काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गर्नु चरम अधिनायकवाद लाद्ने प्रयास भन्दै टिप्पणी गरेको छ । रास्वपाको संगठन विभागका शंकर श्रेष्ठले एक विज्ञप्ति जारी गरी असोज ६ गते साँझा अवेर जानकारी दिनु भएको हो ।
उहाँले आफ्नो विज्ञप्तिमा संसदिय छानविन समितिले सहकारी ठगीमा कुनै संलग्नता छैन भनी प्रतिवेदन दिएपनि केपि सरकारले अहिले हाम्रो सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेर चरम अधिनायकवाद लाद्ने प्रयास गरेको उल्लेख गर्नु भएको छ । विज्ञप्तीको पूर्णपाठ ः
‘संसदीय छानविन समितिले सहकारी ठगीमा कुनै संलग्नता छैन भनी प्रतिवेदन दिएपनि केपि सरकारले अहिले हाम्रो सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेर चरम अधिनायकवाद लाद्ने प्रयास गरेको छ । यस्तो हर्कत फासिस्ट सरकारले मात्रै गर्न सक्छ । हामी सभापति सहित केन्द्रीय कार्यालयमा छौं । यो सरकारले जुनसुकै समयमा जे पनि गर्न सक्ने सम्भावना छ । यसैले ‘निलो क्रान्ति’को अभियानमा होमिएका सवै घण्टीमित्र तथा पार्टी संगठनहरूलाई पार्टीले गर्ने कुनैपनि आह्वानमा सशक्त उपस्थिति जनाउन तयारी अवस्थामा रहन हार्दिक अनुरोध गरिन्छ । पार्टी केन्द्रको आदेशको प्रतीक्षा गर्न पनि अनुरोध गरिन्छ । पार्टी केन्द्रले कुनैपनि समयमा आवश्यकताअनुसार सर्कुलर गर्ने छ । साथै पार्टीको सर्कुलर विपरीत कसैले पनि अनावश्यक अराजकतामा नआईदिनु हुन पनि अनुरोध गर्दछु ।’
शंकर श्रेष्ठ
संगठन विभाग ।
प्रकाशित मिति २०८१ आश्विन ६, आईतवार २१:१० गते