
बोराङखोला(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को राइनास नगरपालिका– १ को वडाअधिवेशन सम्पन्न भएको छ । सो दलका जिल्ला उपसभापति सन्तोषी गौलीको उपस्थितिमा उक्त अधिवेशन कार्तिक ७ गते सम्पन्न भएको हो ।
जिल्ला सदस्य शर्मिला विकको समेत उपस्थिति रहेको अधिवेशनको उदघाटन सत्रमा सोही नगरका सभापति धनबहादुर गुरुङको अध्यक्षता तथा नगरका उपसभापति अर्चना थापाले स्वागत गर्नु भएको थियो । नगर सचिव बासु पाठकले सञ्चालन गर्नु भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि शुभनाथ चिलुवालको संयोजकत्वमा जिल्ला प्रतिनिधि एकनारायण श्रेष्ठ तथा नगर सदस्य मेनुका थापा सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
सो अवसरमा जिल्ला उपसभापति गौली र नगर सभापति गुरुङले देशको समसामयिक परिस्थिति, पार्टीका साथै सरकारका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
अधिवेशनको बन्द सत्रमा उत्तम न्यौपानेको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ समिति गठन गरिएको हो । न्यौपाने वडा तदर्थ समितिको समेत सभापति हुनुहुन्थ्यो ।
सो समितिको उपसभापतिमा चन्द्रकला अधिकारी, सचिव बोधनाथ घिमिरे चयन हुनु भएको छ । त्यस्तै समितिको सदस्यहरूमा राधिका अधिकारी, सन्तमान तामाङ, रामचन्द्र देवकोटा, मिठुमाया न्यौपाने, सपना खनाल, विष्णुबहादुर पौडेल, आइत सुनार र धनमाया सुनार चयन हुनु भएको नगर सचिव बासु पाठकले बताउनु भयो ।
उहाँका अनुसार कार्यक्रमका प्रमुख व्यक्तित्व गौलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराउनु भयो ।
उक्त वडामा रास्वपाको सदस्य संख्या केन्द्रीय डिजिटल पार्टलमा ३१ जना रहेको देखाएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ९, आईतवार ०८:१६ गते