दमकमा अर्को सहकारीका सञ्चालक पनि भागे

दमकमा अर्को सहकारीका सञ्चालक पनि भागे

एजेन्सी

@antaranganews

२०८० मङ्सिर २७ गते बुधबार ०९:१९

बडादशैं पछि सो साकोसको कार्यालय खुलेको छेन, पीडितहरूले प्रहरी कार्यालय वा सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिन सक्ने बताइएको छ ।

झापामा सञ्चालित सहकारीका सञ्चालकहरू भाग्ने क्रमको नवरङ्ग साकोस चौथो हो ।

झापा– सहकारीका नाउँमा ठगी गर्ने अर्को सहकारी पनि फेला परेको छ । यहाँको दमक नगरपालिका– ६ स्थित नवरङ्ग बचत तथा ऋण सहकारी संस्था(साकोस) बचतकर्ताको लाखौं रकम फिर्ता नगरी बन्द भएसँगै त्यस्तो खुलासा भएको हो ।
झापामा सञ्चालित सहकारीका सञ्चालकहरू भाग्ने क्रमको नवरङ्ग साकोस चौथो हो । यसअघि दमक नगरपालिकाबाटै नारायणी, स्वर्गपुरी र गरिबी सहकारी बचतकर्ताको लाखौं रकम हिनामिना गरेर फरार भएका थिए । पालैपालो सहकारी भाग्न थालेपछि दमकस्थित अन्य सहकारीका बचतकर्ताहरू पनि त्रसित बनेका छन् ।
उक्त सहकारी दशैं अघिदेखि नै बन्द भएको बचतकर्ताहरूले बताएका छन् । सहकारी बचतकर्ताको बचत फिर्ता नगरी बिना सूचना बन्द भएको हो ।
बिना सूचना सहकारी नै बन्द भएपछि यतिबेला उक्त सहकारीमा लाखौँ रकम जम्मा गरेका बचतकर्ताहरू बिचल्लीमा परेका छन् । ‘दशैं अघिदेखि नै कार्यालय बन्द थियो । चाडपर्वले गर्दा बन्द भयो होला भन्ने लाग्यो । तर, अहिलेसम्म पनि कार्यालय खुलेको छैन । फोन गर्दा लागे पनि उठ्दैन । न जम्मा गरेको पैसा फिर्ता भयो न सहकारीका मान्छे सम्पर्कमा छन्’ सो सहकारीका बचतकर्ताहरूको गुनासो छ । उक्त सहकारीका अध्यक्ष र सञ्चालक बचतकर्ताको सम्पर्कमा नआएको हप्तौं बितिसकेको छ ।
पटकपटक समन्वय गर्न प्रयास गर्दा पनि सहकारीका सञ्चालकहरू सम्पर्कमा नआएको कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीका रजिष्ट्रार हरिबहादुर खत्रीले बताउनुु भयो । उहाँका अनुसार नवरङ्ग सहकारीका सञ्चालक कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उहाँले भन्नुभयो, ‘संस्थापक सञ्चालकसँग बुझ्दा उक्त सहकारी अरुलाई नै जिम्मा लगाइसकेको बताउँछन् । तर त्यस्तो जनाउने सहकारी दर्ता तथा अन्य कुनै पनि कागजात र तथ्यांक प्राप्त भएको छैन ।’
यद्यपि घरधनी, कर्मचारी र सहकारीका संस्थापक सञ्चालकसँग समन्वय गरेर थप विवरण जुटाउने प्रयास गरिरहेको खत्रीको भनाइ छ ।
खत्रीले भन्नुभयो, ‘लामो समयदेखि सहकारी बन्द रहेको र बचतकर्ताको बचत फिर्ता पनि नगरेकोले पीडितहरूले प्रहरी कार्यालय वा सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिन सक्नुहुन्छ ।’ उहाँका अनुसार त्यसरी प्राप्त पीडितहरूको उजुरीका आधारमा थप प्रक्रिया अघि बढाउन सकिन्छ ।

प्रकाशित मिति २०८० मंसिर २७, बुधबार ०९:१९ गते
हजुरको प्रतिक्रिया