निस्क्रिय १६ सहकारी संस्थाको खोजीमा जुट्यो सुन्दरबजार नगरपालिका

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १८ गते शुक्रबार ०९:४७

नगरपालिकाको कोपिमिस प्रणालीमा आबद्ध नभएको र आबद्ध भएका संस्थाहरू पनि प्रतिवेदन पेश गर्ने, तथ्याङ्क प्रविष्ट गर्ने लगायतका कार्यहरूमा निस्कृय प्रायः रहेको पाइएकोले नगरपालिकाले सूचना जारी गरेको हो ।

चार वटा सम्पर्कमा आएर पनि निस्क्रिय रहेको भन्दै त्यस्ता सबै सहकारी संस्थाहरुको सूची नै सार्बजनिक गरेको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका आफ्नो क्षेत्र भित्र रहेका सहकारीहरूको खोजीमा जुटेको छ । उक्त नगरपालिकालाई कार्य क्षेत्र बनाएका दर्ता भएका तर सञ्चालनमा नरहेका सहकारी संस्थाहरूलाई एक सूचना जारी गर्दै सम्पर्कमा आउन निर्देशन गरेसँगै त्यस्तो खुलासा भएको हो ।
नगरपालिकाले पहिलो पटक ३५ दिने सार्बजनिक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका १६ वटा सहकारी संस्थाहरू सम्पर्कमा नआएका तथा चार वटा सम्पर्कमा आएर पनि निस्क्रिय रहेको भन्दै त्यस्ता सबै सहकारी संस्थाहरुको सूची नै सार्बजनिक गरेको छ । तोकिएको समयभित्र सम्पर्कमा नआउने तथा कोपोमिस प्रणालीको नियमिति प्रयोग गरी प्रतिवेदन नपठाउने र विवरणहरू समयमै नबुझाउने सम्पूर्ण सहकारी संस्थाहरूलाई नगरपालिकाको सहकारी ऐन २०७५ तथा प्रचलित कानून बमोजिम कारबाहीको प्रकृया अगाडि बढाइने सुन्दरबजार नगरपालिकाले जनाएको छ ।
सुन्दरबजार नगरपालिकाको नियमन क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये कतिपय सहकारी संस्थाहरू हालसम्म पनि कार्यालयको नियमित सम्पर्कमा नआएको तथा कतिपय सहकारी संस्थाहरू निश्क्रिय रहेकोले तताउने काम गरिएको नगरपालिकाको पर्यटन तथा सहकारी शाखा प्रमुख राजिव घिमिरेले बताउनु भयो । उहाँका अनुसार केही संस्थाहरू नगरपालिकाको कोपिमिस प्रणालीमा आबद्ध नभएको र आबद्ध भएका संस्थाहरू पनि प्रतिवेदन पेश गर्ने, तथ्याङ्क प्रविष्ट गर्ने लगायतका कार्यहरूमा निस्कृय प्रायः रहेको पाइएकोले नगरपालिकाले सूचना जारी गरेको हो ।
पर्यटन तथा सहकारी शाखा प्रमुख राजिव घिमिरेले भन्नुभयो, ‘कार्यालयबाट पटक पटक ताकेता गर्दा समेत कुनै तदारुकता नदेखाएको र केही सहकारी संस्थाहरूसँग सम्पर्क समेत स्थापित गर्न नसकिएको हुँदा ३५ दिन भित्र कार्यालयको सम्पर्कमा आउनका लागि सूचना प्रकाशन गरिएको हो ।’
त्यस्ता संस्थाहरूमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, चन्द्रेश्वर कफि विकास सहकारी संस्था, जनजागरण बचत तथा ऋण सहकारी संस्था, जनता दुग्ध उत्पादक सहकारी संस्था, महिला विकास आ.आ. बचत तथा ऋण सहकारी संस्था, महिला सीप विकास बचत तथा ऋण सहकारी संस्थाहरू हालसम्म कार्यालयको सम्पर्कमा नआएको घिमिरेले उल्लेख गर्नु भयो । उहाँका अनुसार शान्ति महिला जागृती बचत तथा ऋण सहकारी संस्था, कालिका उपभोक्ता सहकारी संस्था, जनजागरण उपभोक्ता सहकारी संस्था, जनप्रिय उपभोक्ता सहकारी संस्था, जनभावना उपभोक्ता सहकारी संस्था, जनसंकल्प उपभोक्ता सहकारी संस्था, सृजना कृषि सहकारी संस्था, सबल कृषि सहकारी संस्था, प्राङ्गारिक कफि विकास कृषि सहकारी संस्थाहरु आजका दिनसम्म नगरपालिकाको सम्पर्कमा आएका छैनन् ।
यसैगरी, तार्कु स्वावलम्बन बचत तथा तथा ऋण सहकारी संस्था, दुराडाँडा कफि विकास कृषि सहकारी संस्था, प्रगतिशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था, भोटेओडार कृषि सहकारी संस्थाहरू कार्यलयको सम्पर्कमा आएको तर सक्रिय नरहेको नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति २०८१ आश्विन १८, शुक्रबार २१:४७ गते
हजुरको प्रतिक्रिया