रास्वपामा कार्यवाहक महामन्त्री र प्रवक्ता कबिन्द्र बुर्लाकोटी र मनिष झा

रास्वपामा कार्यवाहक महामन्त्री र प्रवक्ता कबिन्द्र बुर्लाकोटी र मनिष झा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २३ गते शनिवार ०८:०६

सभापतिप्रति रुष्ट देखिनु भएका ढकालले सभापति रविलाई भेट्नुभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गर्नु भएको छ ।

बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको अस्वभाविक गतिविधिमाथि प्रश्न उठाएका थिए ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिएको छ । महामन्त्री डा. मुकुल ढकालले अभद्र, अमर्यादित व्यवहार देखाएपछि उहाँलाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटी र प्रवक्तामा झालाई असार २० गते जिम्मेवारी दिइएको हो ।
पार्टीको अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले ढकाललाई सोही दिन एक साताका लागि निलम्बन गरेको थियो । डा. ढकालले अस्वभाविक तथा पदीय मर्यादा विपरितका गतिविधि गरेका कारण निलम्बन गरिएको एक पदाधिकारीको भनाइ छ । उनका अनुसार प्रतिवेदन केन्द्रीय समितिमा छलफल हुन अगावै मिडियामार्फत सार्वजनिक गर्ने, बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोल्ने कार्य गरेको हुँदा पार्टीले कारबाही गर्नु परेको हो । उनले भने, ‘बैठकमा अमर्यादित, अभद्र र अनुशासनहीन व्यवहार देखाएको ठहर गर्दै कारबाहीका लागि निर्णय गरेको हो ।’
पार्टी उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी गरिएको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ ।
मुकुल ढकाल निलम्बनमा परेसँगै पार्टीको केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सह–प्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
महामन्त्री ढकाल उक्त बैठकमा मुखमा मास्क बाहिर कालो टेपको क्रस लगाएर सहभागी हुनुहुन्थ्यो ।
बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको अस्वभाविक क्रियाकलापमाथि प्रश्न उठाएका थिए ।
इलाममा पार्टीले हारको मार खेप्नु परेको विषयमा महामन्त्री ढकालले एक महिने देश दौडाह(३८ जिल्ला)पछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको हो । ३२ पेज लामो समीक्षा यात्रामा तयार पारेको प्रतिवेदनमा उनले पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ ।
डा. ढकालले बैठकको प्रत्यक्ष प्रसारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाउनु भएको थियो । समीक्षा यात्राको प्रतिवेदनबारे सो दिन बिहानदेखि राति १२ बजेसम्म बैठकमा छलफल भएको केन्द्रीय सदस्य सोविता गौतमले बताउनु भयो । उहाँका अनुसार केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकुल पार्ने अभिव्यक्ति दिँदै हिँड्नु भएको हुँदा निलम्बन गर्ने निर्णय गरिएको हो । गौतमले भन्नुभयो, ‘तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।’
डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ । उहाँका अनुसार ‘सभापतिसँग भेट्नुभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो छ,’ रहेको टिप्पणी छ ।
पार्टीको मूल विचार एउटै हुनुपर्ने र विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा दुबिधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा पार्टीका कदमहरूमा राजनीति नदेखिइएको ढकालको दावी छ ।
‘पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखियो । पार्टीको मूल विचार एउटै हुनपर्छ, मूल विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा दुबिधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा पार्टीका कदमहरूमा राजनीति देखिन सकेन ।’ सो प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति २०८१ असार २२, शनिबार ०८:०६ गते
हजुरको प्रतिक्रिया