काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीका घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन् । त्यसलाई काम गरेजस्तो देखाउन सरकारले छानविन समिति गठन गर्ने गरेको पनि छ तर सुन तस्करीका घटनाको छानबिन र अनुसन्धानका लागि आवश्यक पर्ने सीसीटीभी फुटेजसमेत विमानस्थलसँग २१ दिनको मात्र हुने गरेबाट भने अनुसन्धनमा जटिलता उत्पन्न हुन गएको पुस ६ गते खुलास भएको छ ।
नेपालमा लामो समयदेखि विदेशबाट सुन तस्करी हुँदै आएको भन्दै ठूलो परिमाणमा सुन सहित केही व्यक्तिहरू पनि पक्राउ परिरहेका छन् ।
त्रिभुवन विमानस्थलबाट दैनिकजसो सुनको तस्करी हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको शाख गिरिरहेको छ तर विमानस्थलको सुरक्षामा भने जिम्मेवार निकाय उदासिन देखिएको छ । यसबाट नेपालको सुशासनले जहिले पनि कुरीकुरी गरिरहेको अवस्थाले निरन्तरता पाइरहेको छ ।
यतिबेला सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई गत असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सँगै राहुल महरा सहित पुर्पक्षका लागि थुनामा छन् ।
सुन तस्करीको घटनाबारे छानबिन गरिरहेको समितिले भन्सार विभाग र प्रहरीले विमानस्थलको एक महिनाभन्दा अघिको सीसीटीभी फुटेज चाहेको थियो तर विमास्थल प्रशासनले भने २१ दिनसम्मको मात्र फुटेज उपलब्ध हुने हास्यास्पद जवाफ दिएको बताइन्छ । सुन तस्करीको अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘हामीले सुनको तस्करीको छानबिनका लागि एक महिना भन्दा अघिको सीसीटीभी फुटेज खोज्यौं, तर विमानस्थल जस्तो क्षेत्रमा २१ दिनको मात्र फुटेज हुने र त्यसअघिको मेटिँदै जाने अवस्था रहेको जवाफ पाइयो ।’
उनका अनुसार सीसीटीभीको स्टोरेज क्षमता नियतवश नबढाइएको हुनसक्ने आशंका देखिन्छ । उनले भने, ‘सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि त्यसलाई वेवास्ता गरेको पाइयो, यसमा सफा नियत देखिँदैन ।’
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बल्ला तीन महिनाको सीसीटीभी फुटेज अभिलेख राख्न मिल्ने गरि काम भइरहेको सो विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी बताउनु हुन्छ । त्यो थलोमास्थलबाट सुन तस्करीका घटना नयाँ होइन । विमानस्थल कार्यालयले कानुनको धज्जी उडाउँदै गैरजिम्मेवार जवाफ दिएको आम बुझाइ छ ।
नेपाल सरकारको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ (संशोधन तथा परिमार्जन २०७५) मा सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने प्रष्ट व्यवस्था गरिएको छ ।
सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि तीन महिना फुटेज सुरक्षित राख्नुपर्ने र यो कार्यान्वयन नभएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही हुने व्यवस्था गरिएको छ ।
स्मरणीय छ, २०७४ माघ ९ मा युएईबाट काठमाडौं ल्याएको साढे ३३ किलो सुन हराएको घटना भएको ६ वर्ष बितिस्कदा पनि विमानस्थलले तीन महिनाको सीसीटीभी फुजेट राख्न मिल्ने व्यवस्था गर्न वास्ता नगरेको सहजै आंकलन गर्न सकिन्छ ।
प्रकाशित मिति २०८० पुष ८, आईतवार ०५:४४ गते