काठमाडौं– कोरोना भारइसको नयाँ सव– भेरियन्ट जेएन– १’ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटा नमुनामा परीक्षण गर्दा जेएन.– १ पुष्टि भएको जानकारी पुस २३ गते दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभिन्न ठाउँहरूबाट अघिल्लो दिन संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.– १ पुष्टि भएको ओमिक्रोनकै सब भेरियन्ट भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले नेपालमा पनि नयाँ भेरियन्ट फेला परेको उल्लेख गर्दै मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ । साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ ।
पछिल्लो समय छिमेकी भारतमा पनि जेएन– १ भेरियन्ट सक्रिय हुँदा संक्रमितको जोखिमसँगै संख्या पनि बढेको छ ।
विश्वका केही देशहरूमा कोभिड– १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको र छिमेकी देशहरूमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सबैलाई अपिल गरेको छ ।
कोभिड– १९ को नयाँ भेरियन्ट जेएन.वान् परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ले गर्दा तीव्र र छोटो अवधिमा फैलिने गर्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जेएन.वान् भेरियन्ट पहिलो पटक सेप्टेम्बर अमेरिकामा पत्ता लागेको थियो । यो ओमिक्रोन भेरिएन्टको ‘सब भेरिएन्ट’ हो ।
प्रकाशित मिति २०८० पुष २४, मंगलवार ०६:४१ गते