काठमाडौँ– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अमर्यादित अभिव्यक्ति दिएको भन्दै १७ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी)ले उहाँलाई बर्खास्त गर्न भदौ े१८ गते माग गरेका छन् ।
सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्वप्रहरी सङ्गठन प्रमुख मञ्च’ले मन्त्री गुरुङलाई कारबाही गर्न ध्यानाकर्षण गराएको हो ।
पोखराको एक कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाउँदै आएको बेला प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति भदौ १५ गते दिनु भएको थियो । त्यो भनाइको निकै आलोचना हुँदै आएको छ ।
जारी विज्ञप्तिमा १७ पूर्व प्रहरी महानिरीक्षकको हस्ताक्षर छ । मन्त्री गुरुङले प्रहरी महानिरीक्षकविरुद्ध प्रयोग गरेका शब्द अमर्यादित र अशोभनीय भएको तथा यसले मन्त्रीकै राजनीतिक कद घटाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्री गुरुङलाई तत्काल आफ्नो भनाइ फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न तथा आउँदा दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुअघि थप सचेत रहन पनि आग्रह गरिएको छ ।
कांग्रेस सांसद खतिवडाद्वारा जवाफ माग :
यसैबीच, सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले दिएको अभिव्यक्तिमा जबाफ माग गर्नु भएको छ ।
सरकार प्रवक्तासमेत रहनु भएका गुरूङले भदौ १५ गते पोखरामा भएको पत्रकार सम्मेलनमा ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु भएपछि त्यसयता यो विषयलाई लिएर विरोध भइरहेको छ । सांसद खतिवडा भन्नुभयो, ‘सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरूलाई आग्रह छ– जिब्रोमा ब्रेक लगाइयोस् र यसको जबाफ संसदमा दिइयोस् ।’
सो अवसरमा खतिवडाले गण्डकी प्रदेशका सांसद राजिव गुरूङ (दीपक मनाङे) को अभिव्यक्तिबारे पनि सरकारसँग जबाफ माग्नु भएको छ । मन्त्री मनाङेले हिजोमात्रै मन्त्री पद बिक्री गर्न लागेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ती व्यक्त गर्नु भएको थियो ।
प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ? : सांसाद मनिष झा
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको प्रश्नः सरकार प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ? भन्ने प्रश्न गर्नु भएको छ । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनु पर्ने भन्दै दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरीत भएको उल्लेख गर्नु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा उहाँले लोकतन्त्रको आधारभूत सिद्धान्तमध्ये वाक स्वतन्त्रता पनि एक भएको स्मरण गराउनु भएको थियो ।
झाले भन्नुभयो, ‘लोकतन्त्रको पाँच वटा आधारभूत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो। एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्नु कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ?,’ उहाँले थप प्रश्न थियोे, ‘हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरूले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा ।’
कांग्रेसका सांसद भण्डारीद्वारा विज्ञप्तिमार्फत सञ्चार मन्त्री गुरूङलाई बर्खास्त गर्न माग :
यसअघि कांग्रेसका सांसद शंकर भण्डारीले पनि विज्ञप्ति निकालेर सञ्चार मन्त्री गुरूङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सोधपुछ गर्नु भएको, उक्त अभिव्यक्ति पत्रकारको प्रश्नमा जबाफ दिने क्रममा दिइएको मन्त्री गुरूङले बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले त्यसबारेमा सञ्चार मन्त्री गुरूङलाई सचेतसमेत गराउनु भएको बताइन्छ ।
प्रकाशित मिति २०८१ भाद्र १८, मंगलवार १९:०५ गते