जिल्लाको सुप्रसिद्ध पाउँदीघाट सरसफाईको पर्खाईमा ! जिम्मेवारी एवम् दायित्व कस्को ?

जिल्लाको सुप्रसिद्ध पाउँदीघाट सरसफाईको पर्खाईमा ! जिम्मेवारी एवम् दायित्व कस्को ?

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० पुस १५ गते आईतबार ०९:३३

मरनघाट व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बजेट नभएर काम नभएको हो, बजेट आएको छ अब काम हुन्छ भन्नुभएको छ ।

मरनघाटको सरसफाई बारेमा के भन्नुहुन्छ त उक्त वडाका अध्यक्ष जयराम रेग्मी ?

लमजुङ– हिजोआज सार्वजनिक स्थलमा वातावरण प्रदुषण हुनु, फोहर हुनु वा गरिनुलाई सामान्य मान्ने गरिएको छ । अझ कतिपयको त आफूले गरेको फोहर अरु मानिसले आएर सफा गरिदिनु पर्छ भन्ने ठान्ने बुझक्कडहरूको पनि कमी छैन समाजमा । यस्तै धारणा, सोच, शैली भएका व्यक्तिहरूका कारण पनि कतिपय स्थानमा अनावश्यक फोहरको डंगुर बढिरहेको भेटिन्छ । त्यस्तै ठाउँमध्येको एक हो जिल्लाकै सुप्रद्धि पाउँदी मरनघाट । जहाँ फोरहको बेथिति देख्न सकिन्छ ।
उक्त मरनघाट लमजुङको सुन्दरबजार नगरपालिका– ७ स्थित डुम्रे– बेसीशहर सडक किनाराको जिल्लाको प्रवेशद्वारमा रहेको छ भने मध्यपहाडी लोकमार्ग पनि सोही स्थान भएर गएको छ । मर्स्याङदी नदी र पाउँदी खोलाको दोमान समेत रहेको सो स्थान जिल्लाकै सुप्रसिद्ध मरनघाट मानिन्छ । त्यो घाटमा मर्स्याङदी नदीको पानी ढोलो भएका सुन्दरबजार उपत्यका क्षेत्रका सबै गाउँहरूको साझा स्थलो हो । सुन्दरबजार नगरपालिकाको प्रायः सबै वडाहरू, तनहुँको भानु नगरपालिकाको करिब चार वडाहरूको साझा मरनघाट हो त्यो स्थल ।
उक्त स्थलोमा मानिस प्रायः दुःख(परिवार/गाउँ/छिमेक)मा परेपछि मात्र पुग्ने गर्दछन् । एक्लै दुक्लै मानिस प्रायः त्यस्तो स्थानमा जान पनि डराउने गरेको पाइन्छ । त्यसो त कतिपय जातिमा चितामा राखिएको शव जलाई सकेपछि त्यो स्थानलाई राम्रोसँग सफाई गर्नु पर्छ भन्ने धार्मिक मान्यता, संस्कार तथा सामाजिक प्रचलन समेत छ । तर हिजोआजको मानिस संस्कार बिहीन हुँदै गएको छ ।
उसले जिम्मेवारी, कर्तव्य एवम् दायित्व बिर्सने, अधिकार मात्र खोज्ने, त्यसको पनि सकेसम्म दुरुपयोग गर्ने अनि सामाजिक कर्ममा जाँदा पनि कर्तव्य भुल्ने (जन्त गयो, भोज खायो, आफ्नो काममा कुद्यो वा घर फर्क्यो, जन्ति हुनुको अर्थ के हो ? जिम्मेवारी के हो ? त्यसको पालना छैन । त्यस्तै, घाटमा गयो, शवमा दागबत्ती दिन नपाउँदै छाड्यो, हिड्यो, मलाम जानुको मर्मबोधलाई धेरैले ख्याल गर्न छाडिसके । उस्तै परे, आफन्तजनको चितासमेत क्रियापुत्रीले आफै सफा गरेर एक्लै लुरुलुरु घरमा फर्कनु पर्ने हो कि ! जस्तो स्थिति नयाँपिंढीको व्यवहारबाट देखिन थालेको छ र त्यस्तो प्रवृत्तीको जमात बढ्दै गएको छ प्रतिदिन । यही वा यस्तै कारणले मरनघाटमा जान पनि सकसक(घिन) लाग्ने जस्तो स्थिति उत्पन्न हुन गएको हो कि (?) यस्तै यस्तै बोल्छ पाउँदी मरनघाटले ।
हुन त सार्वजनिक स्थलको सरसफाई पालिका (स्थानीय सरकार)ले गर्नु पर्छ भन्ने धारणा पनि विकसित भइरहेको छ पछिल्ला दिनमा । हिजोआज मानिसको जात यति अल्छी भएको छ कि ! बरु ऊ पैसा तिर्न तयार छ । आफै खटन चाहदैन । मरनघाटको सफाईका लािग अब वडा समितिले सम्बन्धित परिवारसँग केही शुल्क लिएर वा छुट्टै कुनै कोष बनाएर सरसफाईको प्रवन्ध गर्ने हो कि ?
के भन्नुहुन्छ त उक्त वडाका अध्यक्ष जयराम रेग्मी ? यसबारेमा हामीले सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘त्यसको व्यवस्थापनका लागि एक समिति पनि बनाएको छ । अध्यक्ष त्यहीको विद्यालयको पूर्वप्रअ समेत हुनुहुन्छ, विष्णुप्रसाद पौडेल तर समितिले काम नै गरेन, सबै ठाउमा आफूले नभ्याउने ?’ भन्नुभयो । यसबारेमा वडासमितिको चासो र चिन्ता छ । यौटा भवन बनाइएको छ र ऐले थप काम गर्ने, मोटरबाट पानी तानेर चिता सफा गर्ने, बाटो मर्मत गर्ने, शौचालयको प्रवन्ध गर्ने लगायतका कामका लागि सात लाख रुपैयाँ विनियोजन गरिसकिएको छ । उहाँले थप भन्नुभयो, ‘समितिकै अध्यक्षसँग बुझ्दा राम्रो हुन्छ कि ?’
पाउँदी मरनघाट व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलसँग सम्पर्क गर्दा ९ सदस्यीय समिति रहेको छ, बजेट नभएर काम नभएको हो, बजेट आएको छ अब काम हुन्छ गएको हप्ता बैठक बसेर छलफल समेत भएको छ भन्नुभयो ।
लमजुङ र तनहुँको सीमा क्षेत्रमा सुन्दरबजार नगरपालिका– ७ पाँउदी स्थित सीतप्रवाह(मर्स्याङ्दी) नदी किनारमा रहेको उक्त मरनघाटले सरसफाईको पर्खाईमा कति दिन थप कुर्नु पर्ने हो ? भविष्यकै गर्भमा छ ।
नोट : फोटाहरू पुस १२ गते, २०८० मा कैद गरिएको हो ।

प्रकाशित मिति २०८० पुष १५, आईतवार ०९:३३ गते
हजुरको प्रतिक्रिया