कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले गरे शपथ ग्रहण : आठ बुँदे प्रतिवद्धता

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले गरे शपथ ग्रहण : आठ बुँदे प्रतिवद्धता

एजेन्सी

@antaranganews

२०८३ कार्तिक १२ गते बिहिबार ०८:०३

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गर्न लगाइएको छ ।

सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गर्नु भएको छ ।

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथां सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपामा शपथ लिदै आठ बुँदे प्रतिवद्धता समेत कार्तिक १२ गते गराइएको हो ।
आज सभापति गगन थापा बाहेकका निर्वाचितहरू सबैको शपथ भएको हो । सभापति थापाले गत बडादशैँको सप्तमीमै शपथ ग्रहण गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । सो क्रममा पार्टी सभापति गगन थापाले उनीहरूलाई शपथ गराउनु भएको हो ।
सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गर्नु भएको छ । थापाले वर्षौँदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदाताको घरदैलोमा पुगेर उनीहरूका गुनासा सुन्नुपर्ने बताउनु भएको हो । पार्टीलाई मत नदिनुको कारण खोज्दै असन्तुष्ट मतदातासँग संवाद गर्न र उनीहरूका प्रश्नको जवाफ दिन उहाँले नवनिर्वाचितहरूलाई आग्रह गर्नु भएको हो ।
नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेपछि नै २३१ सदस्यीय निर्वाचित कार्यसमितिले उक्त प्रस्ताव पारित गर्ने बुझिएको छ । कांग्रेस कार्यसमिति २९७ सदस्यीय हुनेछ । बाँकी सदस्यहरूको सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यद्वारा आठ बुँदे लिखित प्रतिज्ञा :
यसैबीच, नेपाली काँग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आठ बुँदे लिखित प्रतिज्ञा गरेका छन् । सभापति थापाले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने क्रममा सो प्रतिज्ञा समेत गराउनु भएको हो । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधानप्रति प्रतिबद्ध रहने, पार्टीको विधान र अनुशासन पालना गर्ने तथा ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को लक्ष्य पूरा गर्न सक्रिय रहने प्रतिज्ञा गरेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी, समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित लिखित प्रतिज्ञा गर्न लगाइएको छ ।
प्रतिज्ञाको स्वरुप :
१. म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै देश र जनताको हितलाई ध्यानमा राखी संविधानले तोकेका नागरिक कर्तव्यहरू इमानदारीपूर्वक पालना गर्नेछु ।
२. म नेपाली कांग्रेसको विधान, सिद्धान्त र ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ को लक्ष्यप्रति समर्पित रही पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्न सक्रियतापूर्वक तथा कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी पूरा गर्नेछु ।
३. म पार्टीको नीति तथा निर्देशनबमोजिम पार्टीका कार्यक्रम, अभियान र गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेछु ।
४. म पार्टीको अनुशासन पालना गर्नेछु तथा संगठनात्मक निर्णयको सम्मान गर्दै तिनको कार्यान्वयन गर्नेछु ।
५. म नेपालको संविधान तथा प्रचलित कानुनले निषेध गरेका कुनै पनि कार्यमा संलग्न हुने छैन र आफ्नो क्षमताअनुसार त्यस्ता कार्य रोक्न प्रयास गर्नेछु। साथै, पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहनेछु ।
६. म पार्टीको विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुने छैन र त्यस्ता गतिविधिविरुद्ध उभिनेछु ।
७. म सधैँ सत्यनिष्ठा, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहनेछु ।
८. म पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्नेछु ।
चार निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ रोकियो :
बायाँबाट क्रमशः मोहन बस्नेत, उमेशचन्द्र यादव, विनिता खड्का र सन्तोष चालिसेबायाँबाट फोटोमा ।
नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोकेको छ । १५औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर पनि सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तत्काल नगराइएको बताइएको छ । उनीहरूको पदलाई होल्डमा राखिएको एक पदाधिकारीले बताए । उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई शपथ नगराउने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
अर्का केन्द्रीय सदस्यविरुद्ध पनि उजुरी :
कांग्रेसको हालै सम्पन्न १५औं महाधिवेशनमा ३५ वर्षमुनि खुला समूहबाट निर्वाचित ईन्जिनियर हेमकाजी बस्नेतको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै उजुरी परेको छ । पराजित एक उम्मेदवारले आजै बिहान केन्द्रीय निर्वाचन समितिमा ईमेलमार्फत उजुरी दिँदै नेपाल इन्जिनियरिङ परिषद्का विवरण र अन्य प्रमाण संलग्न गरेको बताइएको छ ।
उजुरीमा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद्सँग प्रमाणपत्रको आधिकारिकता पुष्टि गरी अनियमितता भेटिए विधान र कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।
उजुर कर्ताले उजुरी पत्रमा भनेका छन्, ‘यस पत्रका साथ उपलब्ध तथ्य तथा कागजातहरू प्रमाणका रूपमा संलग्न गरेको छु । यस विषयलाई कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह वा राजनीतिक प्रतिशोधका रूपमा नभई पार्टीको प्रतिष्ठा, निष्पक्षता र संस्थागत मर्यादाको संरक्षणसँग सम्बन्धित गम्भीर सरोकारका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।’
यसअघि १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्य (खुल्लातर्फ) मा निर्वाचित सुशील भट्टविरुद्ध पनि उजुरी परेको थियो । उजुरीमा ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १३, बिहीबार २०:०३ गते
हजुरको प्रतिक्रिया