
भूलभूले(लमजुङं)– मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा हुने तेस्रो मर्स्याङ्दी महोत्सव– २०८३ को भव्य तयारी थालिएको छ । १२५ सदस्यीय मूल आयोजक समिति गठन कार्तिक १० गते महोत्सवको तयारी थालिएको हो ।
पाँच दिवसीय उक्त महोत्सव आउँदो पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । मर्स्याङ्दी गाउँपालिका– ७ को ङादीस्थित ङादी खेलमैदानमा सञ्चालन हुने महोत्सवमा कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम गरिने आयोजकको भनाइ छ । महोत्सवलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ तेस्रो मर्स्याङ्दी महोत्सव– २०८३ को तयारी थालिएको गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरुङले बताउनु भयो । उहाँका अनुसार महोत्सव आउँदो पुस ८ गतेदेखि १२ गतेसम्म हुनेछ । उहाँका अनुसार ‘प्रकृति, संस्कृति, कृषि, पर्यटन र खेलकुदको संगम– तेस्रो मर्स्याङ्दी महोत्सव– २०८३’ नारा तय गरिएको छ ।
उहाँले भन्नुभयो, ‘ङादी खेलमैदानमा महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।’ महोत्सवमा सहभागी भई मर्स्याङ्दीको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, मौलिक परिकार र उत्पादनको अवलोकन गर्न सबैलाई निमन्त्रणा गरिएको छ ।
महोत्सवका प्रमुख आकर्षणहरूमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति, स्थानीय धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यक्रमहरू, लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता, स्थानीय कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, स्थानीय हस्तकलाबाट उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री, स्थानीय मौलिक परिकारसहितको खाना महोत्सव, मर्स्याङ्दी क्षेत्रको पर्यटन प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम रहेका छन् ।
समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिका निर्माणको अभियानमा हातेमालो गरौँ भन्ने आयोजकको आह्वान छ । मर्स्याङ्दीको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, स्थानीय स्वाद र पर्यटनको अनुपम पहिचानसँग साक्षात्कार गरौँ भन्ने आग्रह गरिएको छ ।
महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय तथा सांस्कृतिक पहिचानलाई व्यापक बनाउन महोत्सव महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।
विगतमा सम्पन्न भएका दुई महोत्सव उपलब्धिमूलक रहेको आंकलन आयोजकको रहेको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १२, बुधबार १५:४१ गते