खुदी(लमजुङ)– लमजुङको एक सुन पसलका आगलागी हुँदा १६ लाखको क्षति भएको छ । ३ तले पक्की घरको भुई तल्लामा रहेको ‘न्यू सुर्योदय सुनचाँदी पसल’मा चैत २१ गते दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
लमजुङ मर्स्याङदी गाउँपालिका– ३ को यहाँ स्थित नन्दराज लामाको ३ तले पक्की घरको भुई तल्लाको सटरमा रहेको ऐ.ऐ. बस्ने बर्ष ४४ का डिलबहादुर सुनारले सञ्चालन गरेको ‘न्यू सुर्योदय सुनचाँदी पसल’मा आगलागी भएको हो । सुनका गर–गहना बनाउने कोठाबाट अचानक ग्यास लिक भई आगलागी हुन गएको पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले बताएको छ ।
उक्त आगलागीका कारण पसलमा रहेका सोकेश, डेकोरेसनका फर्निचर, सुन बनाउन प्रयोग गरिने मिसिन औजारहरू, ईन्भटर लगायतका सामग्रीहरू जल्न गई अन्दाजी १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो । उहाँका अनुसार सो घट्नामा मानवीय क्षति भने भएको छैन ।
उहाँले भन्नुभयो, ‘प्रहरी तथा स्थानीयको सहयोगमा उक्त आगलागी दिउँसो करिब १४ः२० बजेको समयमा पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।’
सो आगलागी नियन्त्रण हुन झण्डै एक घण्टाको समय लागेको प्रत्यक्षदर्शीले बताए ।
प्रकाशित मिति २०८० चैत्र २२, बिहीबार ०८:४३ गते