आज कोजाग्रत पूर्णिमा : बडादशैं बिदाइ, महालक्ष्मीको स्वागत

आज कोजाग्रत पूर्णिमा : बडादशैं बिदाइ, महालक्ष्मीको स्वागत

एजेन्सी

@antaranganews

२०८३ कार्तिक ८ गते आईतबार ०६:५३

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा बडादशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ ।

काठमाडौं– आज कोजाग्रत पूर्णिमा, बडादशैंलाई बिदा गरी महालक्ष्मीको स्वागत गरी मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज कार्तिक ८ गते रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ । आजको दिनदेखि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने प्रचलन छ ।
नवरात्र विजयादशमी कै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका रहेको छ ।
आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा बडादशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भोलिदेखि कार्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई बडादशैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ ।
कार्तिक स्नान गरी तुलसीको विशेष रूपमा गरिने पूजा आराधना भने कार्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । आकाशदीपदान पनि सोमबार साँझदेखि नै सुरु गरिँदै छ ।

प्रकाशित मिति २०८३ कार्तिक ९, आईतवार ०६:५३ गते
हजुरको प्रतिक्रिया