काठमाडौं– लागुऔषध चरेशको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेका देवेन्द्रविक्रम रोका छपालीको सबै सम्पत्ति जफत हुने भएको छ । विशेष अदालतले उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा उनको सबै सम्पत्ति जफत गर्ने फैसला पुस १६ गते गरेको हो ।
छपालीको नेतृत्वमा करिब चार दशकदेखि उनीहरूले लागुऔषधको गिरोह नेपालमा सञ्चालन गरेको अनुसन्धानबाट पुष्टि भएको छ । हाल काठमाडौं सीतापाइलामा बसोबास भएका छपालीले ४५ वर्षसम्म चरेश तस्करीमा संलग्न गरेको सम्पत्ति जफत फैसला भएको हो । सिरक र डस्नामा चरेश राखेर विभिन्न मुलुकमा लामो समयदेखि पठाउने र त्यहाँबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो ।
विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर गरेको हो । एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ शंकास्पद कारोबार (लागूऔषध चरेस) बाट गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा छपाली र उनकी पत्नी चन्द्रा रोकासहित ७ जनाविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेको थियो । उनको घरसहितको सम्पत्ति जफतको २०७७ को असोजमा मुद्दा दायर भएको थियो । विशेष अदालतले दोषी ठहर गरेपछि उनको सम्पत्ति जफतको बाटो खुलेको हो ।
सम्पत्ति शुद्धीकरणले आपराधिक कार्यबाट छपालीसहित नागेन्द्र थापामगर, गोविन्दकुमार रोका छन्त्याल, मनजित घर्तीमगर, जबम भोट, माइला असेङ भन्ने इन्द्रबहादुर थिङसमेतको सहयोगमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरू सबै दोषि ठहर भएका छन् ।
अभियुक्त छपाली र उनकी पत्नी चन्द्रा रोकाविरुद्ध १ करोड ५ लाख ७२ बिगोसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण कसुर अपराधमा उनीहरूले खरिद गरेको घरजग्गा, टाटा मोबाइल गाडी, बैंकमा मौज्दात रकम रोक्काको माग गरिएको थियो ।
म्याग्दीको विकट गाउँमा सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएका उनीले काठमाडौंमा आएर लागुऔषधको कारोबारलाई मुख्य पेसा बनाएको देखिएको छ ।
२०६९ सालमा चरेस मुद्दा दायर भई काठमाडौं जिल्ला अदालतबाट पटके सजायसमेत २ वर्ष ८ महिना कैद र २५ हजार जरिबाना भएको थियो भने अन्य प्रतिवादीविरुद्ध दुई कैद र १५ हजार जरिवाना तथा सवारीसाधन जफत हुने फैसला भएको थियो ।
अभियुक्त छपालीको कतिपय बैंकमा तीन वटासम्म खाता खोलेर कारोबार गरेको पनि पाइएको छ । २०६४ साल पछिको काराबोरमा ५ करोड ५२ लाख ३५ हजार रहेको भेटिएको छ । ती बैंकमा उनको १३ वटा बैंकमा ब्याजसमेत गरी ६४ लाख ६६ हजार त मौज्दात रहेको देखिएको छ ।
वैधानिक स्रोतबाट प्राप्त गरेका भन्ने कहीँ कतैबाट नखुली लागुऔषधको अवैध कारोबारबाट आर्जन गरेको देखिन आएको विभागले दायर गरेको आरोप पत्रमा उल्लेख थियो । २०४८ साल असोज १६ मा सीतापाइलामा ७ रोपनी ५ आना २ पैसा जग्गा इन्द्रबहादुर तामाङबाट छपालीको नाउँमा दर्ता कायम रहेको पाइएको छ ।
२०६९ सालमा उनीहरू पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरी छुटेका थिए । प्रहरीका अनुसार देवेन्द्र २०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न हुँदै आएका छन् । बागलुङ स्थायी घर भएका उनी २०३८, २०४२ र २०६९ सालमा पक्राउ परेकोमा उनी तीनै पटक दोषी ठहर भएका थिए ।
२०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदा क्यानडामा चरेश तस्करी गर्दै आएको खुलेको थियो । प्रारम्भिक छानबिनमा उनको करोडौं सम्पत्ति भेटिए पनि विभागले चलखेलका आधारमा एक करोडको मात्र बिगो दाबी गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा लागुऔषधको कारोबारबाट कृषि विकास बैंकसहित १३ वटै बैंकमा खाता खोलेर पैसा राखेको भेटिएको प्रहरी भनाइ छ । जापान तथा हङकङलगायतका विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । उनको सीतापाइलामा बंगला रहेको छ । विभिन्न ठाउँमा जग्गा खरिद गरेका छन् ।
प्रकाशित मिति २०८० पुष १९, बिहीबार १०:०३ गते