प्रजातन्त्र सेनानी एवम् सांस्कृतिक अभियन्ता लिल घलेको ८६ बर्षमा निधन

प्रजातन्त्र सेनानी एवम् सांस्कृतिक अभियन्ता लिल घलेको ८६ बर्षमा निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक १२ गते बिहिबार ०१:३२

गाउँमा सामाजिक व्यक्तित्वका साथै सांस्कृतिक अभियन्ताका रुपमा समेत उहाँले स्थापित व्यक्तित्व निर्माण गर्नु भएको थियो । उहाँ घाँटु, कृष्णचरित्र तथा सेर्गा नाचका गुरु समेत रहनु भएका उहाँ मौलिक लोक संस्कृतिका पारखी(संरक्षक) हुनुहुन्थ्यो ।

काँग्रेसको गाउँ सभापति भए वापतमा पटक– पटक घर तोडफोड हुने, गाउँ बहिस्कारमा पर्ने जस्ता समस्यसँग उहाँ जुद्धै आउनु भएको थियो ।

घलेगाउँ (लमजुङ)– प्रजातन्त्र सेनानी एवम् सांस्कृतिक अभियन्ता लिलबहादुर घलेको आफ्नै निवासमा निधन भएको छ । क्ब्होलासोथार गाउँपालिका– ३ घले गाउँका स्थायी बासिन्दा, प्रजातान्त्रिक सेनानी संघ लमजुङका संस्थापक एवम् हालका सल्लाहकार घलेको घरमै कार्तिक ११ गते निधन भएको हो । उहाँ विभिन्न शारीरिक समस्याका कारणले करिब डेढ वर्षदेखि घर बाहिर निस्कन सक्नु भएको थिएन । उहाँ ८६ बर्षका हुनुहुन्थ्यो ।
भारतीय सेनाबाट जमदार अर्थात नायव सुवेदार पदबाट निवृत्त हुनुभएका उहाँ पञ्चायतकालमा साबिक घले उत्तरकन्या पञ्चायतको प्रधानपञ्च समेत हुनु भएको थियो । घलेउत्तर कन्या प्राविको विव्यसको अध्यक्ष हुनु भएका उहाँले सो विद्यालयको नयाँ भवन निर्माण तथा त्यसलाई मावि बनाउन विशेष योगदान गर्नुका साथै व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुभएको थियो ।
गाउँमा सामाजिक व्यक्तित्वका साथै सांस्कृतिक अभियन्ताका रुपमा समेत उहाँले स्थापित व्यक्तित्व निर्माण गर्नु भएको थियो । उहाँ घाँटु, कृष्णचरित्र तथा सेर्गा नाचका गुरु समेत रहनु भएका उहाँ मौलिक लोक संस्कृतिका पारखी(संरक्षक) हुनुहुन्थ्यो ।
घले गाउँ गा.वि.स.को नेपाली कांग्रेसका संस्थापक सभापति समेत रहनु भएका उहाँले २०४८ सालदेखि ०५७ सालसम्म नेतत्व गर्नु भएको थियो । त्यो बेलामा उहाँले काँग्रेसको गाउँ सभापति भए वापतमा पटक– पटक घर तोडफोड हुने, गाउँ बहिस्कारमा पर्ने जस्ता समस्यसँग जुद्धै आउनु भएको थियो । सामाजिक, शैक्षिक, सांस्कृति तथा राजनैतिक व्यक्तित्वका धनी घले घलेगाउँ पर्यटन विकास समितिको सल्लाहकार समितिको संयोजकका रुपमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट समेत सम्मानित हुनु भएको थियो ।
यसैगरी, भूपू सैनिक संघ, नेपाली काँग्रेस जिल्ला समितिका साथै प्रजातन्त्र सेनानी संघबाट समेत उहाँ सम्मानित हुनु भएको थियो ।
उहाँको निधन भएपछि नेपाली काँग्रेसका जिल्ला सभापति प्रदेश सभा सदस्य डा. टकराज गुरूङ, संविधानसभा सदस्य चन्द्र वहादुर कुंवर, महाधिवेशन प्रतिनिधि गमप्रसाद गुरूङ, सो पार्टीको गण्डकी प्रदेश संगठन विभागका निवर्तमान प्रमुख हरिप्रसाद बराललगायत पार्टीका नेता तथा कार्यकर्ता श्रद्धाञ्जली अर्पण गर्न घलेको निवासमा पुग्नु भएको थियो ।
उहाँको निधनमा प्रजातन्त्र सेनानी संघका जिल्ला अध्यक्ष दामोदर अधिकारीले एक शोक वक्तव्य प्रकाशन गर्नु भई स्वर्गीय घलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनामा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । त्यस्तै, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका अध्यक्ष नवराज पहाडीले पनि मौलिक लोक संस्कृतिका धरोहरका रुपमा रहनु भएका घलेको निधनले यो क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै उहाँका निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै उहाँले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।
बाबा कृष्ण घले र आमा फुरानी घलेका कान्छा सुपुत्रका रुपमा जन्मिनु भएका जमदार घलेका तीन दाजु र दई दिदीबैनी हुनुहुन्थ्यो । स्वर्गीय घलेकी श्रीमती नरकाशी गुरुङको ०७५ सालमै निधन भएको हो । उहाँका एक छोरा, तीन छोरी, चार नाती र सात जना नातिनीहरू हुनुहुन्छ ।
स्व. घलेको हिजै गुरुङ संस्कार संस्कृति अनुसार अन्तिम संस्कार गरिएको छ ।
हरि बरालको सहयोगमा ।

प्रकाशित मिति २०८३ कार्तिक १३, बिहीबार १३:३२ गते
हजुरको प्रतिक्रिया