लमजुङको जिल्ला प्रहरी कार्यालय हाता भित्र एक महिला रगताम्य हुने गरी कुटिदा पनि प्रहरी मौन रहेको खुलासा

लमजुङको जिल्ला प्रहरी कार्यालय हाता भित्र एक महिला रगताम्य  हुने गरी कुटिदा पनि प्रहरी मौन रहेको खुलासा

नवराज पहाडी

@antaranganews

२०८० असार ११ गते सोमबार ०७:३२

पीडितमध्येकै अर्की बिरुले भन्नुभयो, ‘साथीको हैसियतले कोही पनि मेरो घर डेरामा आउनै नहुने भो ।’ यस्तो अचम्म पनि हुन्छ ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।

तीन महिला एक महिलामाथि खनिएर रगताम्य बनाउँदा पनि प्रहरी मुकदर्शक बन्यो

बेसीशहर– जिल्ला प्रहरी कार्यालय लमजुङको हाता भित्र एक महिला रगताम्य हुने गरी कुटिदा पनि प्रहरी मौन रहेको खुल्न आएको छ । ती महिलालाई एकतर्फी र मनगढन्त उजुरीका आधारमा प्रहरी कार्यालयमा झिकाएर कुटाइएको पीडित महिलाले असार ११ गते बताएकी हुन् । सो कुटपिटको घट्ना भने ८ गते भएको उहाँको भनाइ छ ।
पीडित महिला सुन्दरबजार नगरपालिका– ७ को पाउँदी बजारमा पसल सञ्चलान गरी बस्ने पवित्रा गुरुङ हुनुहुन्छ । उहाँ एकल महिला समेत हुनुहुदो रहेछ । उहाँका विरुद्धमा आशंकाकै भरमा गरेको उजुरीका आधारमा ‘तँ आफै हाम्रोमा आउँछेस् कि पुलिस पठाउँ लिन ?’ भन्दै धम्क्याएर जिल्ला प्रहरी कार्यालयमा बोलाएर आफूउपर कुटपिट गराइएको र म रगताम्य हुँदासमेत छुट्याउने काम समेत नगरेको पीडित पवित्राले बताउनु भयो । उहाँका अनुसार आफूलाई त्यसरी कुट्ने महिला सुविना तामाङ दोर्दी गाउँपालिका– ८ की, सोही नामकी बेसीशहर नगरपालिका– १० की र रश्मी तामाङ दोर्दी गाउँपालिका– ८ की हुन् । उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा पनि उपचारका लागि अस्पताल लग्नुको सट्टा छिटो रगत पाखाल भनेर बोतलमा पानी ल्याएर प्रहरीले दियो ।’ मैले मुख धुन मानिन त्यस पछि प्रहरीकै भ्यानमा राखेर जिल्ला अस्पताल लगियो, त्यो दिनमा ड्रेसिङ मात्र गरेर पठाउन खोजे, मैले ‘औषधि चाहिन्छ’ भने, त्यसपछि २ वटा सिटामोल र यौटा मल्हम दिएर पठाए, त्यसको पैसा मैले तिरिन ।’ म अस्पतालबाट निस्कदा मलाई अस्पतालमा लग्ने पुलिस र उनीहरु चढ्ने भ्यान मैले देखिन, म घर फर्किएँ ।

पवित्रालाई कुटपिट गर्नेहरू तीनजना :
त्यसको भोलिपल्ट म उठ्न नसक्ने अवस्थामा पुगेँ र बल्लतल्ल जिल्ला अस्पताल गएँ । जाँचपछि करिब एक हजारको औषधि लेखिदिए, त्यो औषधि लिएर म फर्के पवित्रले गुनासो शैलीमा बताउनु भयो ।
पवित्राले कुटाई खाएर रगताम्य भएका फोटा र उपचार गर्दाको प्रमाण हामीलाई प्राप्त भएको छ ।
पवित्रालाई त्यसरी कुट्नुको कारण विरु तामाङ, उहाँकी सासुआमा मैतकुमारी तामाङले आफ्नो विदेशमा रहनु भएका देवर दोर्दी गाउँपालिका– ८ निवासी सुविना तामाङका श्रीमान् मनबहादुरसँग पवित्राको विवाह गरिदिन खोजे भन्ने आशंका रहेको बताइन्छ । सोही आशंकाको भरमा उजुर दिन पुगेका सुविना तामाङ र उनका साथीहरूको एकतर्फी कुरा सुनेर पवित्रालाई फोनबाट थर्काउँदै झिकाएर कुटाउने काम जिल्ला प्रहरी कार्यालयकी सिनियर सई लक्ष्मी श्रेष्ठबाट भएको बिरु तामाङले बताउनु भयो । उहाँका अनुसार लक्ष्मी श्रेष्ठले हिजो(१० गते) तीन पटकसम्म फोन गरेर मलाई ‘यहाँ आउनुहोस्, उनीहरूले मिल्न चाहेका छन्, क्षतिपूर्ति चाहिन्छ भने पनि दिने भनेका छन्’ भन्थिन् तर मलाई पनि तीन जना मिलेर कुट्ने हुन् कि ? भन्ने लाग्यो र गइन । ‘त्यो तीन जनाले मलाई पनि मार्ने भनेका छन् रे ! त्यसो गर्न पाउँछ त ?’ उहाँले सुनाउनु भयो । उहाँले थप भन्नुभयो, ‘कागले कान लग्यो भनेर कागको पछि धाउने कि कान छाम्ने हो ?’ उहाँले जिज्ञासा राख्नु भयो ।
बिरुले भन्नुभयो, ‘साथीको हैसियतले कोही पनि मेरो घर, डेरामा आउनै नहुने भो ।’ यस्तो अचम्म पनि हुन्छ ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।
यसबारेमा जिल्ला प्रहरी कार्यालयकी सिनियर सई लक्ष्मी श्रेष्ठसँग सम्पर्क गर्दा तपाईलाई चिनेकै छैन, कसरी कुरा गर्ने ? तपाई यहाँ आउनु भन्नुभयो । मलाई प्रहरीको जस्तो दुईथरी कुरा गर्न आउन्न, मैले मेरो नाम(नवराज पहाडी) भनिसकेँ, मलाई तपाईकोमा आउने फुर्सद छैन, तपाईको के भन्नु छ फोनमै भन्नुहोला भन्ने जिज्ञासामा ‘फोनमा भन्न मिल्दैन ।’ उहाँले भन्नुभयो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलसँग सम्पर्क गर्दा म त जिल्ला बाहिर मनाङमा थिएँ, ठ्याक्कै थाहा भएन । सुने अनुसार त्यो दिनमा दुई टोली महिला प्रहरी सेलमा छलफलका लागि आएकोमा एउटा टोलीसँग कुरा हुँदै गर्दा अर्को टोली प्रतिक्षालयमा बसेको र उनीहरूका बीचमा कुटाकुट भएको भन्ने थियो । दुवै थरीले कुटेको भएत दुवै थरी रगताम्य हुनुपर्ने हो, पछि घाउँजाँच पनि प्रहरीले गरेको थियो रे ! प्रहरीकोमा आएको मान्छे कुटिन त नपर्ने, यस्तो नहुनु पर्ने हो, म बुझ्छु ।’

दोषि व्यक्ति नै भए पनि मानव अधिकारको रक्षक दावा गर्ने प्रहरीको कार्यालय त्यो पनि जिल्लास्तरको कार्यालयमा रगताम्य हुने गरी मानिस कुटिदा पनि प्रहरी मौन रहनुले प्रहरीले सर्वसाधारणका लागि सुनाउने गरेका ‘आदर्श बचनहरू’ व्यवहारतः कसका लागि हो ? भन्ने उजागर मात्र भएको छैन गणतन्त्रकालमा पनि पञ्चायतकालीन झझल्को दिएको भान भएको उक्त घट्ना सुन्ने, देख्ने र भोग्नेहरूले बताएका छन् ।

प्रकाशित मिति २०८० असार ११, सोमबार १९:३२ गते
हजुरको प्रतिक्रिया