नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणका वकिलहरूको लस्कर देख्दा न्यायाधीशलाई रिस थाम्न हम्मे

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणका वकिलहरूको लस्कर देख्दा न्यायाधीशलाई रिस थाम्न हम्मे

अन्तरङ्ग न्युज

@antaranganews

२०८० जेठ ३१ गते बुधबार ०८:३०

खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, बार अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, हरिहर दाहाल, नरसिंह केसी, महादेव यादव, एकराज पोखरेल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पंकजकुमार कर्णलगायत खाँणको तर्फबाट १० कानुन व्यवसायीले बहस गरेका छन् । ३४ जनाको वकालतनामा परेकोमा अझै २४ जनाको बहस बाँकी नै छ ।

‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगाउन मिल्दैन’

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट १० जना वकिलहरूले जेठ ३० गते दिनभरि बहस गरेका छन् । बहसका क्रममा खाँणका तर्फका वकिलहरूले एउटै कुरा दोहोर्याइरहँदा न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई आफ्नो दिग्दारीपना तथा रिस रोक्नसमेत हम्मे हम्मे गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश न्यौपानेको इजलासमा सो मुद्दाको बहस चलिरहेको छ ।
‘सहअभियुक्तले दिएको बयानका आधारमा बालकृष्णलाई पाँच वटा मुद्दा लगाउन मिल्दैन’ :
खाँणको तर्फबाट सुरुआती बहस अधिवक्ता पंकजनाथ कर्णले करिब दुई घण्टाको बहसमा खाँणलाई पूर्पक्षका लागु थुनामा राख्नुपर्ने कुनै कारण नभएको दावी गर्नु भयो । कर्णले खाँणविरुद्ध कसैको जाहेरी नपरेको, कुनै अभियुक्तले अदालतमा बयान गर्दा खाँणका विरुद्ध बयान नगरेको दाबी गर्दै खाँणलाई साधारण तारेखमा राखी पूर्पक्ष गर्न माग गर्नु भयो ।
अधिवक्ता पंकजकुमार कर्णले बालकृष्ण खाणको बचाउको प्रयत्न गर्दै यससम्बन्धी मुद्दामा जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको दावी गर्नुभयो । उहाँले सहअभियुक्तहरूले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गर्नुभएको थियो ।
दोस्रो पालो वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई न्यायाधीश न्यौपानेले प्रथम बहसकर्तालाई चाहिएको जति समय दिइने तर त्यसपछि भने समयको मूल्याङ्कन गर्दै बहस गर्न भन्नुभयो । केसीले खाँणको राजनीतिक व्यक्तित्व सकाउन नै मिडियादेखि राज्य उनको विरुद्ध लागेको जिकिर लिए ।
‘यो मिल्ने अवस्था छैन । यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर । त्यसमा ठूलो प्रमाण मानेको छ, त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन । सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन ।’ उहाँको दावी थियो ।
उहाँले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन संरक्षण गर्ने व्यक्ति सन्तोष प्रधानलाई किन प्रतिवादी बनाइएन भन्दै प्रश्न समेत उठाउनु भयो ।
केसीले फेरि कसैको जाहेरीमा नाम उल्लेख नभएका खाँणलाई जाहेरवालामध्येका प्रेमराज पन्थीको जाहेरीको पेटबोली (जाहेरीभित्रको विषयवस्तु)मा मात्र उल्लेख गर्दैमा मुद्दा चलाउन नमिल्ने तर्क गर्नु भयो । केसीले सोधपुछ भएका गृहका कर्मचारीले पूर्वाग्राह राखेर उनीविरुद्धको बयान दिएको दाबी थियो । तर त्यसबाहेक कागज गरेका ७५ व्यक्तिले भने कहीँ कतै खाँणको नाम उल्लेख नगरेको केसीले तर्क गर्नुभयो ।
न्यायाधीश न्यौपानेले आफूलाई मिसिलमा भएका प्रत्येक नाम कण्ठ भइसकेको इजलासमा बताउँँदै भन्नुभयो, ‘मैले मेरो ३० वर्षको करियरमा यति पटक, यति ठूलो मिसिल पढेकै थिइनँ होला ।’
बसहमा झण्डै एक घण्टा खर्चिनु भएका केसीले खाँणलाई पूर्पक्षका लागि साधारण तारेखमा राख्न माग गरे ।
अधिवक्ता मणिराज उपाध्यायले दसौँ वकिलका रुपमा बहस गरेपछि न्यायाधीशले भन्नुभयो– ‘अब सकियो होइन ?’ तर, खाँणका वकिलहरूको लामो सूची अझै सकिएको थिएन ।
पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतले न्यायाधीश न्यौपानेलाई भने– ‘अझै सकिएको छैन श्रीमान् ! हामी पालो कुरेर बसेका छौँ ।’
त्यसपछि न्यायाधीश न्यौपाने भन्नुभयो– ‘तपाईँहरूको समय सकियो अब । म तपाईँहरूलाई समय दिन्न भोलि । सबै कुरा आइसक्यो । अब बाँकी प्रतिवादीका तर्फबाट बहस हुन्न ।’
फेरि खातीले भन्नुुभयो– ‘हामी पाँचजना पालो कुरेर बसेका छौँ श्रीमान । टिफिन अगाडिको समय दिनुपर्छ ।’
न्यौपानेले भने– ‘तपाईँहरूसँग अदालत निरीह भयो । लौ, १२ बजेसम्म सक्नुस् । कुरो दोहोर्याउन पाउनुहुन्न नि !’
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बालकृष्ण खाणका विरुद्ध राज्य नै लागेको जिकिर दावी गर्नु भएको थियो ।
खाँणका तर्फबाट हरिहर दाहाल, नरसिंह केसी, महादेव यादव, एकराज पोखरेल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, पंकज कर्णलगायतले बहस पैरवी गर्नु भएको थियो ।
खाँणको तर्फबाट १० कानुन व्यवसायीले बहस गरेका छन् । ३४ जनाको वकालतनामा परेकोमा अझै २४ जनाको बहस बाँकी नै छ । तर न्यायाधीशले खाँणका कानुन व्यवसायीलाई बुधबार २ बजेसम्म आफ्नो बहस सकाउन आदेश दिनु भएको छ ।
न्यायाधीशले बहसको सुरु दिनमै अभियुक्तहरूको तर्फबाट बहस सकाउने मिति हिजो ३० गतेका लागि तोक्नु भएको थियो । तर, आज पनि बहस सकिने निश्चित छैन ।
गत २१ गतेदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट गत २३ गतेसम्म बहस भएको थियो । २४ गतेदेखि सुरु भए अभियुक्तहरूको बहसमा अझै पाँच अभियुक्तको बहस बाँकी नै छ ।
अभियुक्तहरूको बहस सकिएसँगै सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि इजलासबाट थुनछेक आदेश हुनेछ ।

प्रकाशित मिति २०८० जेष्ठ ३१, बुधबार ०८:३० गते
हजुरको प्रतिक्रिया