फेरि बढ्न थाल्यो कोरोनाको सन्त्रास : भारतमा एक जनाको गयो ज्यान

फेरि बढ्न थाल्यो कोरोनाको सन्त्रास : भारतमा एक जनाको गयो ज्यान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ९ गते सोमबार ०८:०३

नेपालमा जिन सिक्वेन्सिङमा देखिएन जेएन. १, कस्तो छ सतर्कता ? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले जेएन.१ लाई लिएर आत्तिनुपर्ने अवस्था छैन भन्नुहुन्छ भने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसअघिका अनुभवहरूलाई हेरेर नयाँ सब भेरियन्टको जोखिमलाई नजरअन्दाज गर्न भने नमिल्ने बताउनु भएको छ ।

नयाँ सबभेरियन्ट ४१ देशमा सक्रिय

काठमाडौं– कोरोनाको सन्त्रास फेरि बढ्न थालेको छ । कोरोनाको नयाँ सब भेरियन्ट जेएन. १ विश्वका ४१ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का पुस ९ गते जनाएको हो ।
डिसेम्बर २३ सम्म ४१ देशमा जेएन.१ का केसहरू रेकर्ड गरिएको डब्लूएचओले जनाएको छ । अमेरिकामा पछिल्ला दिनहरूमा यही सब भेरियन्टका कारण कोरोना संक्रमित तीव्र बन्दै गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो दुई सातामा मात्रै संक्रमितको संख्या दोब्बरले थपिएको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ । उसका अनुसार जसमा ४४ प्रतिशत जेएन. १ बाट संक्रमित छन् ।
डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा मात्रै जेएन. १ देखिएको सीडीसीको रिपोर्ट छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोरोना संक्रमण पुष्टि, एकको गयो ज्यान :
यसैबीच, छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा जेएन. १ बाट संक्रमित ६३ जना रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ५४ छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण केरलामा एकजनाको मृत्यु भएको छ ।
कोडिभ– १९ को सब– भेरियन्ट जेएन.१ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भारतमा देखिएका संक्रमितहरूमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्ससँग बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा श्वासप्रश्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ ।
कोरोनाको नयाँ सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको डब्लूएचओले जनाएको छ । उसका अनुसार नयाँ भेरियन्टबारेमा आफूले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा राख्ने गरेको छ ।
भारतमा कोभिड– १९ बाट हालसम्म संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ । संक्रमितमध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना कोरोना जित्न सफल भइसकेका छन् । त्यस्तै, मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ छ ।
के छ नेपालमा सतर्कता ?
जेएन.१ विश्वका ४१ देशमा फैलिएसँगै नेपलमा यसको जोखिमबारे चासो बढेको छ । नेपालले यसलाई हालसम्म हवाई यात्रा र स्थलगत सीमा हुँदै भारतबाट भित्रिनेहरूका लागि यात्राको कुनै थप मापदण्ड तोकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताउनु भयो । उहाँका अनुसार अहिले जेएन.१ लाई लिएर आत्तिनुपर्ने अवस्था छैन । उहाँले भन्नुभयो, ‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नु पर्ने अवस्था छैन ।’
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसअघिका अनुभवहरूलाई हेरेर नयाँ सब भेरियन्टको जोखिमलाई नजरअन्दाज गर्न भने नमिल्ने बताउनु भएको छ । उहाँका अनुसार विशेषगरी सीमा नाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्छ ।
जिन सिक्वेन्सिङमा देखिएन जेएन. १ :
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले पछिल्लोपटक संकलन गरिएका नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा जेएन.१ नदेखिएको एनपीएचएलले पुष्टि गरेको छ । एनपीएचएल निर्देशक डा. रञ्जनराज भट्टले १४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको जेएन.१ फेला नपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नयाँ सब भेरियन्टबारे चिन्तित नहुन तर यसअघिका संक्रमणका लहरहरूमा जस्तै व्यक्तिगत सुरक्षाका मापदण्ड भने अपनाउन अनुरोध छ ।’

प्रकाशित मिति २०८० पुष ९, सोमबार २०:०३ गते
हजुरको प्रतिक्रिया