काठमाडौं– ललितपुरको सातदोबाटो स्थित देउराली बहुउदेश्यीय सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान कार्य झण्डै एक महिना लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सकेको छ । सीआईबीले फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मंसिर १० गते बुझाएको हो ।
सीआईबीले सो संस्थामा ६५ करोड ७७ लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने राय सरकारी वकिल कार्यालयलाई दिएको छ । सीआईबीले त्यसका अध्यक्ष ३९ वर्षीय रविन्द्र चौलागाईंलाई गत कार्तिक १६ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । बचतकर्ताले राखेको रकम फिर्ता नदिएको भन्दै सीआईबीमा उजुरी परेपछि उनीहरू पक्राउ परेका थिए ।
ललितपुरको सातदोबाटो र भक्तपुरको सूर्यविनायकमा रहेको देउराली सहकारीमा जम्मा गर्ने बचतकर्ताको रकम हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको सीआईबीका एसएसपी दिनेश आचार्यले बताउनु भयो । उहाँका अनुसार क्रमशः सहकारीका प्रबन्धक दिपक केसी र राजेन्द्र खत्रीलाई समेत पक्राउ गरेको हो, यतिबेला तीनै जना प्रहरी कष्टडीमा छन् । तर सहकारी ठगी प्रकरणमा अध्यक्ष चौलागाईंसहित १५ जनामाथि ठगी मुद्दा चलाउनु पर्ने राय सीआईबीको छ ।
देउराली सहकारीका सञ्चालकविरुद्ध ५५३ उजुरी परेको एसएसपी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सोही उजुरीको आधारमा पक्राउ परेका अध्यक्षसहित आरोपीबाट ६५ करोड ७७ लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको हो ।
उहाँले भन्नुभयो, ‘सहकारीमा जम्मा भएको कुल दुई अर्ब २० करोड ९२ लाख जोखिममा परेको छ ।’ सहकारीमा अर्बौ बचत भएपनि सबैले उजुरी नदिँदा बिगो ६६ करोड मात्रै माग दाबी गरिएको एसएसपी आचार्य बताउनु हुन्छ ।
सो सहकारीको ठगी प्रकरणबारे एक वर्ष अघिदेखि नै बचतकर्ता प्रहरी कार्यालय धाउन थालेका थिए । उनी सहकारीमा जम्मा गरेको बचतकर्ताको रकमले करिब तीन करोड रुपैयाँ पर्ने टोयटाको सेतो ल्याण्डक्रजुर प्राडोमा कालो सिसा लगाएर प्रहरीलाई छक्काउँदै भागिरहेका थिए । तर, त्यसदिन भने सीआईबीको टोलीले लाजिम्पाटबाट वाग्मती प्रदेश सी २३२९ नम्बरको सोही प्राडोसहित पक्राउ गरेको थियो ।
अध्यक्षको चलअचल सम्पत्ति सबै रोक्का गरिएको सीआईबीका एसएसपी आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार काभ्रेको देउराली गाउँपालिका– ६ का स्थायी बासिन्दा उनले करोडौँको उक्त गाडीबाहेक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरेर १०० रोपनीभन्दा बढी जग्गा खरिद गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा प्रहरीले देउराली सहकारीको रकम ठगी गर्न उनले आफ्नै श्रीमतीको नाममा डमी कम्पनी समेत खोलेको खुल्न आएको छ ।
उनले सो सहकारी संस्था आफ्नै गाउँको नामबाट स्थापना गरेका थिए ।
प्रकाशित मिति २०८० मंसिर १३, बुधबार ०८:३० गते