सिउरुङ(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिका– ३ को यहाँस्थित लताकुञ्ज आधारभूत विद्यालयको ७१औँ वार्षिकोत्सवका अवसरमा नवनिर्मित छ कोठे पक्की भवनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङज्यूको प्रमुख आतिथ्यता तथा PIN UK sf cwoif MBE Howard Green को विशेष आतिथ्यतामा उक्त कार्यक्रम कार्तिक १० गते सम्पन्न भएको हो ।
उक्त विद्यालयमा छ कोठे आरसीसी पक्की भवन मर्स्याङदी गाउँपालिका, पहा ट्रस्ट नेपाल र स्थानीय समुदायको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भई उद्घाटन गरिएको हो । शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक पूर्वाधारको विकास तथा सामुदायिक विद्यालयको सुदृढीकरणका लागि योगदान पुर्याउनुहुने मर्स्याङदी गाउँपालिका, पहा ट्रस्ट नेपाल, स्थानीय समुदायलगायत सम्पूर्ण सहयोगी महानुभावहरूप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष वखत बहादुर गुरुङले विद्यालय परिवार तथा गाउँलेकोतर्फबाट धन्यवाद दिनु भएको छ ।
उहाँका अनुसार सो विद्यालय भवनका लागि कुल १ करोड ६ लाख ६९ हजार १७८ रुपैयाँको लागतमा छ कोठे पक्की भवन निर्माण गरिएको हो । सो कार्यका लागि गाउँपालिकाबाट विशेष पहल भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भवन निर्माणका लागि पहा ट्रस्ट नेपालः ७६ लाख ६९ हजार १७८ रुपैयाँ, मर्स्याङदी गाउँपालिकाबाट २० लाख रुपैयाँ, स्थानीय समुदाय. १० लाख रुपैयाँ गरी कुल एक करोड छ लाख ६९ हजार १७८ रुपैयाँ खर्च भएको हो ।’
नवनिर्मित भवनले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै विद्यार्थीहरूका लागि सुरक्षित, व्यवस्थित र सहज सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वखत बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । जुन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू लगायत विभिन्न महानुभावले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८३ कार्तिक १३, बिहीबार ०७:३२ गते