भुम्लीचोक(लमजुङ) । साङ्लोले बाधिएको अवस्थामा एक ३० वर्षका युवकको यहाँ उद्दार गरिएको छ । मानसिक सन्तुलन गुमाएर पाँच वर्षदेखि त्यस्तो अवस्थामा रहेका युवाको यहाँ स्थित मानव सेवा केन्द्रको टोलीले उद्धार गरेको हो ।
मानसिक सन्तुलन गुमाएर उपचार समेत फलदायी नभएपछि विगत ५ वर्षयता टहरामा साङ्लोले बाँधिएर कष्टकर जीवन बिताउँदै आएका रहेछन् । लमजुङको दूधपोखरी गाउँपालिका– २ भुम्लीचोक मावली गाउँबाट ती युवालाई उद्दार गरिएको हो । ३० वर्षीय मेघराज गुरुङलाई मानवसेवा आश्रम लमजुङ नेतृत्वको टोलीले उद्दार गरेको हो । उनको घर गोरखाको अजिरकोट गाउँपालिका– २, केप्रुङ गाउँ हो । तर मेघराज जन्मेपछि उनका बुवा बेपत्ता भएर त्यसपछि आमा विष्णुमाया गुरुङले माइतमा ल्याएर आफूसँगै राख्नु भएको रहेछ ।
मेघराज हुकैदै गएर जवान भएसंगै उनी वैदेशिक रोजगारीमा कतार गएर २ वर्ष कतार बसेर उनी फर्केर त्यसपछि थप कमाइका लागि मलेसिया गएका रहेछन् । दुर्भाग्य ! त्यहाँ गएको एक साता नहुँदै उनी बिरामी परे र घर फर्काइए ।
मानसिक सन्तुलन गुमाएपछि मेघराजले घर, धन्सारका झ्याल र ढोकाहरू फुटाउने, जो कसैलाई ढुंगा टिपेर हान्ने, पशुचौपायलाई काटिदिने गरेपछि असुरक्षित भएर छुट्टै छाप्रोमा राख्नुपरेको उनकी आमा विष्णुमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार एक्लो छोरा मानसिक सन्तुलन गुमेको र उनकै कारण परिवार र समाज असुरक्षित भएपछि एक्लै बाँधेर यस्तो राख्नु परेको हो ।
मावली परिवारले उनलाई उपचारका लागि पोखरा, काठमाडौं लगायत ठाउँमा समेत लगेको मेघराजका मामा भूराज गुरुङले बताउनु भयो । तर उपचार परिणाम मुखी हुन सकेन । उहाँले भन्नुभयो, ‘त्यसपछि पनि स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिन थाल्यो । यसैले बाध्यताले छाप्रोमा बाँधेर राख्नुपरेको हो ।’
उनेको अवस्थाकाबारेमा स्थानीय तुलसी गुरुङले मानवसेवा आश्रममा जानकारी गराउनु भएको थियो ।
उद्दार गरिएका ती युवकलाई सो गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले आफू चढ्ने गाउँपालिकाको सवारी साधनमा बेसीशहर ल्याउनु भएको हो । अध्यक्ष गुरुङले ती युवकलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।
मेघराजलाई त्यस्तो अवस्थामा राखिएको जानकारी पाएपछि उद्दारका लागि त्यहाँ पुग्दा गाउँमा रहेको घरभन्दा केही मुनी टिनको छानोले छोपेको र रड गाढेर साङ्लोले बाँधेर राखिएको, उनको शरीर प्रायः नग्न अवस्थाका युवकलाई उद्दार गरिएको उद्धार टोलीमा सहभागी पत्रकार महासंघको जिल्ला उपाध्यक्ष अनुज अधिकारीले बताउनु भयो ।
मेघराजको उद्दारका लागि गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, वडाअध्यक्ष अमर गुरुङ, मानवसेवा आश्रम भवन निर्माण समितिका अध्यक्ष मोहनबहादुर थापालगायतको टोली भुम्लीचोक गाउँमा गएको आश्रमका संयोजक अनिता अधिकारीले बताउनु भयो । उहाँका अनुसार युवकलाई उद्दार गरी बेसीशहर स्थित आश्रममा ल्याएको छ, अब उचित हेरचाह र उपचारसमेत गरिने छ ।
यस प्रकार सडकबाट उठाइएका, साङ्लोले बाँधेर राखिएको अवस्थामा उद्दार गरिएका कतिपयको स्वास्थ्यमा सकरात्मक परिवर्तनपछि आश्रमले उनीहरूको परिवारमा मिलन कार्यसमेत गराउँदै आएको छ ।
बेसीशहर नगरपालिका– ७ को हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रममा हाल ३० जना नारायण तथा लक्ष्मी एवम् बालगोपालहरूले आश्रय लिइरहेको मावन सेवा आश्रमले जनाएको छ ।
– अनुज अधिकारीको सहयोगमा ।
प्रकाशित मिति २०८० मंसिर २९, शुक्रबार १७:१७ गते