बेसीशहर– लमजुङमा व्यक्ति हत्याका लागि सुपारीको प्रयोग गर्नेहरूको अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । मध्यनेपाल नगरपालिका– १ का वडा अध्यक्ष सुदीप थापाका विरुद्ध त्यस्तो तानाबाना रचिएको खुल्न आएपछि उहाँले सो काण्डमा संलग्न तीन जनाका विरुद्धमा मंसिर २९ गते किटानी जोहरी दिनु भएको थियो ।
सो घट्नाको छानविनका लागि तीनजनाका विरुद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनका लागि पुस १ गते पहिलो पटक म्याद प्रहरीले पाएको हो ।
त्यसबारेमा मंसिर २८ गतेकै दिन जाहेरी दिन आउनु भएका थापाले प्रहरीले जाहेरी लिन नमानी बेहोरा फेर्र्न भनेकोमा उहाँले जाहेरीको बेहोरा फेर्न अर्थात मुद्दा नै अर्को बनाउन अस्विकार गर्नु भएको थियो । त्यसपछि भोलिपल्ट मंसिर २९ गते उहाँले त्यसबारेमा यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी घट्ना सार्वजनिक गर्नु भएपछि मुद्दा दर्ता गर्नका लागि प्रहरीलाईै दबाब परेको थियो । अन्ततः पुस १ गते किटानी जाहेरी परेका सुपारी दिने बाबुराम थापा, सुपारी लिने रोसन गुरुङ र गुरुङलाई साथी बनाई घरमा ल्याई राख्ने बाबुरामका छोरा सागर थापाका विरुद्धमा वडाध्यक्ष थापाले किटानी जोहरी दिनु भएको छ । अन्य दुईजना रोसनका साथी भने फरार रहेका छन् ।
सो घट्ना कसरी सार्वजनिक भयो ?
मध्यनेपाल नगरपालिका– १ को जिता गाउँको ४– ५ घरमा सुनका गहनाहरू चोरी भएको ५– ७ दिन भएको रहेछ । सो क्रममा बाबुराम थापाको घरमा एक जना नौलो मानिस हप्ता १० दिन अघिदेखि बस्दै आएको छ, उसैले त त्यो काम गरेको होइन ? भन्ने गाउँमा सुनका गहना हराएका पीडित गाउँलेहरूले गुनासो गरेछन् । जनप्रतिनिधि समेत भएका नाताले ती व्यक्तिका बारेमा आफूले जानकारी लिन खोज्दा ती व्यक्ति तनहुँ जिल्लामा दर्जनौं पटक मुद्दा खेपेका र पटक पटक जेल गइसकेका व्यास नगरपालिका– ७ मा स्थायी बसोबास भएका ३१ वर्षीय रोसन गुरुङ भएको खुल्न आयो । त्यसपछि त्यसको सोधपुछ गर्न (सुन चोरेको हो होइन ?) सोतीपसल प्रहरी चौकीमा लगी केरकार गर्दा रोसनले आफूनो हत्याको योजना बनाएको खुलेको वडाध्यक्ष सुदिप थापाको भनाइ छ ।
उहाँका अनुसार आफू विरुद्धमा आफ्नै गाउँका नाताले काका पर्ने बाबुराम थापा र नाताले भाइ उनका छोरा सागर थापा भएको रोसनले बताएका हुन् । उहाँले भन्नुभयो, ‘सोधपुछ गर्ने क्रममा रोसन गुरुङले आफूलाई एक लाख ५० हजार दिने सर्तमा सुदिप थापाको हत्या गर्न भनिएको तर पछि पैसा नपुग भएको हुँदा आधा पैसा सुरुमा र आधा रकम काम भएपछि दिने सर्तमा आफूले काम गर्न मञ्जुर भएको, मोटरवाइगमा हिडेको भए त सुदिपलाई उहिल्यै भ्याई सक्ने गाडीमा हिडेको हुँदा हामीबाट बचेको र यसअघि तीन पटकको आफूहरूको प्रयास असफल भएको समेत रोसन गुरुङले बताएका छन् । त्यसको भिडियो रेकर्ड समेत सुदिपले पत्रकार सम्मेलनका सार्वजनिक गर्नु भएको थियो ।
सुदीपले भन्नुभयो, ‘मेरो दिन आई नपुगेकै कारणले म बाँचेको हुँ जस्तो लाग्छ । त्यसैले, यो घट्नालाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्नका लागि हिजोदेखि गरेको प्रयास प्रहरीले अटेर गरेकोले सम्भव नभएको तर अब पत्रकार सम्मेलन गर्छु भनेर प्रहरी कार्यालयबाट निस्केर तपाई (पत्रकार)हरूलाई खबर गर्न थालेपछि यो जाहेरी जस्ताको तस्तै दर्ता गर्छु भन्ने फोन आएको छ ।’
यस प्रकार न्यायका लागि पीडित पक्ष त्यसमा पनि वडाध्यक्ष जस्तो व्यक्तिले समेत पत्रकार गुहार गर्नु पर्ने स्थितिले वर्तमानको लोकतान्त्रिक गणतन्त्र भनिने व्यवस्थामा कस्को हितका लागि काम गरिने रहेछ ? भन्ने फेरि पनि प्रश्न उठेको छ ।
प्रकाशित मिति २०८० पुष २, सोमबार २१:५९ गते