सहकारी ठगी काण्डमा २७ वर्षकी कोषाध्यक्ष कारागार चलान

सहकारी ठगी काण्डमा २७ वर्षकी कोषाध्यक्ष कारागार चलान

एजेन्सी

@antaranganews

२०८० माघ १७ गते बुधबार ०५:५४

मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो ।

उजुरी परी फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेका छन् ।

बागलुङ– यस जिल्लाको ढोरपाटन स्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार २७ वर्षकै उमेरमा पुर्पक्षका लागि जेल चलान भएकी छिन् । सहकारी संस्थाको ठगी प्रकरणमा सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर मुद्दामा बागलुङ जिल्ला अदालतबाट माघ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
बागलुङ जिल्ला अदालतबाट गत असार १० गते कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बागलुङलाई अनुमति दिएको थियो । सुनार बागलुङको निसीखोला गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । २७ वर्षीया उनलाई गत माघ १० गते केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका– ३ को धोबीघाटबाट पक्राउ गरी बागलुङ ल्याएको थियो ।
उक्त सहकारीमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समेत संलग्न रहेका उनी आजसम्म फरार छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन् । उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन् ।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले यअसघि जानकारी दिनु भएको थियो ।
सिआईबीमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएकी सुनारलाई बागलुङ प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा पेश गरेकोमा अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएअनुसार उनलाई कारागार चलान गरिएको बागलुङ प्रहरीले बताएको छ ।
फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेको बागलुङका प्रहरी प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिनु भएको छ । उक्त सहकारी ठगी प्रकरणमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका थिए ।
स्मरयणीय छ, मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो ।

प्रकाशित मिति २०८० माघ १७, बुधबार ०५:५४ गते
हजुरको प्रतिक्रिया