काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । तर खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाइएको छैन । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । घटेको मूल्य जेठ २ गते राति १२ बजेपछि लागु हुनेछ ।
छिमेकी मुलुक भारतबाट आयात गर्नेक्रममा नै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले सोहीअनुसार भाउ घटाएर मूल्य समायोजन गरिएको निगमले बताएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले समायोजन गरी घटेको नयाँ मूल्य कायम भएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले अहिले यहाँ सोहीअनुसार मूल्य घटाएर समायोजन गरिएको निगमले जनाएको छ । समायोजन मूल्य अनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् कायम गरिएको निगमले जनाएको छ ।
निगमले ढुवानी तथा लागत खर्चअनुसार मुलुकभरका विभिन्न ठाउँलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन वर्गमा विभाजन गरी फरकफरक मूल्य निर्धारण गर्दै आएको छ । तिनै तीन किसिमको वर्गअनुसार तेस्रो वर्गमा पर्ने काठमाडांै उपत्यकालगायतका क्षेत्रमा हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब सो मूल्य घटेर प्रतिलिटर १ सय ७१ रुपैयाँ कायम गरिको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ०९ पैसाले घटेर आएको थियो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारी साधनलगायत अन्य सबै मालसामान ढुवानीको लगातसमेत केही घट्ने आशा गरिएको छ । जसका कारण चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य उपभोक्तालाई केही राहत मिल्ने आंकलन गरिएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ ३, बिहीबार ०६:४८ गते