काठमाडौं– नेकपा (एमाले) को संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगबती चौधरी सवार गाडीमा अज्ञात व्यक्तिहरूद्वारा आक्रमण भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियो गाडीमा मंसिर २६ गते राती आक्रमण गरिएको हो ।
सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । नेकपा एमालेको उदयपुर जिल्ला कमिटिले घुर्मीमा आयोजना गरेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् फर्किने क्रममा आक्रमण भएको हो ।
एमाले नेतृ चौधरी चढेको स्करपियोमा आक्रमण हुँदा ड्राइभरको साइटतर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चौधरीलाई गृह जिल्ला पठाएको थियो । चौधरीमाथि कसले किन आक्रमण गर्याे खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान अन्तरगत उदयपुरको घुर्मीको कार्यक्रमसँगै खोटाङ, भोजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मको अभियानमा सहभागी हुन गएकी नेतृ चौधरीलाई सोही दिन उहाँका जेठाजू (मुकेश चौधरी) को ह्दयघातका कारण निधन भएको थियो ।
एमालेको संकल्प यात्रालाई पहिचान पक्षधरहरूले अवरोध गर्न खोजिएका थिए । सो क्रममा सोही दिन गोपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
कोशी प्रदेशमा पहिचान पक्षधरहरूले कोशी प्रदेश नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् ।
प्रकाशित मिति २०८० मंसिर २८, बिहीबार १६:३० गते