रास्वपाको पहिलो महाधिवेशन तयारी तिब्र : वडा र पालिका अधिवेशन माघ मित्र सक्नु पर्ने

रास्वपाको पहिलो महाधिवेशन तयारी तिब्र : वडा र पालिका अधिवेशन माघ मित्र सक्नु पर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २९ गते मङ्गलबार ०६:०७

कार्तिक अन्तिम वा मङ्सिरभित्र जिल्ला भेला सकेर तदर्थ समिति गठन गरेपछि पार्टीले फागुन अन्तिम वा बढीमा चैत पहिलो हप्ताभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

जिल्ला अधिवेशन चैत पहिलो साताभित्र सक्ने, महाधिवेशनमा छ हजारको हाराहारीमा प्रतिनिधिहरू भाग लिने आंकलन छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको तयारीमा तिब्र रुपमा जुटेको छ । पार्टीले महाधिवेशन केन्द्रित भएर वडा तहबाट अधिवेशन सुरु गरिसकेको असोज २९ गते जनाएको छ ।
रास्वपाले यही कार्तिक १ गतेबाट जिल्ला भेलाहरूलाई निरन्तरता दिने तयारी गरेको पार्टी सङ्गठन विभागले जनाएको छ । विभागका अनुसार महाधिवेशनका लागि वडा तहबाटै अधिवेशन सुरु गरी क्रमशः माथिल्ला इकाईहरू पालिका एवम् जिल्ला, प्रदेश अधिवेशशन सम्पन्न गर्ने रास्वपा विधानले निर्देश गरेको छ ।
पार्टीले तल्ला तहका अधिवेशनलाई पार्टीको संशोधित विधान अनुसार निरन्तरता दिएको सङ्गठन विभाग सचिव शंकर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बडादशैँ अघि प्युठान जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, ‘कार्तिक १ गतेबाट बाँकी रहेका जिल्लाहरूको भेला निरन्तर अघि बढाउने तयारी पार्टीले गरिसकेको छ ।’
पार्टीले आउँदो माघपछि नसकिएका वडा तथा पालिका अधिवेशन स्थगन गर्ने तयारी गरेको छ । माघभित्रमा जे जति स्थानीय तहमा अधिवेशन सकिन्छ सम्पन्न गर्ने र बाँकी रहेका स्थानहरूमा केन्द्रीय महाधिवेशन पश्चात् अधिवेशन गर्ने पार्टी सङ्गठन विभागको नीति रहेको छ ।
रास्वपाले हालै सम्पन्न पहिलो राष्ट्रिय भेलाबाट विधान संशोधन गराएको थियो । संशोधित विधानलाई निर्वाचन आयोगमा पठाइएको र उक्त विधान केही दिनभित्रै सार्वजनिक गर्ने तयारी छ, सङ्गठन विभाग सचिव श्रेष्ठले उल्लेख गर्नुभयो ।
‘जिल्ला भेलाले संशोधित विधान अनुरूप तदर्थ समिति गठन गर्छ । कार्तिक १ गतेबाट निरन्तर हामी जिल्ला भेलाहरू अघि बढाउनेछौँ’ श्रेष्ठले भन्नुभयो ।
कार्तिक अन्तिम वा मङ्सिरभित्र जिल्ला भेला सकेर तदर्थ समिति गठन गरेपछि पार्टीले फागुन अन्तिम वा बढीमा चैत पहिलो हप्ताभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
रास्वपा सातै प्रदेशको अधिवेशन चैत अन्तिम वा बढीमा वैशाख पहिलो हप्ताभित्र सक्ने तयारीमा गरेको छ । त्यसपछि केन्द्रीय अधिवेशन गर्ने तयारीमा पार्टीको कार्यसूचि बन्दै गरेको बताइन्छ ।
‘वडादेखि स्थानीय तहको अधिवेशन धमाधम भइरहेको छ । पार्टीले जिल्ला र प्रदेश अधिवेशन कहिले सम्पन्न गर्ने भन्ने तालिका बनाउन बाँकी रहेको’ एक केन्द्रीय सदस्यले बताएका छन् ।
विधानतः पार्टीमा ६ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरूले भाग लिने छन् । पालिका तहबाट सभापति वा तोकिएको व्यक्ति अनिवार्य महाधिवेशन प्रतिनिधि आउनेछन् । गाउँपालिकाबाट १, नगरपालिका बाट २ जना, उपमहानगर पालिकाबाट ३ र महानगरपालिकाबाट ४ जना गरी पालिका अधिवेशनले तोकेको व्यक्ति महाधिवेशन प्रतिनिधि हुन पाउने विधानमा उल्लेख छ ।
पार्टीको पालिकादेखि जिल्ला, प्रदेश विभिन्न विभाग लगायतबाट ६ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू आउने आंकलन छ श्रेष्ठले जानकारी दिनु्भयो ।
गत असोज १ र २ गते काठमाडौँमा सम्पन्न रास्वपाको पहिलो राष्ट्रिय भेलाले महाधिवेशन गर्ने घोषणा गरेको थियो । राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गर्नु भएको हो । सभापति लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि महाधिवेशन मिति घोषणा गर्नु भएको छ ।
सभापति रविले सोही समयमा रास्वपाको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा समेत परिवर्तन गरिएको घोषणा समेत गर्नु भएको थियो ।
रास्वपाले हालसम्म करिब ४ सय वडाको अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टी ०७९ को असार ७ गते स्थापना भएको हो ।

प्रकाशित मिति २०८१ आश्विन २९, मंगलवार १८:०७ गते
हजुरको प्रतिक्रिया