
उदीपुर(लमजुङ)– विद्यार्थीलाई प्रयाेगात्मक अभ्यास सिकाउँदै संस्कृति संरक्षण गर्न यहाँ स्थित जनकल्याण माविले रोपाई उत्सव गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमालको प्रमुख आतिथ्यतामा उदीपुरमा उत्सवको आयोजना असार १५ गते गरेको हो ।
खेत रोप्दै दही च्यूँरा खाने संस्कार, संस्कृतिलाई साहित्यको समेत समिश्रणका साथ फरक तौरतारिकाबाट यो वर्षको असार १५ मनाइयो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि रिमालले जनकल्याण माविले सिर्जनात्मक, कलात्मक एवम् प्रयोगात्मक शिक्षण पद्दति अपनाएकोमा यसको सिको अन्य विद्यालयले पनि गर्नु पर्ने बताउनु भयो । उहाँले रैथाने बालीको समेत संरक्षण गर्दै उत्पादकत्व बढाउनु पर्नेमा जोड दिनुभयो । कृषि प्रधान देश नेपालमा धान खेती महत्वपूर्ण खाद्य वाली भएको हुँदा आत्मनिर्भर हुनेतर्फ सबैको प्रयास हुनुपर्छ, त्यसैगरी दिवस दिवसमा मात्र सीमित नहोस् भन्ने किसानहरूलाई उचित तालिमको प्रवन्ध होस् । खेतबारीहरू बाँझो नहोउन् भन्नेतर्फ पनि सबैको ध्यान जान आवश्यक छ उहाँले जोड दिनुभयो ।
सोही माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा यहाँ सो कार्यक्रममा उहाँले विद्यार्थीलाई हामीले धेरै प्रकारका प्रयोगात्मक शिक्षा सिकाउने गरेको तर प्रचारमा नभएको बताउँदै अब छिट्टै भाडामा जग्गा लिएर विद्यार्थीलाई तरकारी खेती गर्न सिकाउनेतर्फ विद्यालयको योजना रहेको सुनाउँदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले सान्दर्भिक मुक्तक, कविताका साथै भोटेओडार क्षेत्रका अन्य स्थापित कविहरूले आफ्ना कविता, असारे भाका तीर्थराज अधिकारी, होतराज ढकाल, नारायणप्रसाद ढकाल, पूर्णकान्त सापकोटा, लवराज ढकाल आदि फरक प्रस्तुति रह्यो । यसैगरी, सोही विद्यालयका छात्राद्वय करुणा अधिकारी र अंशु विष्टले कविता वाचन गरेका थिए ।
साथमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको गायकी टिम बुद्धिमाया गुरुङ, मीना गुरुङ, देउकुमारी गुरुङ, अमरध्वज गुरुङ, सीता गुरुङ, जालुमाया गुरुङ, पानमाया गुरुङ, आशकुमारी गुरुङ लगायतले असारे भाका र ठाडोभाकाको गायनका साथमा नाच समेत प्रस्तुत गरी कार्यक्रममा रोचनकता थप्ने काम गर्नु भएको थियो । ठाडोभाकाका कलाकारद्वय मीना गुरुङ र पानमाया गुरुङको असार भाकाको गीत लोपोन्मुख मौलिक एवम् परम्परागत शैलीको रहेको थियो ।
सो अवसरमा कलाकार विष्णुभक्त अधिकारी, राष्ट्रिय गायिका कृष्ण वस्ती समेतको प्रस्तुति रहेको सो अवसरमा सहभागीहरूले फरक स्वाद दिलाउनु भएको थियो । कार्यक्रममा सहभागीहरूले आपसमा हिलो खेल्ने, बाउसे गर्ने, धानको विउ काड्नेदेखि रोप्ने समेत गरेको थिए । कार्यक्रममा ट्याक्टरले रोप्नका लागि हिल्याउने गरिएता पनि एक हल गोरुबाट समेत दादेबाट साउनी काम गरिएको थियो ।
कार्यक्रमको समापनका अवसरमा कला, गला एवम् प्रतीभा प्रस्तुत गर्नेहरू प्रशंसा पत्र कार्यक्रमका प्रमुख अतिथि रिमाल र अध्यक्ष अधिकारीबाट वितरण गरिएको थियो ।
यस्तो कार्यक्रम विद्यालयले पहिलो पटक आयोजना गरेको सोही माविका शिक्षक गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसैगरी, कार्यक्रममा ठाडोभाकाको टिमको नेतृत्व गरी जानु भएका ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले यस कार्यक्रमले असारे भाकाको संरक्षण गर्नु पर्ने सन्देश दिएको बताउनु भयो ।
‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो, लगाई पानी आएर गोडौंला’ भन्ने विद्यालयको नाराका साथ आयोजित कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले स्वागत सहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको भने सहायक प्रधानाध्यापक बद्री खनालले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रम सुरु हुनु अघि पञ्चैबाजाका साथमा विद्यालय हातादेखि कार्यक्रम स्थलसम्म शिक्षक, विद्यार्थी तथा अन्य सहभागीहरू र्यालीमा समेत सहभागी भएका थिए ।
प्रकाशित मिति २०८० असार १७, आईतवार ०७:४४ गते