वडाको सहयोग पाएपछि राधाकृष्ण आमा समूहका आमाहरूले सामूहिक आलु खेतीमा

वडाको सहयोग पाएपछि राधाकृष्ण आमा समूहका आमाहरूले सामूहिक आलु खेतीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ४ गते बिहिबार ०६:५६

बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरूले सामूहिक आलु खेती गरेको सो आमा समूहकी अध्यक्ष लक्ष्मी घर्तीले बताउनु भयो ।

वडा कार्यालयले सहयोग गरेको रकमबाहेक आमा समूहले थप ३० प्रतिशत समूहकोतर्फबाट लगानी गरिएको छ ।

चिति(लमजुङ)– लमजुङ एक वडा कार्यालयको सहयोग पाएपछि स्थानीय राधाकृष्ण आमा समूहका सदस्यहरू सामूहिक आलु खेतीमा जुटेका छन् । लमजुङको बेसीशहर नगरपालिका– ११ को उहाँ स्थित चाफाबोट, बजरखुट्टाका आमाहरूले आलुको सामूहिक खेती गरेका हुन् ।
सो गाउँमा रहेको राधाकृष्ण आमा समूह मार्फत वडा कार्यालयले आलुखेती कार्यक्रम ल्याएर सहयोग गरेपछि त्यहाँँका १६ जना महिलाहरू सामूहिक आलु खेतीमा लागेका हुन् । गाउँमा बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरूले सामूहिक आलु खेती गरेको सो आमा समूहकी अध्यक्ष लक्ष्मी घर्तीले बताउनु भयो । उहाँका अनुसार वडा कार्यालयले सहयोग गरेको रकमबाहेक आमा समूहले थप ३० प्रतिशत लगानी समूहकोतर्फबाट गरेका छौं ।
गाउँघरमा खेतबारी बाँझै त्यसैले यस्तो कार्यक्रम ल्याएको वडा नंं ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले बताउनु भयो । उहाँका अनुसार जग्गा बाँझो राखेर बेसाएर खानेहरू बढिरहेका बेला बाँझो जग्गाको सदुपयोग गर्न यस्तो कार्यक्रम ल्याएको हो । उहाँले भन्नुभयो, ‘स्थानीयको आय आर्जनमा टेवा पु¥याउन वडाले आफ्नो क्षेत्रमा सामूहिक आलुखेतीको कार्यक्रम सञ्चालन गरेको हो ।’
वडा कार्यालयले उक्त कार्यक्रमका लागि डेढलाख रुपैयाँ अनुदान दिएको सो आमा समूहकी अध्यक्ष लक्ष्मी घर्तीले बताउनु भयो । उहाँका अनुसार दिदीबहिनीहरू दिनभर गफ गरेर बस्न भन्दा केही गरौं भनेर यो काममा लागेका हौं । उहाँले भन्नुभयो, ‘आफ्ना लागि चाहिने आलु लगाएर खान थालेको त १८– २० वर्ष भयो, ऐले बिक्रीका लागि पनि गरौं २, ४ पैसा आयो भने आमा समूहको कोषमा राखौला भनेर आलु खेती गरेका हौं ।’
हामीले आफूको नौ क्विन्टल बीउ लगाएर हिजोमात्र सकेका हौं राधाकृष्ण आमा समूहकी सचिव निरु खवासले जानकारी दिनु भयो । उहाँका अनुसार सो कार्यका लागि वडाले डेढ लाख रुपैयाँ सहयोग गरेको थियो । उहाँले भन्नुभयो, ‘त्यो रकमले बिउ खरिद र मल खरिद गर्ने काम गरियो, अन्य खर्च हामी आफैले बेहोर गरेका हौं ।’
गाउँमा बाँझो रहेको जग्गाको सदुपयोगसंगै स्थानीयको आय आर्जनमा टेवा पु¥याउन केहीहदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष जोशीले जानकारी दिए । आमाहरूले आलु लगाई रहदा वडाध्यक्ष जोशी आफै पनि आलु खेती गरिएको खेतमा पुगेर खेती गरेको हेरेको बताउनु भयो ।
वडा कार्यालयले आलु खेतीका लागि सहयोग गरेकामा आमा समूहमा आवद्ध भएका स्थानीय महिलाहरूले आफूहरू निकै खुशी भएको बताएका छन् । आफूहरूलाई समूहलाई बेसीशहर नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिकहरूले प्राविधिक सेवा उपलब्ध गराएको आमा समूहका अध्यक्ष लक्ष्मी घर्तीले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम सञ्चालन भएपछि आफूहरू निकै उत्साहित भएको र यसबाट समूहका महिलाहरूको आय आर्जनमा टेवा पुग्ने विश्वास गरेका छौं ।
कृषि प्राविधिकहरू खेतबारीमै पुगेर किसानहरूलाई बिउ तथा मलको छनोट गर्न र उन्नत तरिकाले आलु लगाउन सिकाएपछि उत्पादन राम्रो हुनेमा आफूहरू ढुक्क रहेको आमा समूहद्वारा गठित कृषक समूहका अध्यक्ष सीता घर्तीले जानकारी दिनु भयो । उहाँका अनुसार यसरी कृषि प्राविधिक हाम्रो खेतबारीमा आएको पहिलो पटक हो ।
यसबर्ष एउटा समूहलाई सामूहिक आलु खेतीका लागि प्रेरित गरेको वडा कार्यालयले आगामी बर्ष ७ वटासम्म कृषक समूहलाई ब्यवसायीक आलु खेतीका लागि सहयोग गर्ने योजना बनाएको वडा अध्यक्ष जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यस बर्ष एउटा मात्र समूहलाई सहयोग गरियो, अर्को बर्षका लागि थप दुईवटा समूहले आलुखेती गर्ने प्रस्ताव गरिएको छ ।’ यो कार्यक्रम बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुग्ने भएकाले थप कार्यक्रम गर्न आवश्यक ठानिएको जोशी बताउनु हुन्छ ।
‘यहाँ गरे के हुन्न र ? अब नगरे कहिले गर्ने ? किसानहरू खेती गर्न तयार भए हामी लगानी गरिदिन्छौं । काम तपाइँहरूले गर्नुस, सबै मिलेर बाँझो जमिनको उपयोग गरौं, आत्मनिर्भर हुने काम गरौं’ भनेर आमा समूहलाई यो कामका लागि उत्प्रेरित गरेको जोशीले उल्लेख गर्नुभयो ।
स्मरणीय छ, कुनै समय सिंगो चिती क्षेत्र सुन्तला उत्पादनका लागि देशैभर प्रसिद्ध थियो । चितीमा उत्पादन हुने सुन्तला नेपाल बाहेक भारत र बंगलादेशसम्म पुग्ने गरेकोमा यतिबेला भने चितिमा सुन्तला बगैंचा रोगले मासिसकेको छ । केही किसानहरूले नयाँ कलमी विरुवा ल्याएर सुन्तला खेती पुनः शुरु गरे पनि पहिलाको अवस्थामा पुग्न अझै समय लाग्ने देखिन्छ ।
चिती कृषिको उर्वर थलो हो, त्यो रुपमा विकास गर्ने प्रतिबद्धताका साथ नयाँ कार्यक्रमको खोजीमा रहेको र सुन्तला खेतीको विकल्पमा यस्ता खेती गरिने भएको वडाध्यक्ष जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ पुष ४, बिहीबार १८:५६ गते
हजुरको प्रतिक्रिया