बेसीशहर– लमजुङमा खसी चोरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका एक व्यक्तिलाई फेरि पनि खसी चोरेकै अभियोगमा प्रहरीले असोज ३ गते पक्राउ गरेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– ६ बस्ने सिरोमणी भट्टराईको खोरबाट दुईवटा बोका सो दिन राती चोरी भएको सूचना ईलाका प्रहरी कार्यालय भोर्लेटारमा प्राप्त भयो । सो सूचनाको आधारमा चोर र बोका खोज्न खटिएको प्रहरी टोलीले उल्लेखित बोका खोजतलास गर्ने क्रममा सोही दिन जिल्ला मध्यनेपाल नगरपालिका– ५ रिङ्नेको जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
बोका फोला परिसकेपछि ती ल्याउने मानिसका बारेमा सोधपुछ तथा खोजतलास गर्दा उनी क्व्होलासोथार गाउँपालिका– ३ घर भएका बर्ष ३४ का काबलु गुरुङ भएको पुष्टि हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार कालुले चोरेका ती बोकाहरू उनले बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लिई जान लागेको भन्ने प्रहरीले सूचना पाई पिछा गरेको थियो । त्यो खबर पाएका कालु पनि बोकाहरू जंगलमा नै छोडी फरार भएका थिए । उहाँले भन्नुभयो, ‘कालुलाई सोही दिन ऐ. वडा नं. ५ पराजुली बेसीबाट पक्राउ गरी जिल्ला सदरमुकाम ल्याइएको हो ।’
कालु गुरुङविरुद्ध सम्मानित लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा पहिलो पटक दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक चपाईले जानकारी दिनु भयो । उहाँका अनुसार निज कालु गुरुङ यसभन्दा अगाडि समेत जिल्ला बेसीशहर नगरपालिका– ९ साम्दी र सोही वडा नं. ७ बाट खसी चोरी गरेको कसुरमा असार २४ गते पक्राउ परेका थिए ।
प्रहरी निरीक्षक चपाईले भन्नुभयो, ‘अनुसन्धान पश्चात सम्मानित लमजुङ जिल्ला अदालतमा मुद्दा बुझाइएको र आदालबाट सो मुद्दामा ५० हजार रुपैयाँ धरौटी तोकिएपछि कालु त्यो रकम धरौटी राखेर तारेखमा रिहा भएका व्यक्ति हुन् ।’
कालु विरुद्धको पहिलो मुद्दा जिल्ला अदालतमा विचाराधिन छ ।
प्रकाशित मिति २०८० आश्विन ६, शनिबार १६:३३ गते