सुन्दरबजार(लमजुङ)— लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरूको दुई समूहका बीच झडप भए हुँदा ११ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरू बीच माघ २७ गते झडप हुँदा चार जना गम्भिर घाइते भएका हुन् । घट्नामा धाइते हुनुभएका निमित्त क्याम्पस प्रमुख खनाल पनि थप उपचारका लागि २८ गते विहान पोखरा प्रस्थान गर्नु भएको छ ।
सो झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित ११ जना विद्यार्थीहरू घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ । उनीहरूमध्ये गम्भीर घाइते भएका ४ जनामध्ये थप उपचारका लागि दुई जना पोखरा र दुई चितवन पठाइएको छ । अन्य घाइतेहरूको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् । घाइतेहरू विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा पठाइएको हो ।
क्याम्पसमा विद्यार्थीहरू बीच हानाहान भएको निमित्त क्याम्पस प्रमुख खनालले बताउनु भयो । उहाँका अनुसार त्यस क्रममा विद्यार्थीहरूले फलामे रड र क्रिकेटको व्याट लगायतले एक अर्कालाई प्रहार गरेका थिए ।
अन्य घाइते विद्यार्थी ७ जना स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी हिजै डिस्चार्ज भएका छन् ।
नमुना सामुदायिक अस्पतालमा उपचारका लागि आएका दुई जनालाई रिफर गरिएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दुई जनाले ठूलो ठाउँमा जान्छु भने र गए । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालबाट लिखित रुपमा रिफर भएको दुईजना मात्र हो ।’
नेविसंघ र अनेरास्ववियुमा विभाजित विद्यार्थीहरू बीच विद्यार्थी भर्नाका विषयमा विवाद हुँदा झडप भएको भएको बताइएको छ । सो क्याम्पसमा आउँदो फागुन ८ गतेदेखि बीएसएजीको कक्षा सञ्चालन हुने कार्यक्रम छ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको बताइन्छ । घटनापछि क्याम्पसले एक सूचना जारी गरी अनिश्चित कालका लागि छात्राबास खाली गराइएको छ भने सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी खटाइएको छ ।
क्याम्पसमा भर्ना हुन आएका नयाँ विद्यार्थी महेश साउदलाई अखिल विद्यार्थी संगठनले तनहुँको डुम्रेबाट नै कब्जा गरी लिएर आएको र नेबिसंघका विद्यार्थीहरूसगँ भेटघाट समेत गर्न नदिएको भन्दै झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।
क्याम्पसको पठन पाठन पनि स्थगित गरिएको जनाइएको छ ।
घट्नाको खबर आएसँगै क्याम्पसमा प्रहरी पुगेको त्यसपछि ऐलेसम्मको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो ।
उक्त क्याम्पसमा यसरी नेबीसंघ र अखिलका बीचमा झडप भएको यो पहिलो घट्ना भने होइन । प्रायः हरेक वर्ष त कहिलेकाहीँ वर्षमा दुई तीन पटक पनि झडप हुने र हप्तौंसम्म क्याम्पस बन्द हुने विगत साक्षी छ ।
प्रकाशित मिति २०८० माघ २८, आईतवार ०८:२५ गते