एजेन्सी– चीनको कम्युनिष्ट सरकारले राष्ट्रपति सी चिनफिङलाई च्याट– ग्रुपमा आलोचना गरेपछि सरकारी थिंक–ट्यांकका एक अर्थशास्त्री केही महिनादेखि वेपत्ता भएका छन् । चाइनिज एकेडेमी अफ सोसल साइन्सेसमा पछिल्लो एक दशकदेखि उपनिर्देशक रहेका ५५ वर्षीय झु हेङपेङ केही महिनादेखि वेपत्ता भएको रहस्य असोज ९ गते खुलेको हो ।
ती अर्थशास्त्रीलाई गत अप्रिलमा एउटा वित्तीय विषयबारे लेख्ने मिडियाले आयोजना गरेको कार्यक्रमपछि सार्वजनिक रूपमा देखिएको छैन भन्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ । ती अर्थशास्त्रीले वि–च्याटको एउटा गोप्य समूहमा केही महिनाअघि चीनको अर्थतन्त्र र राष्ट्रपतिको कडा आलोचना गरेका थिए । सो थिंक–ट्यांकले स्टेट काउन्सिल (चीनको मन्त्रिपरिषद) अन्तर्गत रहेर काम गर्छ ।
सो समाचारमा उनको ठेगानामा र चिनियाँ मन्त्रिपरिषदको सूचना शाखामा उनीबारे सोधखोज गर्दा उनी कहाँ छन् भन्ने नखुलेको उल्लेख छ । द गार्डियनले पनि सो थिंक–ट्यांकले उनीबारे प्रश्नहरूको जबाफ नदिएको आफ्नो मसाचारमा उल्लेख गरेको छ । पछिल्ला वर्ष चीनको अर्थतन्त्र शिथिल भएको परिप्रेक्ष्यमा सीले अर्थतन्त्र राम्ररी नचलाएको भनेर झुले च्याट–ग्रुपमा प्रतिक्रिया जनाएका थिए । उनले अप्रत्यक्ष रूपमा सीको मृत्युबारे पनि बोलेको भनेर एक स्रोतलाई उद्धृत गर्दै जर्नलले लेखेको छ ।
यो घटनाले कम्युनिस्ट शासीत देश चीनमा नेतृत्वको आलोचना रूचाइन्न भन्ने फेरि पनि पुष्टि भएको छ । सीले सन् २०१३ मा शासन गर्न थालेपछि उनको आलोचना निषेध गरिएको छ । उनी र उनको नीतिको आलोचना गर्नेलाई कारबाही गरेर पदबाट हटाउने मात्रै हैन देश निकाला र जेल सजायसम्म पनि दिने गरिन्छ ।
अप्रिलमा सो मिडियाले आयोजना गरेको कार्यक्रमपछि उनले मे २५ मा सिन्घुआ युनिभर्सिटीको सेन्टर फर इण्डष्ट्रियल डेभेलपमेन्ट एण्ड इन्भाइरोमेन्ट गभर्नेन्सले आयोजना गरेको कार्यक्रममा बोल्ने तय थियो । सो सेन्टरको प्राज्ञिक समितिको उनी सदस्य पनि हुन् । तर उनी सो कार्यक्रममा देखिएनन् समाचारमा भनिएको छ ।
तर त्यो सेन्टरले सो कार्यक्रमबारे तयार पारेको प्रतिवेदनमा उनी वक्ता वा सहभागी भएकोबारे केही पनि नजनाएको र उनको ठाउँमा अर्का प्राज्ञले बोलेको जर्नलले औंल्याएको छ । उनको नाम उनले काम गर्ने सरकारी थिंक–ट्यांक र मेको कार्यक्रम आयोजना गर्ने सेन्टरको वेबसाइटबाट पनि हटाइएको छ ।
चीनमा महत्वपूर्ण सरकारी ओहोदामा भएका अधिकारीलाई कम्युनिस्ट पार्टीले कारबाही गर्दा उनीहरू सुरूमा एकाएक सार्वजनिक स्थलमा नदेखिएर हराउने गर्दछन् । गत वर्ष एक महिनासम्म सार्वजनिक कार्यक्रममा नदेखिएपछि चिनियाँ विदेश मन्त्री छिन काङलाई पदबाट हटाउने काम भएको थियो ।
गत वर्ष जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि छिन काङ सार्वजनिक रूपमा हप्तौंसम्म देखिएका थिएनन् । सुरूमा उनी स्वास्थ्यका कारण नदेखिएका भनिएको थियो । तर एक महिनापछि कुनै कारण नदेखाई उनलाई विदेश मन्त्रीबाट हटाइएको थियो । छिन काङलाई विदेश मन्त्रीबाट हटाउँदा कुनै कारण नदेखाए पनि पार्टीका ‘वरिष्ठ नेताहरूलाई भने ‘जीवनशैलीमा समस्या’ भएकाले हटाइएको भनेर ब्रिफिङ गरिएको थियो भनेर पश्चिमा मिडियाहरूले लेखेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीले यौनजन्य विचलनलाई ‘जीवनशैलीमा समस्या’ भन्ने गर्छ । छिन काङको विवाहेत्तर सम्बन्धका कारण उनलाई विदेश मन्त्रीबाट हटाइएको चर्चा चलेको थियो । त्यतिबेला उनलाई विदेश मन्त्रीबाट हटाइए पनि पार्टीको पदबाट हटाइएको थिएन ।
तर कम्युनिस्ट पार्टीले उनलाई पछि केन्द्रीय सदस्यबाट पनि हटाएको थियो । छिन काङलाई हटाउनेबारे यो वर्ष जुलाईको सुरूमा भएको पोलिटब्युरो बैठकमा सल्लाह भएको थियो । पछि केन्द्रीय समितिको चार दिने तेस्रो प्लेनरी सत्रले सो निर्णय पारित गरेको थियो । कम्युनिस्ट शासन भएको चीनमा शक्तिशाली पदबाट हटाइएका नेताहरूलाई भ्रष्टाचार वा अरू कुनै अभियोग लगाएर जेल हाल्ने गरिन्छ । तर हटाइएको निर्णयमा उनले राजीनामा दिएको जनाइएको र उनलाई कमरेड भनेरै सम्बोधन गरिएकाले पार्टीबाट भने ननिकालिएको अनुमान गरिएको थियो ।
पछि ५८ वर्षीय छिन काङलाई घटुवा गरेर विदेश मन्त्रालय अन्तर्गतको ‘वल्र्ड अफेयर्स प्रेस’मा निम्न ओहोदामा खटाइएको खुलासा भएको थियो ।
प्रकाशित मिति २०८१ आश्विन ११, शुक्रबार १०:२५ गते