
काठमाडौं– अनुमानका आधारमा समाचार तथा टिप्पणी नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सचिवालयद्वारा कार्तिक १२ गते जारी विज्ञप्तिमा त्यस्तो उल्लेख छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्तो उल्लेख भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित/प्रसारित भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । उक्त अधिकारको सम्मान गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न तथा पत्रकारिताको व्यावसायिक आचारसंहिता एवम् नागरिकप्रति राज्यको चौथो अंगको जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सबै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अनुरोध गर्दछ ।’
सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित छ । नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ भन्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध जिम्मेवार सुरक्षा संगठन हो । प्रचलित कानुन बमोजिमको जिम्मेवारी पुरा गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादन माथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १४, शुक्रबार ०७:०७ गते