काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी थालिएको छ । आगामी असोज ४ र ५ गते हुने उक्त सम्मेलनका बारेमा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उक्त सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।
उक्त सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा हुन लागेको हो । उक्त अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमलकृष्ण श्रेष्ठ हुनुहुन्छ । उक्त सम्मेलनबाट बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तरलाई माथि उठाउन योगदान पुग्ने भएको नेपाल बालसाहित्य समाजका आजीवन सदस्य एवम् गण्डकी प्रदेशका उपाध्यक्ष रमेश चन्द्र घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार आयोजक संस्थामध्येका एक, नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको जानकारी दिनु भयो ।
सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएको पत्रकारहरूलाई प्रधानदे जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिनुभयो ।
आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारहरूले राखेको जिज्ञासाहरूको जवाफ दिनुभएको घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ भाद्र ७, शुक्रबार २३:०४ गते