बेसीशहर– डिभिजन वन कार्यालय लमजुङद्वारा वार्षिक कार्य प्रगतिको प्रस्तुति सहितको सार्वजनिक सुनुवाई गरिएको छ । चालु आव २०८०÷८१ को अन्तिम क्षणमा सो कार्यालयले जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख तथा सहायक प्रजिअ गोकर्णराज सुयलको विशेष आतिथ्यतामा सो कार्यक्रम असार २७ गते गरेको हो ।
कार्यालयबाट चालु आवमा गरेका वार्षिक कार्यप्रगतिका बारेमा समीक्षा, पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना मस्यौदा उपर छलफल र सार्वजनिक सुनुवाई कार्यक्रमका बारेमा सो कार्यालयका प्रमुख दिपकप्रसाद पण्डितले फोटो सहितको कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा कबुलियति वनलाई उद्देश्य अनुरुप गरीबी निवारणमा उपयोग गर्न नसकिएको, ७१ वटा सामुदायिक वनको नवीकरण नभएको, डडेलोले क्षति पुर्याएको, पोखरी निर्माणको एउटै पनि योजना वन कार्यालयले माग नगरेको भएता पनि प्रदेश र संघबाट योजना र बजेट आएको, आजका दिनमा पनि तीनवटा डिभिजन कार्यालय भाडामा रहेको, पुराना भवनको मर्मतका लागि समेत पर्याप्त बजेट पाउन नसकेको तर पोखरी निर्माण एउटैमा ३० लाखसम्म पनि बजेट आएको जस्ता प्रसङ्ग औंल्याइएको थियो ।
सो अवसरमा सञ्चारमाध्यमलाई विभेद गरी सीमित संख्यामा पत्रकारलाई बोलाइएको, कार्यालयका नाम नै फेर्ने हो कि ? निर्माण गरिएका पोखरीको व्यवस्थापन के कसरी हुन्छ ? नवीकरण नभएका सामुदायिकले गरेका काम वैध हुन्छन् कि हुँदैनन् ? अवैध सञ्चारमाध्यमलाई समेत विज्ञापनको भुक्तानी दिने गरेको, सर्वसाधारणले आफ्नो खेतबारीमा हुर्काएको रुख काट्न भोलिपल्टै पुग्ने वनका कर्मचारी, डडेलो लागेर पाखो नै नाङ्ग बनाउँदा पनि वनका कर्मचारी बेखर सहर सुत्ने गरेको अर्थात डडेलोका बारेमा चासो र चिन्ता गर्ने नगरेको २, ४ जना डडेलो लगाउनेलाई कारवाही गरेमा डडेलो लाग्ने क्रममा न्यूनिकरण हुने हुँदा यसतर्फ ध्यान दिन पत्रकारहरूले सुझाव राखेका थिए ।
सो अवसरमा डिभिजन वन कार्यालय लमजुङले शून्य बजेटमा पनि चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरेकामध्ये उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ र डिभिजन वन कार्यालयका प्रमुख दिपकप्रसाद पण्डितले टिका र प्रशंसापत्रबाट कर्मचारीलाई सम्मान गर्नुभएको हो ।
कार्यालयले डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत एवम् सूचना अधिकारी सन्तोष खनाल, लेखा अधिकृत विष्णुहरी न्यौपाने, सवडिभिजन कार्यालय राइनास–दुधपोखरीका फरेष्टर खुमराज थापा, सव डिभिजन वन कार्यालय मध्यनेपालका वनरक्षक इन्द्रबहादुर घर्ती र डिभिजन वन कार्यालयका सवारी चालक रामजी वास्ताकोटीलाई सम्मान गरेको हो ।
चालु आर्थिक वर्षमा अन्य कर्मचारीभन्दा बढी सन्तोषजनक काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको डिभिजन वन अधिकृत दिपकप्रसाद पण्डितले बताउनुभयो । वन संरक्षण, कार्यालयबाट भएका निर्देशनको कार्यपालना, कुशल नेतृत्व गरी वन संरक्षण, संवद्र्धन र व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीको हौसला प्रदान गर्न र मनोबल बढाउन सम्मान गरिएको उहाँको भनाइ छ ।
कार्यालयले प्रत्येक वर्ष आर्थिक वर्षको अन्तिममा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति २०८१ असार २९, शनिबार १०:४३ गते