नयाँ विषय वस्तु मानिसहरूलाई पचाउन सहज हुँदैन । त्यसमा पनि पुराना दलहरूको ‘सिन्डिकेट’को पुरानो रबैयामा रमाएर कालो धन कमाउन पल्केकाहरूका लागि नयाँ त्यसमा पनि सुशासनका टुल्सहरू प्रयोग भएको अपच्य हुनु स्वभाविक हो । त्यसैले नेपालमा वर्तमानको नयाँ सरकारको खेदो खन्ने काम सुरु भएको छ । अहिले सुनसरीको देवानगञ्ज लगायतका विभिन्न जिल्लामा मच्चाइएको धार्मिक दङ्गा त्यसकै एक कडी हो भन्दा अतिशयोक्ति नहोला । यस्तो बेलामा आफूलाई नागरिक समाजका अगुवा दावी गर्नेे डा. सुरेन्द्र केसी, कनकमणि दीक्षित, कृष्ण पहाडीलगायतका व्यक्तिहरू कुन दुलोमा छन् ?
यस्तो संवेदनशील बेलामा आफ्नो जिम्मेवारी खासगरी प्रधानमन्त्री बालेन शाह, सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने चनाखो हुन जरुरी छ । सभापति रविले लिनु भएको अग्रसरता, गराउनु भएको सर्वदलीय बैठक र ढिलै भए पछि हिजो(साउन १४ गते) मात्र प्रधानमन्त्री शाहले देशबासीका नाउँमा गर्नु भएको सम्बोधन निकै महत्व पूर्ण मानिएको छ ।
विषय (शीर्षक) वस्तुको सान्दर्भिकता :
नेपाली राजनीतिमा स्थापित पुराना दलहरूको ‘सिन्डिकेट’ र आन्तरिक अलोकतान्त्रिक चरित्रको विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको हो । आम नागरिकले यस दललाई वैकल्पिक राजनीतिको संवाहक र सुशासनको आशाका रूपमा हेरेका छन् । तर यस दलभित्र टुसाउँदै गरेको गुटबन्दीले भने सर्वसाधारणको त्यो आशामा तुषारापात हुने हो कि ? भन्ने आशंकाका बादलहरू माडारिन थालेका छन् । शक्तिका पछि लाग्ने नेपाली समाजको शैली पनि यसको कारक हुन सक्छ ।
हालै चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन र त्यस वरपरका संगठनात्मक अभ्यासहरूले रास्वपालाई नयाँ मोडमा पुर्याएका छन् । एकातिर पार्टी नेतृत्वले ‘त्याग र निष्ठा’को भाष्य निर्माण गर्न खोज्दै छ भने, अर्कोतिर पार्टीको तल्लो तहदेखि केन्द्रसम्म परम्परागत राजनीतिको दुष्चक्र अर्थात् ‘गुटबन्दी’को बिउ अंकुराउँदै जान थालेको आभास भएको छ ।
सायद यस्तैले आभासबाट हुन सक्छ पार्टी सभापति रविले हालै बसेको केन्द्रीय समिति बैठकमा ‘आवश्यक पर्यो भने अर्को पाँच वर्ष पनि प्रधानमन्त्री पद त्याग गर्दछु’ भन्नु र त्यो भनाइसँगै उहाँमा देखिएको खुसी र यसको राजनीतिक अर्थ । पार्टी सभापति रवि लामिछानेले महाधिवेशन र विभिन्न आन्तरिक मञ्चहरूमा आफूलाई ‘व्यक्तिभन्दा विधि र पदभन्दा पद्धति’ माथि राख्ने नेताका रूपमा प्रस्तुत गर्दै आउनु भएको तथ्य सबैको सामु छ । उहाँले पार्टी निर्माणमा गरेको संघर्ष र कतिपय अवस्थामा पद वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दिएका अभिव्यक्तिहरूलाई त्यो दलका केन्द्रदेखि प्रदेश र जिल्लादेखि वडा तहका नेता÷कार्यकर्ताहरूले के कति बुझेका छन् र अनुसरण गरे र गर्न तयार छन् ? रविको त्यो ‘त्याग’लाई कुन रूपमा लिएका छन् ? केही नेता, कार्यकर्ता र शुभचिन्तकहरू यस अर्थमा खुसी छन् कि परम्परागत पार्टीका नेताहरू जस्तो रास्वपा नेतृत्व कुर्सीमा मात्र टाँसिइरहने प्रवृत्तिको छैन भन्ने सन्देश दिन खोजिएको छ । संस्थागत पद्धतिको जग नेतृत्वको यो ‘त्याग’ले पार्टीलाई कुनै एउटा व्यक्तिको निजी झुण्ड Fringe Group बन्नबाट रोकेर संस्थागत ढाँचामा लैजान मद्दत गर्ने विश्वास बलियो बनाएको छ ।
पार्टीमा टुसाउँदै गुटबन्दी र चुनौती :
तर पार्टीमा टुसाउँदै गरेको गुटबन्दी चुनौतीका रुपमा खडा छ । रास्वपाले विचार, प्रविधि र संगठनमा नयाँपन दाबी गरे पनि पार्टीको आन्तरिक चुनाव, जिल्ला तथा प्रदेश अधिवेशनहरू र पदाधिकारी मनोनयनका क्रममा परम्परागत शैलीको गुटबन्दी सल्किन थालेको संकेतहरू प्रसस्तै देखिएका छन् । अधिवेशनहरूमा प्यानल तथा गुट, देशका विभिन्न प्रदेश र जिल्ला अधिवेशनहरूमा उम्मेदवारहरू बीच वैचारिकभन्दा पनि ‘अमुक शीर्ष नेताको निकट’ हुने प्रतिस्पर्धा देखिन आयो । केही पराजित उम्मेदवारहरूले आफू गुटबन्दीकै कारण पाखा लागेको दावी सार्वजनिक रूपमै गर्ने गरिआएका छन् ।
केन्द्रीय महाधिवेशनमा महामन्त्रीको निर्वाचनमा मनिष झालाई एक्ल्याउने उद्देश्यले अन्य उम्मेदवारले गरेको ‘नाम फिर्ता’ र त्यस पछिको अभिव्यक्ति गुटबन्दी होइन भन्ने आधार देखिदैन । यो सन्दर्भमा मनिष झाले सभापतिलाई नै निवेदन(मौखिक) गरेर गुटबन्दी गर्नेलाई कारबाही गर्नका लागि माग गर्नु भएको समेत यहाँ स्मरणीय हुन आउँछ ।
त्यस्तै, प्रत्येक प्रदेशका अधिवेशनमध्ये गण्डकी प्रदेशको अधिवेशनमा पनि अघोषित गुटबन्दीको चलखेल निकै रोचक देखिन्थ्यो । त्यस्तै, जिल्लास्तरको अधिवेशनको कुरा गर्दा लमजुङको अधिवेशन पनि गुटबन्दीको चरमोत्कर्षमा रह्यो । नयाँका नाउँमा अनुभवहीन राजनीतिक सुझबुझ नभएका र संगठन बनाएर पार्टी बलियो र संस्थागत बनाउने भन्दा आफू बलियो हुने शोखमा लागेकाहरूको दिग्विजय– शुभ संकेत नभएको त्यसपछिका घटनाक्रमले पनि पुष्टि गरेकै छ ।
केन्द्रमा शक्ति सन्तुलनको बहस पार्टीभित्र पुराना अनुभवी नेताहरू, नयाँ युवा ‘जेन–जी’ Gen-Z पुस्ता र बाहिरबाट भित्रिएका चर्चित अनुहारहरू बीच अघोषित गुट, उप–गुटहरू सिर्जना हुन थालेका छन् । जसका कारण सभापति स्वयंले ‘पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न र गुटबन्दी नगर्न’ केन्द्रीय बैठकहरूमा कडा निर्देशन दिनुपर्ने अवस्था आएको छ । आकांक्षा र असन्तुष्टि पार्टी सरकारमा सहभागी हुँदा वा संसदीय समितिहरूमा जिम्मेवारी बाँडफाँड गर्दा अवसर नपाएकाहरूमा पलाएको निराशाले गुटबन्दीका लागि मलजल बन्न पुगेको छ ।
गुटबन्दीका प्रमुख कारण :
गुटबन्दी मौलाउनुका प्रमुख कारणहरू द्रुत गतिमा संगठनात्मक विस्तार पनि हो । अत्यन्तै छोटो समयमा देशैभर संगठन विस्तार गर्दा फरक– फरक पृष्ठभूमि र राजनीतिक संस्कार (विशेषगरी पुराना दल त्याग गरेर आएका) भएका व्यक्तिहरूको जमघट हुनु । आन्तरिक लोकतन्त्रको गलत बुझाइ ‘प्राइमरी’ वा आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ वैचारिक बहस बनाउनुको साटो हार– जीतको व्यक्तिगत प्रतिष्ठा र ‘भोट बैंक’ निर्माणको माध्यम बनाइनु । अनलाइन प्रणालीबाट सदस्यता आह्वान । व्यक्तिपूजक प्रवृत्तिको दबाब, पार्टी प्रणालीभन्दा पनि शीर्ष नेताहरूको व्यक्तिगत प्रभाव (Personality Politics) का आधारमा कार्यकर्ताहरू विभाजित हुनु आदि ।
पार्टीमा गुटबन्दी बढ्नुमा प्रशिक्षणको अभाव पनि हो भन्ने कतिपयको बुझाई रहेको पाइन्छ ।
विधान र केन्द्रीय सभापतिको निर्देशनको मर्म विपरितका कार्य :
विधान भनेको जुनकुनै पनि संस्थाको त्यस्तो दस्तावेज हो जो एक पटक बनाएपछि एक साधारण सभादेखि अर्को साधारण सभालाई मात्र त्यसको परिमार्जन(संशोधन)को अधिकार राख्छ । तर रास्वपामा पार्टीले गरेका गलत कामका बारेमा कस्ले बोल्ने ? हिजो काँग्रेस, एमाले, माओवादी पनि यस्तै मनगढन्त हिसावले चल्दै आएका थिए । पार्टीको विधान पालन गर्ने मामलामा ती दललाई समेत उछिन्ने स्थितिमा छ रास्वपा, भन्ने कतिपयले बताउँदै आएका छन् । सुनिन्छ, रास्वपामा दर्जनौं पटक विधान परिमार्जन गर्ने कार्य भएको छ, त्यसले पनि पार्टीमा गुटलाई मलजल गर्न मद्दत गरेको बताइन्छ । केही नेतालाई प्रतिकुल लाग्दा साथ आफ्नो अनुकुलमा विधान संशोधन गर्नु परम्पारगत मान्यता विपरितको कार्य हो । सुशासनको नारा दिने पार्टीका लागि यस्तो कार्य सुहाउँदो मान्न सकिदैन ।
गुटबन्दीमा गण्डकी प्रदेश र लमजुङ :
रास्वपाको गण्डकी प्रदेशका निवर्तमान सभापतिले आफूलाई जस्तो सुकै चतुर खेलाडी ठानेर आफ्नो बखान गर्दै ठूलो देखाउने गरेता पनि जिल्ला– जिल्लामा गुट जन्माउनेमा उहाँले विशेष भूमिका खेलेको आम कार्यकर्ताको बुझाई छ । उहाँको आदर्शता सुन्दा र देख्दा उहाँ निर्विरोध सभापति हुनु पर्ने हो तर गण्डकी प्रदेश अधिवशेनमा भएको निर्वाचनमा हारसमेत खेप्न उहाँले बाध्य हुनु पर्यो । त्यो उहाँले पार्टीका कार्यकर्ताहरू सबैलाई आफ्नो देख्न नसक्नु, तदनुरुपको व्यवहार नगर्नु पछिल्ला दिनले प्रमाणित गर्दै आएका छन् ।
लमजुङमा सभापतिको उम्मेदवार बनेका नवराज पहाडी उमेरले केही पाको देखिए पनि उमेरले युवा देखिने र आफूलाई युवा दावी गर्नेहरूभन्दा उनको क्रियाशीलता कम देखिदैनथ्यो । उमेर र अनुभवले उनको परिपक्वतामा प्रश्न गर्ने ठाउँ पनि सायद देखिदैन । निर्भिक पत्रकारको छवि बनाउन सफल उनमा रास्वपाको सुशासनको नारासँग ठ्याक्कै मेल खाने पत्रकारिताको गुण देखिन्छ । उनले मौका परेको बेलामा प्रशासनलाई समेत समाचारमा नङ्ग्याउने गरिआएबाट त्यस्तो अनुभव आम जिल्लाबासीबाट भएकै छ । उनी सामाजिक कार्यकर्ताका रुपमा समेत परिचित छन् भने उनमा संंगठन गर्ने कुशल क्षमता तथा सहकार्य गर्ने शैलीसमेत विगतमा उनले गरेका विभिन्न संघसंस्थाका गतिविधिबाट देखिदै आएको छ । काँग्रेस– एमालेको आज यो हविगत हुनुमा उनीहरूले सिर्जना गरेको कुशासन पछिको दोस्रो कारण गुटबन्दी हो भन्ने ठम्याइमा रहेका उनले पार्टीमा गुटबन्दी गर्नु हुँदैन, कार्यकर्ताको क्षमता अनुसार पद दिने र लिने गर्नु पर्छ भन्छन् । ‘पद काम गर्नका लागि लिने हो’ उनले पटक पटक भन्ने गरेको पनि सुनिन्छ । साकाहारी जीवनशैलीका उनी चियासम्म पिउँदैनन् जाँडरक्सीको सेवन त धेरै परको विषय भो । त्यसैले पनि जाँडपानीमा रमाउनेहरूले उनलाई नरुचाउनु स्वमाविक हो । तर रास्वपाको जिल्ला नेतृत्वले समेत उनलाई रुचाएन । रास्वपाका स्वघोषित जिल्ला नेताहरू जो आधा समय रक्सीका विभिन्न ब्राण्डको बखान गरेर, अनि कुन ठेकेदारले के कति खर्च गर्न सक्छ ? गर्ने गरेको छ ? भन्नेमा बिताउने गरेको समेत सुन्नमा आइरहन्छ । त्यस्ताहरूका बीचमा पहाडी एक्लो बृहस्पती बनाइनुलाई अन्यथा ठान्नु पर्दैन भने रास्वपा, पुराना दलभन्दा भिन्न छ कसरी ठान्ने ?
पहाडीले रास्वपाको जिल्ला सभापतिमा हारेको भोलिपल्टै काँग्रेसका दर्जन बढी व्यक्तिहरूले उनलाई ‘तेरो हालत देखियो, अब त काँग्रेस नै ठीक लाग्यो’ भन्दै काँग्रेसको क्रियाशील सदस्यता नवीकरण गराए भन्नेसम्म पनि सुन्नमा आएको छ । पहाडीले जिल्ला अधिवेशन ताका भन्थे, ‘जिल्ला नेतृत्वले मलाई एक्ल्याएर कर्नरमा पार्ने प्रयास गर्दा गुटबन्दी नहुने तर नेतृत्वको गलत रबैयाका विरुद्धमा प्रश्न उठाएर विधिको पालना हुनु पर्छ भन्दा मैले गुटबन्दी गरेको हुने, गर्यो र गर्छ भन्ने प्रचार गर्ने ?’
यो घट्नक्रमबाट लाग्छ, पहाडीलाई भन्दा रास्वपाको संगठनलाई क्षति हुँदैछ । अधिवेशनकै बेलामा पनि उनले जिल्ला सभापतिका विरुद्ध अनुशासन आयोगमा दिएको उजुरीको जवाफ अर्थात प्रदेशतहबाट जिल्ला सभापतिलाई दिइएको सफाईका बारेमा निर्वाचन प्रक्रिया चलिरहदा निर्वाचन प्रमुखबाट थाहा पाउने हो ? ‘त्यस उजुरीको निर्णयका बारेमा अग्रिम जानकारी मलाई किन दिइन ?’ उनको प्रश्न छ । त्यो सबै निर्देशनात्मक आज्ञा आदेश गर्ने, गराउने तत्कालीन प्रदेश सभापतिबाट नै भएको पहाडीको ठम्याइ छ । यो कटु सत्य हो भने त्यो कार्यले पार्टी के कति प्रजातान्त्रिक ढंगले चलेको छ ? भन्ने जान्न अर्को उदारहण सायद खोज्नु पर्दैन ।
त्यस्तै पहाडीका आफ्नै मिडिया पनि छन् तर रास्वपाको जिल्ला नेतृत्वमा रहनेहरू कसैले पनि पार्टीको समाचारबारेमा आफूलाई जानकारी दिदैनन् । अनि के लेख्ने ? मैले कति निहुरेर ‘हजुर ! बक्सियोस् ।’ भन्दै हिड्ने ? पार्टीको जिल्ला गतिविधिका समाचार छाप्न नपाएर मेरो पत्रिका खाली राख्न परेको छैन उनले भन्ने गरेका छन् । अझ उनी थप भन्छन्, ‘आजका दिनसम्म आफ्नो साथीले चलाएको पत्रिकालाई बचाउनु पर्छ भनेर वार्षिक ग्राहक बन्ने एकजना सुन्दरबजारको सभापति विमल अधिकारी बाहेक अन्य कोही फेला परेको छैन ।’ यस्ता गतिविधिले रास्वपाको जिल्ला नेतृत्व गुटबन्दीबाट के कति मुक्त छ भनेर ठान्ने ?
लमजुङकै प्रदेश सदस्य तैमाया गुरुङको पछिल्ला दिनमा आएको पार्टी गतिविधि बारेको फेसबुक स्टाटसले पनि त्यो पार्टीमा गुटबन्दी छ भन्ने सिद्ध गरेको छ । उहाँले लेख्नु भएको छ, ‘देश परिवर्तनको साझा सपना बोकेर हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका हौं, त्यसैले अब एक अर्काप्रति आरोप प्रत्यारोप वा मनमुटाव भएर होइन, एकता विश्वास र सहकार्यमा केन्द्रीत हुने समय आएको छ । हाम्रा सानासाना कमजोरीलाई प्रतिस्पर्धीले खेल्ने अवसर बनाउन सक्छन् त्यसैले हिजोसम्म जो जहाँ जे भयो त्यसलाई त्यही छाडेर रिस, घमण्ड, अहम् र तीता मिठा कुराहरूलाई त्यागौं, साझा लक्ष्यलाई केन्द्रमा राख्दै स्थानीय तहदेखि प्रदेश तहसम्म राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाउने अभियानमा एकबद्धता भएर अघि बढौ ।’
गुरुङको यो लेखाइले पनि पार्टीमा गुट छ र त्यसलाई मलजल गरिदैछ भन्ने प्रष्ट छनक पाइन्छ ।
त्यसो त लमजुङबाट केन्द्रीय सदस्यमा चार जनाले उम्मेदवारी दिनु र एक जना पनि सफल(विजयी) हुन नसक्नुले पनि नेताहरू बीचको मनोमालिन्य पनपनिदै गएको रुपमा लिइएको छ । आफू निकट बाहेकका कार्यकर्ताहरूलाई सम्झनका लागि उनीहरूसँग फुर्सद नहुनु, फुर्सद नदेखिनुले पनि नेताहरू के कति ‘चाकडी’ चाहन्छन् भन्ने बुझ्न कठिन नहुने समेत कार्यकर्ता बीच टिप्पणी हुन थालेको सुनिन्छ ।
सजाय र पुरस्कारमा पारदर्शीता :
जुन कुनै पनि संघसंस्थामा सजाय र पुरस्कारको पारदर्शी मापदण्ड हुनुपर्छ । पार्टी पद, राजकीय जिम्मेवारी वा निर्वाचनमा उम्मेदवार छनोट गर्दा व्यक्तिगत निकटता ‘गुट’का आधारमा नभई कार्य सम्पादन र योग्यताका आधारमा गर्ने स्वचालित प्रणाली (Automated Rule-based System) स्थापना गर्न सक्नु पर्छ । वैचारिक र राजनीतिक प्रशिक्षण कार्यकर्ता र नयाँ नेताहरूलाई निरन्तर राजनीतिक प्रशिक्षण (Leadership Academy) मार्फत ‘गुट होइन, मुद्दा र नीति’ केन्द्रित राजनीति गर्न प्रेरित गर्ने । पारदर्शीता प्रत्येक निर्णय तथा आर्थिक गतिविधिमा समेत हुनु जरुरी छ ।
सहमति, समन्वय र सहकार्यको अभाव :
रास्वपाको केन्द्रदेखि जिल्ला, पालिका, वडातहसम्म नै समन्वय, सहमति तथा सहकार्यको संस्कृति विकास हुन सकेको देखिदैन । नेतृत्व तह एक्ला एक्लै आफ्ना २,४ जना आसेपासे लिएर वा एक्लै अघि बढेको देखिन्छ । त्यसैले आन्तरिक मतभेदहरूलाई पार्टीका वैधानिक निकाय (केन्द्रीय समिति, अनुशासन आयोग) भित्रै छलफल गराई सडक वा सामाजिक सञ्जालमा छताछुल्ल हुन नदिने संयन्त्र बलियो बनाउनु पर्छ । प्रणालीलाई व्यक्तिभन्दा माथि राख्ने । सभापति रविको ‘त्याग’लाई केवल भावनामा मात्र सीमित नराखी, पार्टीलाई कुनै एक व्यक्तिको साटो संस्थागत प्रणाली (Institutional Mechanism) ले हाँक्ने गरी रूपान्तरण गर्न जरुरी छ ।
तर पार्टीका केन्द्रीय सभापति रविले टिकट नबाड्न खबरदारी गर्दा गर्दै पनि यहाँ(लमजुङमा) त, म मेयर, म उपमेयर, म अध्यक्ष, म उपाध्यक्ष वा तिम्रो पालिकामा तिमीलाई यो पद दिन्छु मलाई सहयोग गर भन्नेसम्मका गतिविधि समेत भएका थिए र भइरहेका छन् । यसले पार्टीलाई कता पुर्याउने हो ? अनुमान मात्र गर्न सकिन्छ ।
समाधान :
(क) नेता कार्यकर्ताको क्षमता पहिचान गरेर त्यो अनुसार जिम्मेवारी दिनु । कमसेकम एक जना सदस्यले सिफारिस गरेर मात्र सदस्यता पाउने प्रवन्ध गरिनु पर्दथ्यो, यस्तो नहुनु पनि पार्टी संगठन कलामा अनुभवको कमी हो भन्ने देखिन्छ ।
गत फागुन २१ गतेपछि सक्रिय हुनेहरूलाई पाँच वर्ष पर्खन निर्देशन :
(ख) स्वार्थी मनसाय भएका व्यक्ति वा तप्कालाई पार्टीमा हावी हुन नदिनका लागि पार्टीको नेतृत्व पंक्ति(केन्द्रदेखि वडासम्म)ले भन्न सक्नु पर्छ कि ? ‘गत फागुन २१ गते पछि सक्रिय हुनेहरूलाई हाम्रा सभापति रविले ‘आवश्यक परेमा अर्को पाँच वर्ष पनि प्रधानमन्त्री नहुन सक्छु’ भन्नु भएको छ, तिमीहरू यो पाँच वर्ष बिना पद काम गर, त्यसपछि तिम्रो मूल्यांकन पार्टीले गर्छ ।’
(ग) अन्यथा, यसप्रकार पार्टी भित्र पनपनाउँदै गरेको गुटबन्दी मेटाउन नसकेमा त्यसले निकटमा आएको प्रदेश र स्थानीय तह निर्वाचनले पार्टीलाई गुटको दलदलमा फसाएर थिलोथिलो बनाउने छ । अन्ततः नेपाली काँग्रेस, एमाले, माओवादी, राप्रपाको हालतमा पुर्याउने त हैन ? रास्वपाका शुभचिन्तकहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
समाधानका व्यावहारिक उपायहरू :
(अबको बाटो) रास्वपा परम्परागत दलहरू जस्तै आन्तरिक कलह र गुटबन्दीको शिकार भएमा यसले नेपाली जनताको ठूलो भरोसा तोड्ने छ । त्यसैले यसको समयमै समाधान खोजिनु आवश्यक छ । पूर्णतः विधि र विधानको पालना, पार्टीको कार्यविधि र विधान संशोधन गर्दा महाधिवेशनको भावनाअनुरूप पारदर्शी र लोकतान्त्रिक तवरले गरिनुपर्छ, जसले कसैलाई पनि पाखा पारिएको अनुभूति नहोस् ।
निष्कर्ष :
पार्टी भित्र छलफल, बहस र मतभेद हुनु आन्तरिक लोकतन्त्रको सुन्दर गहना हो । तर, त्यो मतभेद जब स्वार्थप्रेरित गुटबन्दीमा परिणत हुन्छ, तब त्यसले संगठनलाई भित्रभित्रै ‘ऐंँजेरु’ जस्तै खान्छ । रास्वपा र यसका सभापति रवि लामिछानेका लागि अहिलेको मुख्य अग्नि परीक्षा भनेकै पार्टीभित्र टुसाउँदै गरेको यो गुटबन्दीको बिउलाई बेलैमा गोडमेल गरी स्वस्थ, लोकतान्त्रिक र परिणाममुखी वैकल्पिक दलका रूपमा आफूलाई टिकाई राख्न सक्नु हो ।
तस्विर : एआईको सहयोगबाट ।
प्रकाशित मिति २०८३ श्रावण १५, शुक्रबार २१:१५ गते