म, खशी, भैंसी र फर्सी !

म, खशी, भैंसी र फर्सी !

ऋषिकेश घिमिरे

@antaranganews

२०८३ कार्तिक ५ गते बिहिबार ११:४५

०३८ सालको चैत्र १० गते पञ्चायती शाशकहरूले राजकाज अपराधको मुद्धा लगाई ललितपुरको नख्खु कारागारसम्मको बसाई लामै थियो । ०३९को बडादशैं साथी भाइसंगै सरकारले दिएको हण्डीमानै सन्तोष मानेर बिताउन पर्ने अवस्था थियो ।

बाल्यकालमा हामी जति रमाउँथ्यौ त्यो भन्दा बढी हाम्रो खुशी देखेर बा– आमा रमाउनु हुन्थ्यो ! हामीलाई बडादशैं चा–चाडो आई दिए हुन्थ्यो नि ! भन्ने लाग्थ्यो ।

बडादशैं धेरै प्रकारले मनाइयो, बाल्यकालमा बडादशैं आउँदा खुशीको सीमा हुन्थेन । बाले किनेर ल्याउनु भाको बोको, आमाले ढिकीका कुटेको च्युरा, पसलेले उधारोमा दिएको जाँगे र कमेज, घरमा थापेको पिर्के पिङ, दोबाटोमा थापेको लिङ्गे र रोगटे पिङसंग निकै रमाउथ्यौं । हामी जति रमाउँथ्यौ त्यो भन्दा बढी हाम्रो खुशी देखेर बा– आमा रमाउनु हुन्थ्यो ! हामीलाई बडादशैं चा–चाडो आई दिए हुन्थ्यो नि ! भन्ने लाग्थ्यो । खशीको मासु, च्युरा, नयाँ लुगा फाटो र दक्षिणा प्रकृतिलेनै दिएको उपहार जस्तो लाग्थ्यो ।
जसै दिन बित्तै गयो, बडादशैंको खुशी र रौनकले पनि रुप बदल्दै गयो । हाम्रो खुशीमा बा–आमा खुशी हुने दिन गए । हेर्दाहेर्दै छोराछोरी(छर्छरी)को खुशीमा पो आफूँ रमाउने दिन आई पुगेछ । परीवारमा खुशी कसरी ल्याउने रहेछ बल्ल पो था’भयो । बडादशैंको खर्च र चाडबाड उतार्दा लाग्ने ऋण त दह्रो पो हुँदो र’च । चाडबाड आउँदा बेला बखत बाले टाउको कन्याएर लामो शुस्केरा हाल्नुको अर्थ ऐले बोध भयो । ३६ प्रतिशत व्याजमा ऋण लिएरै भए पनि छर्छरीको मुहारमा खुशी ल्याउन बा स्वयं बन्दकी बस्नु पर्दोरहेछ र पो दशैं आउँदो रहेछ !
मैले जीवनमा तीन प्रकारको बडादशैं माने, फरक फरक परिबेश र स्थानमा मानेको बडादशैं पनि फरकै रह्यो । ०३८ सालको चैत्र १० गते पञ्चायती शाशकहरूले राजकाज अपराधको मुद्धा लगाई, म पढ्दै गरेको काठमडौ स्थित त्रिचन्द्र कलेजबाट गिरफ्तार गर्यो । त्यतिखेर म कलेजको सभापति थिएँ । हनुमान ढोका, डिल्लीबजार खोर हुँदै सिन्दुपाल्चोकको चौतरा जेल, काठमाडौको केन्द्रीय कारगार र ललितपुरको नख्खु कारागारसम्मको बसाई लामै थियो । ०३९को बडादशैं साथी भाइसंगै सरकारले दिएको हण्डीमानै सन्तोष मानेर बिताउन पर्ने अवस्था थियो । तर त्यो परेन, काठमाडौका आत्मीय मित्रहरूले हामीलाई पुग्ने भैंसीको मासुको विभिन्न परिकार बनाएर ल्यई दिनु भयो । हामी शुसी भयौं । दुःखद् घडीमा साथीहरूले देखाउनु भएको सदासयता र सहयोग अविष्मरणीयनै रह्यो ।
यो बर्ष ०८३ को बडादशैं आफ्नै घरमा मनाइयो तर यो घर नेपालको थिएन । छोरा बुहारीहरू कृष्ण भक्त भएको हुँदा मासुको परिकार भाञ्सामा पाकेन । साकाहारी परीकार खाएरै खुशी साथ यो बडादशैं समापन गरियो । त्यसैले यो बडादशैं फर्सीको दशैं भयो ।
त्यसैले, जीवनमा पार गर्नु पर्ने अनेक घुम्ती हुन्छन् । त्यसलाई सहजै स्वीकार्न सक्नु पर्छ । जीवन सहज र सरल हुन्छ । धन्यवाद !
राइनास नगरपालिका– १, लमजुङ ।
राष्ट्रिय भुमि आयोगका पूर्व जिल्लासदस्य, लमजुङ ।
हाल : अमेरिका ।

प्रकाशित मिति २०८३ कार्तिक ६, बिहीबार ११:४५ गते
हजुरको प्रतिक्रिया