लोक सांस्कृतिक एवम् लोक साहित्यिक मितेरी कार्यक्रम अब सार्क राष्ट्रस्तरमा

लोक सांस्कृतिक एवम् लोक साहित्यिक मितेरी कार्यक्रम अब सार्क राष्ट्रस्तरमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ११ गते बुधबार ०८:३९

बंगलादेशका मनोजबहादुर गोरखाले आफूहरूको छ पुस्ताले बर्मामा विताएको जानकारी दिनु हुँदै के कसरी बर्माको बासिन्दा हुन पुगेको हो भन्ने जानकारी दिनु भएको छ । उहाँले आफूले एक गीति पाठशाला समेत सञ्चालन गरेको जानकारी दिदै त्यसको माध्यमले पनि नेपाली भाषा, साहित्य, संस्कृतिको प्रवर्द्धनमा विशेष सहयोग पुगेको बताउनुभयो ।

साहित्य मन संस्था थाइल्याण्डका महासचिव दीपा रानाले कार्यक्रमको समिक्षात्मक टिप्पणी गर्नु हुँदै नेपाल कहाँ छ ? देखेको छैन तर पनि नेपाली भाषा, साहित्यको खोज, संरक्षण र प्रवर्द्धनका लागि सक्दो प्रयास गरिरहेका छौं भन्नुभयो । उहाँले अब यो कार्यक्रमले संस्कृति पनि सिक्ने अवसर पाइने भएको हुँदा खुशी लागेको छ, हामी सिक्दैछौं, सिक्ने छौं भन्नुभयो । उहाँको कलम कविता, निवन्ध, कथाका साथै नियात्रामा समेत चल्ने गरेको छ ।

लमजुङ(नेपाल)– नेपाल– असम(भारत) लोक सांस्कृतिक एवम् लोक साहित्यिक मितेरी पदयात्रा कार्यक्रम अब सार्क राष्ट्रस्तरमा हुने भएको छ । नेपाल सहितका पाँच सार्क राष्ट्रका लोक सांस्कृतिक एवम् लोक साहित्यकर्मी प्रतिनिधिहरूको सहभागितामा कार्तिक १० गते साँझ सम्पन्न जुम बैठकमार्फत भएको परिचयात्मक कार्यक्रममा त्यस्तो निर्णय गरिएको हो ।
अबको कार्यक्रम आउँदो डिसेम्बर १७ र १८ तारिख तदनुसार पुसको २ र ३ गते दुई दिवसीय रुपमा असममा हुने प्रस्ताव गरिएको छ । यो बीचमा मितेरी कार्यक्रम असममा दुई वटा र नेपाल(लमजुङ)मा दुईवटा सम्पन्न भइसकेका छन् । विसं. २०८१ सालको फागुनमा असमको टोली लमजुङ आउदा विदाई कार्यक्रमका अवसरमा जारी घोषणापत्रमा ‘…. मितेरी पदयात्रा कार्यक्रम उपलब्धिमूलक देखिएको हुँदा यो कार्यक्रमलाई अब सार्क राष्ट्रस्तरमा विकसित गर्ने’ उल्लेख भएको थियो । सोही अनुसार यो कार्यक्रम हुने भएको हो ।
अनौपचारिक रुपमा गरिएको सो परिचयात्मक कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै आफूहरूले आफ्नो क्षेत्र(देश)मा गरिरहेका कार्य तथा प्रयासका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको समापन गर्दै नेपाली संस्कृति सुरक्षा परिषद असमका अध्यक्ष एल.वि. प्रधानले कार्यक्रम उपलब्धिमूलक रह्यो । सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दछु भन्नुभयो । उहाँले हाम्रो निरन्तर भेट र सहयोगबाट कार्यक्रमलाई सफल बनाउन मद्दत पुग्ने विश्वास लिएको छु भन्नुभयो ।
साहित्य मन संस्था थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेले बाबुनानीहरूको सहभागितामा पनि साहित्यिक कार्यक्रम गर्ने गरेको, प्रायः जुमबाट कार्यक्रम हुने गरेको, सन् २०१८ देखि भानु जयन्ती बर्षेनी मनाउँदै आएको जानकारी दिनु भयो । उहाँले यो भेटघाट र तय भएको कार्यक्रमले आफ्नो भाषा, साहित्यको उत्थान एवम् संस्कृतिको प्रवर्द्धनमा थप सहयोग मिल्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही संस्थाका उपाध्यक्ष राज पौडेलले साहित्य के हो ? भाषा के हो ? यसको मानव जीवनमा के महत्व छ ? भन्ने सिक्दैछौं भन्नुभयो । उहाँले आफूहरू बीचमा एकले सिकेको कुरा आपसमा सेयर गर्ने गरेको जानकारी दिनुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले भरखर विदाई भएको बडादशैंका साथै आउँदै गरेको शुभ दिपावलीको शुभकामना व्यक्त गर्नु भयो । यति राम्रो कार्यक्रममा सहभागी हुने मौका पाएकोमा असाध्यै खुशी लागेको छ, सबै मिलेर अघि बढौं अवश्य पनि राम्रो हुन्छ उहाँले भन्नुभयो । उहाँले ठाडोभाका गीतमार्फत सबैमा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बंगलादेशका मनोजबहादुर गोरखाले आफूहरूको छ पुस्ताले बंगलादेशमा विताएको जानकारी दिनु हुँदै के कसरी बंगलादेशको बासिन्दा हुन पुगेको हो भन्ने जानकारी दिनु भएको छ । उहाँले आफूले एक गीति पाठशाला समेत सञ्चालन गरेको जानकारी दिदै त्यसको माध्यमले पनि नेपाली भाषा, साहित्य, संस्कृतिको प्रवर्द्धनमा विशेष सहयोग पुगेको बताउनुभयो । बंगलादेशमा नेपालीहरूको संख्या कम छ तर पनि भानु जयन्ती लगायतका कार्यक्रम आफूहरूले गरेर भाषा, साहित्य संस्कृति बचाउन प्रयास गरिआएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाली संस्कृति सुरक्षा परिषद असमको भगिनी संस्था आमा मञ्चका अध्यक्ष डा. दैवकीदेवी तिम्सिनाले यसरी विभिन्न देशमा रहेर पनि नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा काम गर्नेहरूसँग जोडिन पाउँदा अतिनै खुशी लागेको छ भन्नुभयो । उहाँले अब हामी एकै परिवार भएका छौं, सबैले मिलेर आफ्नो भाषा, साहित्य, संस्कृतिलाई बचाउने र विश्वभर फैलाउने काम गरौं, गर्न सकौं भन्ने सुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाली संस्कृति सुरक्षा परिषद असमको महासचिव वीरेन्द्र राणाले कार्यक्रमको सञ्चालन गर्दै सहभागीको परिचय गराउनु भएको थियो । उहाँले हामी यो विशाल संस्कृतिका चेलाचेलीहरू यो अभियानमा जोडिन पाएकोमा गर्व गर्दछौं भन्नुभयो । उहाँले आफ्नो संस्थाले असममा गरिआएका कार्यक्रमहरूको फेहरिस्तसमेत प्रस्तुत गर्नु भएको थियो ।
अखिल असम विद्वत परिषदका अध्यक्ष एवम् साहित्यकार डा. सञ्जीव उपाध्यायले जुन प्रकारले जनजागरण अभियान चलेको छ, यसलाई निरन्तरता दिनु पर्छ, भाषा, साहित्य, संस्कृति हाम्रो पहिचान हो, यसलाई बचाउन सकिएन भने हाम्रो पहिचान गुम्छ, पहिचान मेट्ने तिर लाग्नु हुैँदैन भन्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्यका साथ कार्यक्रमको औचित्यमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले प्रकाश पार्नु भएको थियो । उहाँले संस्कृति संरक्षण कार्यका साथै र यसको मौलिकपन जोगाउने चुनौती बढिरहेको छ, त्यसो हुँदा हामीहरूको भूमिका समाजमा झनै बढेको अनुभूति भएको उल्लेख गर्नुभयो ।
नेपाल कहाँ छ ? देखेको छैन तर पनि नेपाली भाषा, साहित्यको खोज, संरक्षण र प्रवर्द्धनका लागि सक्दो प्रयासमा छौं :
उक्त कार्यक्रमको व्यवस्थापनका लागि विशेष योगदान गर्नु भएकी साहित्य मन संस्था थाइल्याण्डका महासचिव दीपा रानाले कार्यक्रमको समिक्षात्मक टिप्पणी गर्नु हुँदै नेपाल कहाँ छ ? देखेको छैन तर पनि नेपाली भाषा, साहित्यको खोज, संरक्षण र प्रवर्द्धनका लागि सक्दो प्रयास गरिरहेका छौं भन्नुभयो । उहाँले अब यो कार्यक्रमले संस्कृति पनि सिक्ने अवसर पाइने भएको हुँदा खुशी लागेको छ, हामी सिक्दैछौं, सिक्ने छौं भन्नुभयो । उहाँको कलम कविता, निवन्ध, कथाका साथै नियात्रामा समेत चल्ने गरेको छ ।
उक्त कार्यक्रममा भुटानबाट नर अधिकारी, अखिल असम विद्वत परिषदका कार्यकारी अध्यक्ष मोतीकुमार नेवार, आमा मञ्चका महासचिव द्वय दीपा कट्टेल, सरस्वती पौडेल सरु, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष एवम् ठाडोभाका महातारा सीतादेवी दुरा, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य एवम् सहकोषाध्यक्ष तैमाया गुरुङ अखिल असम विद्वत परिषदका महासचिव शिव पराजुली,  नेपाली संस्कृति सुरक्षा परिषदका सदस्य नरपति शर्मालगायतको सहभागिता थियो ।
स्मरणीय छ, सन् २०१३ को फेबु्रअरी(विसं. २०६९ को माघ)मा आयोजना भएको पहिलो नेपाल– असम साहित्यिक मितेरी कार्यक्रम असमको विश्वनाथ चाराली, कमलियामा भएको थियो । त्यसकै विकसित स्वरुपका रुपमा यो कार्यक्रमलाई लिइएको छ । त्यो बेलामा साहित्यकार एवम् पत्रकार (ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष) नवराज पहाडीले नेपालतर्फ संयोजन गर्नु भएको थियो भने अमसतर्फ साहित्यकार मदन थापा संयोजक र महासचिव वीरेन्द्र राणा रहेको समितिले तीन दिवसीय कार्यक्रम भव्यरुपमा सञ्चालन भएको थियो । समय क्रममा नवराज पहाडी ठाडोभाका लोककला प्रतिष्ठान नेपालको अध्यक्ष हुनु भएको छ भने वीरेन्द्र राणा नेपाली संस्कृति सुरक्षा परिषद असमको महासचिव । पहाडी र राणाको पहलमा यो कार्यक्रम सार्क राष्ट्रस्तरमा अघि बढी रहेको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १२, बुधबार ०८:३९ गते
हजुरको प्रतिक्रिया