काठमाडौं– रेष्टुरेन्टको शौचालयमा महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई फागुन १४ गते सिफारिस गरेको छ । केसीले फागुन ५ गते राति ९ः२० बजेतिर स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए ।
चार नम्बर बाहिनी पोखरामा कार्यरत उनकाविरुद्धको मुद्दा माफुन १४ गते अदालतमा दर्ता भएको थियो । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेका कारण निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको हो ।
केसीलाई जिल्ला अदालत, काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएको प्रहरी वृत्त, स्वयम्भुकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिनु भयो ।
उनको मोबाइल प्रहरीले बरामद गरिसकेको थियो तर त्यो फर्म्याट भएको बताइन्छ, त्यो कसरी भयो ? थप अनुसन्धानको विषय बनेको स्रोतले जनाएको छ ।
उनले प्रहरी वृत्त, स्वयम्भुका प्रहरीलाई फेसबुक डिएक्टिभ गर्न भन्दै मोबाइल मागेको प्रहरी अधिकृत प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवले बताउनु भयो । उहाँका अनुसार मैले गरेको गल्तीबारे विभिन्न पत्रपत्रिकामा आइसक्यो, मेरो फेसबुक आईडीबाट मेरो तथा परिवारको फोटो तानेर मिडियामा हाल्नसक्ने हुँदा व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुप¥यो भनेर अनुरोध गरेका थिए । उहाँले भन्नुभयो, ‘डीएसपी भएकाले विश्वास गरेर मोबाइल दिँदा उनले बरामद भएको मोबाइलको सम्पूर्ण डाटा तथा प्रमाणहरु नष्ट गर्ने मनसायले बदनीयतपूर्वक मोबाइल फर्म्याट गरे ।’
यसपछि प्रहरीले मोबाइलको डाटा रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
केसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अश्लील किताब, पर्चा इत्यादी बनाउन वा बिक्री गर्न नहुने कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
उनीविरुद्धको कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।
अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।
प्रकाशित मिति २०८० फाल्गुन १५, मंगलवार ०७:५८ गते