पामचोक(लमजुङ)– लमजुङमा आएको हुरीबतासले एक विद्यालयको छाना उडाएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ पामचोक स्थित सरस्वती सदन आधारभूत विद्यालयको छाना बैशाख ४ गते साँझ आएको हुरीबतासले उडाएको हो ।
चैते दशैंको दिन साँझपख ५ बजेतिर आएको हुरीबतास र पानीले विद्यालयको छाना उडाएर काम नलाग्ने बनाएको प्रधानाध्यापक रामचन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार ८६ वटा जस्ताले विद्यालयको छाना छाइएको थियो । उहाँले भन्नुभयो, ‘हुरीबतासले विद्यालयको छाना उडाउनुका साथै बाल कक्षा र यूकेजी कक्ष जलमग्न बनाएको छ ।’ पानीले कक्षाकोठामा भित्तामा सजाइएका विभिन्न पाठ्यसामग्री, विछ्याइएका म्याट्रेस, कार्पेट, भित्ताका लेखनहरू समेत नष्ट पारेको घिमिरेले जनकारी दिनुभयो ।
हुरीबतासले उडाएका जस्ता काम नलाग्ने बनाएको हुुँदा छाना छाउन विभिन्न निकायमा हारगुहार गरेका गरिएको प्रधानाध्यापक घिमिरेले उल्लेख गर्नुुभयो । उहाँका अनुसार भोलिपल्ट विद्यालय व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, विभिन्न संघसंस्थालाई सहयोग माग गर्ने निर्णय गरिएको छ ।
शैक्षिक सत्र सुरु भएर उत्साहपूर्वक विद्यार्थी भर्ना अभियान चलिरहेको बेला विद्यालयमा विपदमा पर्दा समस्या थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले बताउनुभयो ।
विद्यालयमा चालु शैक्षिक सत्रबाट बालबालिकाको वृद्धि विकास र पठनपाठनलाई सहजीकरण गर्न किण्डर गार्डेन कक्षा सञ्चालन गर्ने र प्रथामिक तहमा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालनको तयारी गरेको थियो ।
उक्त विद्यालय २०३० सालमा स्थापना भएको हो ।
प्रकाशित मिति २०८१ बैशाख ६, बिहीबार ०८:३३ गते