अन्ततः ३० लाख धरौटीमा छुट्ने भए काँग्रेस नेता खाँण

अन्ततः ३० लाख धरौटीमा छुट्ने भए काँग्रेस नेता खाँण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २८ गते बिहिबार ०५:५०

उच्च अदालत पाटनले सोही मुद्दामा थुनामा रहेका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्न आदेश दिएको थियो ।

उच्चको आजको राय एवम् आदेशसँगै जिल्ला अदालतको आदेश बदर हुन गएको छ ।

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । नेता खाँणलाई थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न मंसिर २८ गते आदेश गरेको हो ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताउनु भयो । उहाँका अनुसार १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
उच्चको आजको राय एवम् आदेशसँगै जिल्ला अदालतको आदेश बदर हुन गएको छ ।
उच्च अदालत पाटनबाट यसअघि गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो ।
यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरू बीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेबाट खाँणलाई धरौटीमा छाड्नु पर्ने राय र प्रकाश खरेलबाट थुनामा पठाउनुपर्ने राय व्यक्त भएको थियो ।
दुवै न्यायाधीशहरू बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो । उच्च अदालतको यो आदेश विरुद्ध खाँणले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको थियो । पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो ।
खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनले धरौटी बुझाउन नसकेपछि थुनामै छन् ।
उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोप बहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरू धरौटी बुझाएर छुटिसकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर २८, बिहीबार १७:५० गते
हजुरको प्रतिक्रिया