
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरूमा विगतका चार वर्ष यता सामाजिक परीक्षण कार्य गरिएको भए पनि विगतका वर्षमा त्यस्तो कार्य गुपचुपमा गर्ने गरिएस्को खुलासा भएको छ । आज आयोजित सो सम्बन्धि आम भेलामा त्यस्तो स्थिति असार १२ गते खुलासा भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत निर्मल अधिकारीले नेपालका ७५३ स्थानीय तह मध्ये १२ वटा स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाको सामाजिक परीक्षणमा सुन्दबजार छनौटमा परेको बताउनु भएको थियो । उहाँले पछिल्ला चार बर्ष यता सुन्दरबजारका स्वास्थ संस्थाहरूमा सामाजिक परीक्षण गरिदै आएको जानकारी दिनु भएको थियो ।
तर भेलामा सहभागीहरूले अघिल्ला बर्ष के कसरी सामाजिक परीक्षण भएको थियो भन्ने कुनै जानकारी समेत नभएको गुनासो गर्दै प्रश्न उठाएका थिए । यस प्रकार सामाजिक परीक्षण कागजमा मात्र सिमित रहेको अवस्थामा संकल्प अध्ययन केन्द्रले यो वर्ष आवश्यक सम्पूर्ण विधि र प्रक्रिया पुरा गरी तयार गरेको नतिजा सार्बजनिक गरेको हो । यो वर्षको प्रतिवेदनबाट भने आफूहरू सन्तुष्ट रहेको जानकारी दिएका थिए । सामाजिक परीक्षणका विधि चरणहरू बारे जान्ने अवसर पाएको समेत भेलाका सहभागीहरूले बताएका थिए ।
यो वर्ष सुन्दरबजार नगरपालिका भित्रका छ वटा स्वास्थ्य संस्थामा सामाजिक परीक्षण गरिएको थियो । त्यस परीक्षणको निष्कर्ष सार्वजनिक गर्न आयोजित आम भेलामा सेवा सुधारका गम्भीर सवालहरू समेत असार १२ गते उठाइएको थियो ।
सुन्दरबजार नगरपालिकाको सभाहलमा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना सो प्रतिवेदन सार्वजनिक गरिएको हो । संकल्प अध्ययन केन्द्र, काठमाडौँको प्राविधिक सहयोगमा सामाजिक परीक्षण गरिएको हो ।
सु्न्दरबजार नगरपालिका– १ को कुन्छा स्वास्थ्य चौकी, वडानं– ३ को दुराडाँडा स्वास्थ्य चौकी, वडानं– ६ को खत्रीठाँटी स्वास्थ्य चौकीका सार्थै वडानं– ७ स्थित सुन्दरबजार अस्पताल तथा वडानं– ८ मा रहेको शहरी स्वास्थ्य केन्द्र भोटेओडार वडानं– ११ को सिन्दुरे स्वास्थ्य चौकीमा समाजिक परीक्षण गरिएको हो । सो परीक्षणका अवसरमा प्राप्त नतिजाहरूको सार्वजनिक गर्ने कार्य आज गरिएको हो ।
नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला प्रमुख अतिथिको रुपमा सहभागिता थियो । प्रतिवेदनको सार्वजनिकीकरण सुनेपछि मेयर कोइरालाले सामाजिक परीक्षणलाई सेवा सुधारको आधारशीला भएको बताउँदै स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको बताउनु भयो । सामाजिक परीक्षणबाट आएका सुझाव र गुनासोलाई पालना गर्दै नीति तथा कार्यक्रम बनाउदै जाने र जनगुनासो समाधान गर्नु आफूहरूको कर्तव्य भएको मेयर कोइरालाको प्रतिवद्धता थियो ।
यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा प्रभावकारिताका लागि नागरिकको प्रत्यक्ष सुझावलाई प्राथमिकता दिइने बताउनु भयो । उहाँले संरचनागत सुधारसँगै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सामाजिक परीक्षणले देखाएको कमजोरीलाई सुधार्न आफूहरू तयार रहेको उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा सामाजिक परीक्षण संस्थाका प्रतिनिधि विराट न्यौपानेले स्वास्थ्य सेवाको अवस्था, उपलब्धि र चुनौतीबारे विस्तृत प्रस्तुति गर्नु भएको थियो । उहाँले स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीको उपस्थिति नियमित देखिए पनि औषधिको उपलब्धता तथा भौतिक संरचना अभाव रहेको, भवनहरू संरचना अपांगमैत्री तथा जेष्ठनागरिक मैत्री संरचना नभएको, स्वास्थ्य संस्थाहरूमा समेत सरसफाईमा ध्यान दिएको स्थिति नभएको पाइएको थियो । त्यतिमात्र हैन सेवाग्राहीसँगको व्यवहारमा सन्तोषनजनक भनएकोसमेतका मिश्रित प्रतिक्रिया पाइएको जानकारी न्यौपानेले आफ्नो प्रस्तुतीकरण मार्फत खुलासा गर्नु भएको थियो ।
कतिपय ठाउँमा सेवा उपयोग दर बढ्दो छ तर संरचनागत समस्या, अपाङ्गमैत्री पहुँचको अभाव अझै समाधान हुन नसकेको समेत प्रस्तुतिकरणको प्रमुख विषय बनेको सहभागिहरू गुनासो थियो । यो परीक्षणबाट प्राप्त नतिजाहरूमा स्थानीय तह र सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने र प्रतिबेदन सार्बजनिक गर्नु पर्ने धाराणा समते सहभागिहरूले राखेका थिए ।
भेलाको अध्यक्षता गर्नुभएका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले सामाजिक परीक्षणलाई आत्मसमीक्षा गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेर्नुपर्ने बताउनु भयो । उहाँले स्वयंसेविकादेखि अस्पतालसम्मका सबै पक्षले सुधारको संकल्प गर्नुपर्ने, आलोचना नभई सुधारको अवसरको रूपमा यो परीक्षण लिनुपर्ने उल्लेख गर्नुभयो ।
सामाजिक परीक्षणमार्फत प्रस्तुत तथ्य र सुझावहरूलाई आत्मसात् गर्दै नगरपालिकाले सेवा सुधारमा नीति निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । सहभागीको सक्रियता र नेतृत्वको खुला स्वीकारोक्तिले स्वास्थ्य सेवा सुधारतर्फ सकारात्मक संकेत देखिएको छ ।
यस्ता सामाजिक परीक्षणले स्वास्थ्य सेवा पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
भेलामा नगरपालिकाको विभिन्न शाखा प्रमुखहरू, पालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थी प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ असार १३, शुक्रबार २२:१५ गते