आइतबार बिदाको परिणाम : कार्तिकमा जम्मा १२ दिन कार्यालय खुल्ने

आइतबार बिदाको परिणाम : कार्तिकमा जम्मा १२ दिन कार्यालय खुल्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ९ गते सोमबार ०३:४९

दुई दिन बिदा हुँदा अन्य दिन बिहान ९ बजेनै कार्यालय खुल्ने भनिएपछि १० बजे अघि न त कर्मचारी कार्यकक्षमा पुगेका हुन्छन् न त सेवाग्राहीहरूको चापनै १० बजे अघि कार्यालयहरूमा देखिन्छ । त्यसैले पनि यो नीति तत्काल सच्चिनु पर्छ भन्ने लमजुङका अधिकांश सेवाग्राहीको माग रहेको छ ।

‘अरु भन्दा पनि दुई दिनको लामो बिदा हुँदा स्कूल जाने केटाकेटीहरू कूलतमा फस्ने हुन् कि ? भन्ने डर उत्पन्न भएको छ ।’ अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो ।

लमजुङ । सरकारी कार्यालयमा लगातार ९ दिन सार्वजनिक बिदा भएपछि आज कार्तिक ९ गते सोमबारबाट सरकारी कार्यालय, बैंकहरू तथा अन्य सार्वजनिक सरोकार रहेका कार्यालयहरू खुलेका छन् । यस्तो हुनुको कारण शनिबार र आइतबारका दिन लगातार बिदा भएका कारण उत्पन्न भएको हो ।
आजको दिनबाट सरकारी कार्यालय खुलेता पनि बिदाको चक्र सिद्धिएको छैन । पाँच दिन सरकारी कार्यालय र बैंकहरू खुलेपछि फेरि दुई दिन बिदा हुन्छ । त्यसको पाँच दिन कार्यालय खुला रहेपछि फेरि ६ दिन बिदा हुन
सरकारी क्यालेण्डरमा उल्लेख छ ।
सरकारी क्यालेण्डर तथा पछिल्लो सरकारको सातामा दुई दिने बिदाका नीति अनुसार त्यसपछि एक दिन कार्यालय खुल्छ अनि फेरि दुई दिन बिदा हुन्छ । त्यसपछि एक दिन कार्यालय खुल्छ अनि कार्तिक महिना नै सकिन्छ ।
यसप्रकार कार्तिक महिनाको ३० दिनमा जम्मा कार्यालय खुला हुने दिनको संख्या १२ मात्रै रहेको पाइन्छ भने १८ दिन कार्यालय बन्द रहने भएका छन् ।
त्यसो त बडादशैं र तिहार पर्व एकै अर्थात यही कार्तिक महिनामा पर्दा र साप्ताहिक बिदा दुई दिन हुनाको कारणले कार्यालय तथा सार्वजनिक सेवा प्रवाह यसरी प्रभावित हुने स्थिति उत्पन्न भएको हो ।
सातामा दुई दिन अर्थात आइतबारको बिदा नेपालको परिवेशमा उपयुक्त नभएको मर्स्याङदी बहुमुखी क्याम्पसका पूर्वउप्राध्यापक एवम् इतिहासविद रमाराज खनियाले बताउनु भएको छ । उहाँका अनुसार आइतबारको विदा व्यवहारिक छैन । यसबाट विद्यालय त सय प्रतिशतनै प्रभावित छन् । सरकारी या अर्ध सरकारी कार्यालयमा सेवा लिने सेवाग्राहीका लागि पनि उपयुक्त देखिदैन उहाँले भन्नुभयो । विदेशमा धेरै कलकारखाना, उद्योग आदि छन् । मानिसले २, ४ घण्टाका लागि पनि काम पाउछन् । हाम्रो जस्तो देशमा त्यो स्थिति आउने अझै १५– २५ वर्ष लाग्ने देखिन्छ । जे होस् मैले हप्ताको दुई दिने बिदा उपयुक्त देखेको छैन उहाँले थप भन्नुभयो ।
यसैगरी, लमजुङ रत्न साप्ताहिकका प्रकाशक एवम् समाचार संयोजक सुधा ढकालले पनि साताको दुई दिने बिदाले राम्रो परिणाम नदिएको अनुभव सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘सरकारको निर्णय सबै सही हुन्छ भन्ने छैन, ऐलेको सरकारले गरेका काममा मलाई सबैभन्दा मन नपरेको काम यही हो ।’ सबै कुरामा विदेशीको नक्कल गरेर हुन्छ ? उहाँको प्रतिप्रश्न थियो ।
यसैगरी, अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले पनि सातामा दुई दिने विदा आफूहरू र खासगरी स्कूल जाने केटाकेटीका लागि उपयुक्त नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अरु भन्दा पनि दुई दिनको लामो बिदा हुँदा स्कूल जाने केटाकेटीहरू कूलतमा फस्ने हुन् कि ? भन्ने डर उत्पन्न भएको छ ।’ उहाँका अनुसार उनीहरू घरमा खासै पढ्दैनन् । पढ्ने भनेको स्कूल, ट्युसन नै हो । दुई दिन विदा हुन थालेपछि ट्युसन कक्षासमेत दुई दिन बिदा हुन थालेको छ, यो ठीक लागि रहेको छैन उहाँले सुनाउनु भयो ।
दुई दिन बिदा हुँदा अन्य दिन बिहान ९ बजेनै कार्यालय खुल्ने भनिएपछि १० बजे अघि न त कर्मचारी कार्यकक्षमा पुगेका हुन्छन् न त सेवाग्राहीहरूको चापनै १० बजे अघि कार्यालयहरूमा देखिन्छ । त्यसैले पनि यो नीति तत्काल सच्चिनु पर्छ भन्ने लमजुङका अधिकांश सेवाग्राहीको माग रहेको छ । आज कार्तिक ९ गते ९ः३५ बजेको समयमा यो प्रतिनिधि बेसीशहर नगरपालिका तथा भूमि प्रशासन कार्यालयमा पुग्दा कर्मचारी फाट्टफुट्ट देखिन्थे भने सेवाग्राही शून्य जस्तै थिए । कतिपय सेवाग्राहीलाई कार्यालय बिहान ९ बजे खुल्छन् भन्ने जानकारीनै नभएको समेत बुझिन आएको छ ।
गत आम निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्व(प्रधानमन्त्रित्व) को सरकार आएको १० दिनमै, २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार समेत साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि वर्षभरि कार्यालय खुल्ने दिन संख्या घटेको हो । त्यतिबेला पेट्रोल खपत घटाउन दुई दिन बिदा गरिएको भए पनि सरकारले त्यो स्थिति सहज भइसकेपछि पनि यसलाई पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट गरिसकेको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १०, सोमबार १५:४९ गते
हजुरको प्रतिक्रिया