रास्वपा : अरब र मलेसियामा मानिस पठाउने कम्पनी नबनोस्

रास्वपा : अरब र मलेसियामा मानिस पठाउने कम्पनी नबनोस्

दामोदर पौडेल

@antaranganews

२०८३ साउन १३ गते बिहिबार ०७:२३

तर यो दलले पनि जनताको आशालाई विश्वास र व्यवहारमा उतार्न सक्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुन्छ । रास्वपाले ध्यान दिन पर्ने धेरै क्षेत्र मध्ये ध्यान दिन नसकेको र अब दिनु पर्ने क्षेत्र भनेको शिक्षा हो । जनताको पिडालाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले राम्रोसंग बुझेका छन् ।

जनतामा गएर जनतालाई डर दिएर होइन सचेत बनाएर शान्तिपूर्ण तरिकाले मतबाट सरकारमा गयो । यसको लागि रास्वपा बधाइको पात्र छ । यसका नेता र कार्यकर्ताहरूलाई जनताको आवाज उठाएको र गलत किसिमले दुरुपयोग नगरेकोमा धन्यवाद दिनै पर्छ ।

देशमा हत्या र हिंसा गरेर गाउँ खाली गर्ने, जनता गाउंँमा बस्न नसक्ने बनाउने माओवादीको कारणले यदकदा विदेशमा रोजगारीको लागि जाने गरेका नेपालीको विदेशिने संख्या साह्रै बढ्यो । बिषेश गरेर युरोप, अमेरिका र अस्टेलिया जस्ता देशहरू नेपाली युवाहरूका बस्ने स्थान जस्तो र स्वदेश भने घुम्न आउने थलो जस्तो बन्यो । मलेसिया अरव जानेहरू पनि उतै रमाउने र काम गर्ने क्षमत भइन्जेल उतै बस्ने र काम नपाउने भएपछि देश फर्कने जस्ता प्रवृत्ति पनि देखिन थाले । पहाडमा गाउंँ बस्तीहरू धेरै खाली वा केही मात्र मानिसहरू बस्ने गाउंँहरू पनि जंगल जस्ता बने, बाँंदर, बाघ, बंदेल आदिको आतंक मच्चिएको छ । इमान्दार शिक्षक, पण्डित, पत्रकार आदिलाई पनि बांँकी राखिएन । मन्दिरहरूमा आक्रमण भए । गाई काटेर खान प्रोत्साहित गरियो । गाउंँमा माओवादी आएपछि खान र बस्न त दिनै पर्ने भयो । युवा युवतीहरूलाई उनीहरूको सेनामा पठाएमा आफू सुरक्षित हुने आशा पनि गाउंँमा बस्न बाध्यता हुने गरीवहरूमा रह्यो । छोरा छोरीहरू पठाए । पछि मान्छे मार्दै हिंडेको, कतिपय मरेकोमा मान्छे मारेकोलाई बीरका गाथाले दंग पारिएका र मरेमा शहीद भनेर सम्मान गरेर मुर्ख बनाएका घटना धेरै भए ।
शहीद र मुक्तिसेना भन्दै जनजाति, दलित, आदिवासीहरूलाई मुर्ख बनाएर मार्न र मर्न तयार गर्ने काम भयो । महिलाहरूलाई तिमीहरू कमजोर छैनौं भनेर बन्दुक बोकाउने काम भयो । धेरै मरे, विकास तहसनहस भयो । तर जुन दिनमा सत्तामा माओवादी पुग्यो, मुख्य पदमा दलितहरूलाई अछुतो नै बनाइयो । महिलाहरूलाई मुख्य पद दिन हुंदैन भन्ने मानसिकता नै रहे जस्तो देखियो । मुख्य पदहरूमा प्रचण्ड, बाबुराम, महरा जस्ता क्षेत्री बाहुन जस्ताले नै हालिमुहाली गरे । धेरै महिला, जनजाति, आदिवासी, दलितहरूलाई मुक्तिसेनाका भनेर सम्मान गरे जस्तो गर्ने, मरेमा शहीद परिवार भनेर हात मिलाउने, अबिर र खादा लगाई दिने कार्य बाहेक केही अपवाद छोडेर अरु त्यस्तो उल्लेख्य काम भएन ।
देशलाई अझै कमजोर बनाउने र गाउंँमा मानिस बस्न नसक्ने वातावरण बानीमा परिणत भयो । गाउंँ खाली छन्, खेती हुंदैन । यो माओवादीेले नेपालीलाई दिएको दुःखद उपाहार हो । बास्तवमा नै गाउँंमा माओवादीको कारणले बस्न नसक्ने, खाना, पैसा र छोरी बुहारी माओवादीलाई बुझाउन पर्ने समेतका कारणले तथा मृत्युको समेत डरले तथा आहात भएर सहर छिरेकाहरू बाध्य भएर परिवार पाल्न र गुजारा गर्न तथा बच्चालाई पढाउन लस्कर लागेर मलेसिया, अरव र सक्नेहरू विकसित राष्ट्रहरूका जाने प्रवृत्ति बन्यो । देशको गाउँं त्रासदी फैलने स्थान बन्यो । आर्थिक कारणले बच्चा नपाउने र एकमात्र बच्चा पाउने प्रवृत्ति पनि पहाडमा सामान्य बन्यो । बानी नै बनेकोले माओवादीको हत्या र हिंसाको अन्त्य भएपछि पनि शहरमा बस्नेहरू गाउंँ जान चाहेनन् । दुःख गरेर विदेशबाट कमाएको पैसाले जग्गा र सानो घरसमेत शहरमा बनाएपछि माओवादीले दिएको पिडाको ह्यांगओभर कायम रहेको र गुजारा चलेकोले मानिसहरू गाउंँ फर्केनन् । बरु अरु नफर्केको कारणले बांँकी रहेकाहरू पनि पछि लाग्न थाले । त्यो क्रम निरन्तर जारी छ । केही जान्ने र क्षमतावानहरूले जे गर्दछन् त्यो पछ्याउने चलन त जहाँं पनि छ ।
माओवादीहरूले हत्याहिंसालाई बढाइ रहेको र कहिले राजा र कहिले अरु दललाई प्रयोग गरेको सबैलाई थाहा छ । कांग्रेस इको भारत नै माओवादीलाई देशमा उथलपुथल ल्याउनको लागि पुर्णतः भरोसामन्द अभिभावक बनेको त बारंवार खवर आइरहेका छन् । जातीय आगो बालेर अर्को जात र धर्म, संस्कृति र परंपरा, भाषा र भेगको मानिस प्रति घोषित वा अघोषित घृणा फैलाउने कार्य भयो । यही कारणले गर्दा नेवरले तामाङलाई, तामाङले नेवारलाई, पहाडीले मधेसलाई र मधेसले पहाडीलाई अविश्वास गर्ने जस्ता हजारौं अविश्वास र घृणाका श्रृंखलाहरू माओवादीले तयार ग¥यो । यसको पिडा हामीले भोगिरहेका छौं । आशाको दियोको सोच राखेर पनि केहीले माओवादीलाई सहयोग गरेका थिए । देशमा भएको भ्रष्टाचार र अनियमितता रोकिन्छ । मानिस मरेर के भयो त, अब देशको कायापलट हुन्छ । नागरिकहरूले रोजगारी पाउंछन् । समानता हुन्छ । शान्ति र अमन चैन हुन्छ भन्ने आशामा धेरै नागरिकहरू दंग नै थिए । म आफै पनि माओवादी नभए पनि देशमा समानता, शान्ति, विकास हुन्छ भने राम्रो हो भनेर घरमा कुनै भाडा नलिइ माओवादीहरूलाई बस्न समेत दिएको थिए । नियमित नभइ विशेष अवस्थामा उपचार, औषधी र सुरक्षित स्थानमा जान समेतमा मैले माओवादीहरूलाई सहयोग गरेको थिए । तर बन्दुक, गोली, बमसमेत किन्न सक्ने गरेर सहयोग गरेको थिइन । मैले मानिस मार्नु उचित होइन भन्ने सन्देश पनि दिने गरेको हुं । देशमा लोकतन्त्रको प्रयोगबाट चुनाव लडेर नै सरकारमा गएर जनताको हित गर्न सकिन्छ भन्ने धारणा राख्दै आएको पनि थिए । म आफू कम्युनिष्ट नभए पनि मलाई राज्यले सायद मलाई मार्ने नै लिष्टमा राखेको थियो । म घरमा नहुंदा धेरै पटक खानतलासी भएको जानकारी पाएं । पछि जिल्ला सुरक्षा समितिमा दामोदर माओवादी मात्र होइन कम्युनिष्ट पनि होइनन् केही साथीहरूले भनेकोले म बांँचेको भन्ने सुनेको छु । आओवादीबाट मेरो आशा सुशासनको नै थियो ।
माओवादी सरकारमा गएपछि गरीवी निवारण, भ्रष्टाचार मुक्त समाज, परिश्रम गर्नेको सम्मान, वस जस्ता सन्देश जान्छन् भन्ने सोचेको थिए । त्यो कार्य भएको भए माओवादीलाई कम्तिमा २० बर्ष कसैले पनि सत्ताबाट हटाउन सक्ने थिएन । तर त्यस्तो भएन । दम्भले भरिएर ठूला पदहरूबाट पैसा कमाउने, भ्रटाचारलाई प्रोत्साहन गर्ने, विकास भन्दा आफ्ना सन्तानलाई समेत विदेशमा पठाउन नै ध्यान दिने र समग्रमा देशलाई अझै तहसनहस गर्ने माध्यम माओवादी बनेको मैले महसुस गरें । देशमा माओवादीको कारणले भ्रष्टाचार संस्थागत भयो । जनहितको कार्य होइन बरु सेनापति बदल्ने र काठमाडांैमा कार्यकर्ता बोलाउने उट्पट्यांग कार्य माओवादीहरूबाट भयो र विकास अवरुद्ध भयो । राजा नै फालेर पनि देशमा अस्थिरता र अन्यौलमात्र प्राप्त भयो । जनतामा केही आशा जाग्न सकेन । माओवादीका नेताहरूले जनताको आवाज उठाए, जनताको चाहनालाई सत्तामा जान भन्दा पहिला मुखरित गरे, गलतलाई गलत भने र अन्त्य हुन पर्छ भन्ने सन्देश पनि दिए । तर सत्तामा गएपछि पहिलाका सत्तासिनहरू भन्दा धेरै ज्याद बेइमान भए ।
तिमीले मेरो आंखामा धुलो त छरेका थियौ तर म अझै देख्ने पो भए– अहमद खान । बास्तवमा नै अहमद खानले भने जस्तै माओवादीहरूले जनताको आँंखामा धुलो त छरे केही समय भ्रम पनि भयो । तर जब आंँखा छ्यांँग भयो त थाहा भयो कि उनीहरू जस्तो छौं भन्थे त्यस्ता रहेनछन् ।
रास्वपाले त्यस्तो गल्ती गरेको छैन र अहिलेसम्म सकारात्मक कार्य नै गरेको छ । जनतामा गएर जनतालाई डर दिएर होइन सचेत बनाएर शान्तिपूर्ण तरिकाले मतबाट सरकारमा गयो । यसको लागि रास्वपा बधाइको पात्र छ । यसका नेता र कार्यकर्ताहरूलाई जनताको आवाज उठाएको र गलत किसिमले दुरुपयोग नगरेकोमा धन्यवाद दिनै पर्छ । तर यो दलले पनि जनताको आशालाई विश्वास र व्यवहारमा उतार्न सक्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुन्छ । रास्वपाले ध्यान दिन पर्ने धेरै क्षेत्र मध्ये ध्यान दिन नसकेको र अब दिनु पर्ने क्षेत्र भनेको शिक्षा हो । निजी क्षेत्रको शिक्षाको भुमिकालाई महत्व दिन सक्नु पर्छ । अन्यथा नेपालको हैसियत मलेसिया र अरवमा कामदार पठाउने, त्यसको लागि अनुनय बिनय गर्ने नै हुन जान्छ । यो रोक्न सक्नु पर्छ । जनताको पिडालाई राष्टिय स्वतन्त्र पार्टीका नेताहरूले राम्रोसंग बुझेका छन् । उनीहरूले जनतालाई झुक्याउने र भ्रममा राख्ने कार्य पनि गरेका छैनन् । तर परिणाम राम्रो नआए जनता पर्खेर बस्दैनन् । रोजगारीको व्यवस्था र कृषी उत्पादनलाई कसरी बढाउने भन्नेमा ध्यान दिन जरुरी छ । जनतालाई गाउंँमा जानलाई प्रोत्साहित गर्नै पर्छ । प्रोत्साहन, सुरक्षा, स्वास्थाको उचित प्रवन्ध, शिक्षाको स्तरीयता, आवश्यक बस्तुहरूको पहुंच र उत्पादित वस्तुहरूको बजार मात्र होइन, बरु कृषी, पशुपालन, माछा तथा कुखुरा पालन र फफूल खेतीमा दक्ष बन्न समेत सहयोग गर्न पनि आवश्यक छ ।
अन्त्यमा साउन ६ गते बिपी स्मृति दिवस भर्खरै सकिएको छ । माओवादीले नसिकेको र अरुले सिक्नु पर्ने राजनीतिज्ञ, विद्वान, साहित्यकार र भुतपुर्व प्रधानमन्त्री विपी कोइरालाको भनाइ राखें ।
‘अहिले क्रान्तिलाई कसैको प्राण आहुति चाहिएको छैन । एउटा शिक्षक चाहिएको छ । यस्तो भावना प्रधान क्रान्तिकारीहरूमा यथेष्ट मात्रामा तात्कालिक जोश पाइन्छ र तिनीहरू इमान्दार पनि हुन्छन् । अविवेकी नेतृत्वले चाह्यो भने तिनीहरूलाई कुनै न कुनै आत्मघाती साहाकितामा झोक्न पनि सक्छ । तर जस्तोसुकै जोखिम उठाएर मारिएको भए पनि क्रान्ति व्यक्तिगत साहसिकता होइन । क्रान्ति भावना जगतको मनोवेग मात्र पनि होइन ।’ – बिपी कोइराला ।
माओवादीले युवाहरूको क्षमता र भावनाको दुरुपयोग ग¥यो, रास्वपाले सदुपयोग ग¥यो । मतबाट सदुपयोग त भयो । जनमत आफ्नो पक्षमा पनि आयो । अव रास्वपा नेताहरूले कसरी जनताको हितमा त्यो मतलाई रुपान्तरण गर्छन् हेर्न बांकी छ ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिकको आज  प्रकाशित अंकबाट साभार गरिएको हो । – सं.)

प्रकाशित मिति २०८३ श्रावण १४, बिहीबार १९:२३ गते
हजुरको प्रतिक्रिया