थे । भारतबाट अमलेखगञ्ज भन्सार हुँदै आएका मोटरगाडीलाई भीमफेदीमा झारेर भरियाहरूले काँधमा बोकेर चित्लाङ हुँदै चन्द्रागिरि कटाएर काठमाडौं पुर्याउँथे । राणाका भारी बोक्ने धनबहादुर गोले, मार्खुका जयबहादुर घिसिङ, सबाङका कान्छा वाइबा जस्ता नामहरू यही बाटोमा जन्मिएका हुन । राजमार्ग खुलेपछि चहलपहल घटयो । २०३४ मा कुलेखानी–कुल्छाङ सडक खुलेपछि फेरि अनुहार फेरिन थाल्यो । अहिले चन्द्रागिरिमा केबलकार र टौखेल–थानकोट मोटरमार्गले चित्लाङलाई फेरि नजिक बनाएको छ । अहिले यही ऐतिहासिक मार्गलाई लालीगुराँस पदमार्गको रुपमा पुनर्जीवित गरिएको छ । पर्यटनको क्षेत्रमा चित्लाङलाई अर्गानिक भिलेज पनि भनिन्छ । यहाँ मौसमी तथा बेमौसमी तरकारी, आलु, काउली र सबैभन्दा गुलियो भनिने मूला प्रशस्त उत्पादन हुन्छ । पछिल्लो समय जैतुन खेती सुरु भएको छ । जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्वप्रसिद्ध छ र सबैभन्दा धेरै अक्सिजन दिने वनस्पतिमध्ये एक मानिन्छ । पशुपालनमा बाख्राको दूधबाट बन्ने चिज र चिसो पानीमा हुर्कने ट्राउट माछा चित्लाङको पहिचान हो । थाहा १० र इन्द्रसरोवर १ मा फैलिएको ३०५ रोपनीको सरकारी बाख्रा फार्म, पहिलेको भेडा फार्ममा अहिले उन्नत नश्लका बाख्रा पालिन्छन । हरिया पाखामा चरिरहेका भेडाबाख्राले दृश्यले पर्यटकहरू रमाउने गर्दछन ।

चित्लाङमा पर्यटकहरूले जैविक विविधता रमाउन खोज्दछन । वरपर डाडामा देखिने सुनाखरी, लालीगुराँस, चिराइतो, पाँचऔंले, जटामसी, पाखनबेद, मालगिरी जस्ता जडीबुटी चित्लाङमा पाइन्छ । अर्कोतर्फ नासपाती, भुइँस्याउ, आरुबखडाबाट वाइन बनाएर बिक्री समेत गरिन्छ । जंगलमा मृग, बँदेल, चितुवा, काठे भालु, दुम्सी भेटिन्छन । संसारकै दुर्लभ चरा मानिने काँडे भ्याकुरको बासस्थान पनि चित्लाङको जगंलमा रहेको छ । चित्लाङमा जादा पर्यटकले एसियामै दुर्लभ ‘अल्पाका’ देख्न सक्दछन । अल्पाका पेरु, बोलिभिया, इक्वेडरतिरको घरपालुवा जनावर हो । यो जनावर भेडा जस्तो जिउ, लामो घाँटी भएको, एसियामै दुर्लभ मानिन्छ । उँट परिवारको यो शान्त जनावर चिसो हावापानीमा रमाउँछ, कम घाँसपातमै हुर्कन्छ, रोग कम लाग्छ र १५– २० वर्षसम्म बाँच्दछ । रिस उठे थुक्ने बानीले चिनिने अल्पाकाको ऊन संसारकै महँगो ऊनमध्ये पर्दछ । पश्मिना जस्तै नरम, हलुका र न्यानो ऊनबाट स्वेटर, स्कार्फ, टोपी बन्छ । चित्लाङको अल्पाका फार्म नेपालकै पहिलो मानिन्छ र हेर्नकै लागि पनि पर्यटक पुग्दछन । अर्कोतर्फ साहसिक मन भएकाका पर्यटकका लागि विदेशको मरुभूमिमा मात्र देखिने क्वाड बाइक, अर्थात एटीभी अल टेरेन भेहिकलको मज्जा पनि चित्लाङमै लिन सकिन्छ । चार पाङ्ग्रे भएकाले लडने सम्भावना कम हुने र खाल्डाखुल्डी बाटोमा झनै मज्जा दिने भएकाले युवाहरूको रोजाइ क्वाड बाइक बनेको छ ।

संस्कृतिमा रुचि राख्ने पर्यटकहरूले चित्लाङमा जादा विशेष गरी बलामी समुदाय, नेवार, बाहुन, क्षेत्री र तामाङ समुदायको पनि संस्कृति बारे अध्ययन गर्न सक्दछन । बैशाख पञ्चमीमा कुलदेवता पूजा, १२ वर्षे भैरवनाथ जात्रा, करिब पाँच सय वर्ष पुरानो कार्तिक नाच, खडग जात्रा र गोदावरी मेला चित्लाङको मुख्य पर्व हुन । चित्लाङदेखि तीन घण्टा उकालो पदयात्रामा पुगिने बलेश्वर महादेवको परिशरबाट काठमाडौं उपत्यको मनोमोहम दृष्य हेर्न पाउदा पर्यटकहरूले रोमाञ्च अनुभूति गर्दछन । हाइकिङ रुचाउने पर्यटकलाई चित्लाङमा विकल्प धेरै छन । सबैभन्दा लोकप्रिय रुट चित्लाङ–इन्द्रसरोवर हो । करिब आठ किलोमिटर पैदल हिँडेपछि नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय कुलेखानी, अर्थात इन्द्रसरोवर पुगिन्छ । इन्द्रसरोवर आन्तरिक मात्र होइन, बाह्य पर्यटकको पनि रोजाइ बन्न थालेको छ । नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो इन्द्रसरोवर । प्रकृतिले बनाएका ताल बाहेक मानिसले बनाएको यति ठूलो ताल नेपालमा अर्को छैन । वि.सं.२०३४ सालमा विद्युत उत्पादनका लागि पानी जम्मा गर्ने उद्देश्यले यो जलाशय बनाइएको हो । यो कुनै ठूलो नदी थुनेर बनेको होइन । दामनबाट बग्ने पालुङ खोला, पाखेलको महालक्ष्मी खोला, टिस्टुङको तसर खोला र वरपरका स साना खोल्सा खोल्सीको पानी थुनेर बनेको हो । आकाशे पानी जम्मा हुने भएकाले यसको नाम इन्द्रसरोवर रहन गएको हो । ११४ मिटर अग्लो र १० मिटर चौडा रकफिल बाँधले बनेको यो जलाशय करिब ७ किलोमिटर लामो र औसत २ किलोमिटर चौडा छ । यहाँ ८ करोड ५३ लाख घनमिटर पानी अटाउँछ । यही पानीलाई सुरुङबाट भीमफेदीको ढोडसिङमा लगेर कुलेखानी पहिलो ६० दोस्रो ३२ र तेस्रो १४ समेत कुल १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

पहिलो पटक इन्द्रसरोवर पुग्ने पर्यटकहरु ताल देखेरै दंग पर्दछन । पूर्वतिर विशाल बाँध, पश्चिमतिर नीलो आकाशको छायाँ पर्दा नीलै देखिने फैलिएको पानी । किनारमा रिसोर्ट, होटल, रेस्टुरेन्ट र माछाका परिकारले पर्यटकलाई पर्खिरहेजस्तो लाग्छ । इन्द्रसरोवरमा फेवातालमा जस्तै डुंगा सयर गर्न पाइन्छ । लाइफ ज्याकेटसहित सुरक्षित डुंगा सयर, चाहनेले पौडी खेल्ने सुविधा पनि छ । मार्खु बजारबाट गाउँ जोडने झोलुंगे पुल, तालको बीचमा माछा हेर्ने कर्मचारी बस्ने काठेघर र मार्खुको ४० मिटर लामो सदाबहार झरना पर्यटकलाई अर्को आकर्षण हुन्छ । विद्यालय, क्याम्पस, आमा समूहका लागि बोरोपिट सामुदायिक वनको पिकनिक स्पट निकै लोकप्रिय छ । ताल किनारका होटलमा ताजा माछाको फ्राई र ग्रेभी, लोकल कुखुरा र ढिँडो पाइन्छ । खान बस्नको समस्या छैन । डी लेक साइड सिमलाङ जस्ता सुविधासम्पन्न होटलमा स्विमिङ पुल र सभाहल समेत छ । त्यहाँ सिस्नुको सुप, फापर र कोदोको रोटी जस्ता स्थानीय परिकार पनि पाइन्छ । मार्खुमै इन्द्रसरोवर, परेली होटल र साना लजहरू पनि छन । इन्द्रसरोवर मत्स्य व्यवसायी संघले सरकारसँग मिलेर माछापालन पनि गर्दै आएको छ, त्यसैले यो माछाका लागि पनि प्रसिद्ध छ ।

चित्लाङमा पर्यटकहरूलाई अर्थात पाहुनालाई गरिने सत्कार मौलिक छ । गाउँ पुग्ने पाहुनालाई नाङलोमा सगुन, स्थानीय नासपातीको रक्सी र जंगली फूलको मालाले स्वागत गरिन्छ । होमस्टेमा आफ्नै बारीको साग, आफ्नै जाँतोको पिठो, माटोको चुल्होको स्वाद पाइन्छ । सहरिया आयातित खानालाई चित्लाङमा प्राथमिकता दिइँदैन । होमस्टेमा बढीमा चार पाँच जना अटने घरहरू छन । अहिले चित्लाङमा २० भन्दा बढी होमस्टे र चारवटा रिसोर्ट सञ्चालनमा छन । शुक्रबार र शनिबार अग्रिम बुकिङ नगरी ठाउँ पाउनै मुस्किल हुन्छ । कहिलेकाहीँ त पाहुना टेन्टमै बस्नुपर्छ । घरका छानामा पनि इतिहास टल्किन्छ । धेरै घरमा बेलायती महारानी एलिजाबेथको चित्र अंकित टिनका पाता छन । नेपाल भ्रमणमा आएका बेलायती टोलीले खाना र बन्दोबस्तीका बाकस छाडेर जाँदा स्थानीयले ती पाता छानोमा लगाएका थिए । पर्यटनका लागि चित्लाङ केवल घुम्ने ठाउँ होइन, पढने गाउँ हो । यहाँको माटोमा लिच्छविको पाइला छ, किराँतको गजुर छ, मल्लको कला छ, राणाको बाटो छ, देवकोटाको कविता छ । प्रकृतिले आँखा तान्छ, इतिहासले मन अड्याउँछ, संस्कृतिले यात्रालाई सम्झना बनाउँछ । चित्लाङले पर्यटकलाई मोहनी लगाउँछ । किनकि चित्लाङमा दृश्य मात्र होइन, अर्थ भेटिन्छ । बसाइ छोटो भए पनि अनुभव गहिरो हुन्छ । घाँसे चौर र नासपाती बगैंचाबीच बनेका काठ ढुंगा र माटोका कटेज, निःशुल्क वाइफाइ, साँझको क्याम्प फायर, दुई रात बसे लन्च फ्री जस्ता सुविधाले सहरी युवालाई तान्छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट करिब १९ किलोमिटर दक्षिण पश्चिममा पर्ने चित्लाङ पुग्न सबैभन्दा सजिलो थानकोटबाट चन्द्रागिरि केबलकार चढने र डाँडाबाट पैदल ३०–४० मिनेटमै चित्लाङ पुगिन्छ । अर्कोतर्फ थानकोट, गोदाम, चन्द्रागिरि, टौखेल हुँदै जाने मोटरमार्ग छ । मकवानपुरको पालुङ र कुलेखानी हुँदै पनि चित्लाङ पुग्न सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलो रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ कार्तिक ४, मंगलवार ०८:२२ गते