
भोर्लेटार(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा केन्द्रीय कार्यलय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लि.(साकोस)मा सेयर सदस्यहरूले जम्मा गरेको पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगमा सो साकोसका सञ्चालक तथा केही सेयर सदस्यहरूका विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत लमजुङ जिल्ला अदालतमा सो मुद्दा दर्ता गरिएको हो ।
सो मुद्दा सहकारीको नियमनकारी निकाय मध्यनेपाल नगरपालिकाले पठाएको पत्रका आधारमा सहकारी रजिष्ट्रर कार्यालय पोखराबाट खटिएका वित्तीय विश्लेषक निर्मल गौतमले उक्त सहकारीको वित्तीय विश्लेषण र छानबिन गरी १७ करोड ४६ लाख ५९ हजार ४०२ रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनबाट देखिएपछि मुद्दाको रुप लिएको हो । सो प्रतिवेदनमा हिनामिना सम्बन्धित व्यक्तिहरूबाट सो रकम असुल उपर गर्ने राय प्राप्त भएकोमा उक्त छानविन प्रतिवेदनको एक प्रति सहकारी सञ्चालक तथा सरोकारवालाहरूको उपस्थितिमा समितिका अध्यक्ष राजेन्द्र पौडेललाई हस्तान्तरण गरी उक्त प्रतिवेदनमा उठेका विषयवस्तुको सम्बन्धमा १५ दिन भित्र स्पष्टिकरण र रकम असुलीको कारण पेश गर्न २०८२ असार २६ गतको पत्रबाट निर्देशन दिएको थियो । सो समयावधी भित्र पत्रको जवाफ प्राप्त भई आएकोमा यस कार्यालयकोमा उक्त सहकारी संस्थाको छानबिन प्रतिवेदनको सुधार तथा हिनामिना असुली सम्बन्धमा थप अनुगमन गरी राय सहितको प्रतिवेदन पेश गर्न पुन वित्तीय विशलेषक निर्मल गौतमलाई पुनः खटाइएको रहेछ ।
गौतमले २०८२ भदौ १ गते उक्त कार्य सम्पन्न गरी हिनामिना गरिएको उल्लेखित रकम मध्ये २०८२ साउन २९ गतेसम्म पाँच करोड नौ लाख ६ हजार १७१ रुपैयाँ हिनामिनाको रकम सोधभर्ना नभएको तथ्य सहितको आधारमा प्रतिवेदन पेश भई आएको, यसरी पेश भएको प्रतिवेदन प्राप्त भएको थियो । सुरु प्रतिवेदनको हिनामिनामा संलग्न रकम भुक्तान नगर्ने विश्वराज घिमिरे समेतका पूर्व तथा वर्तमान पदाधिकारीहरूले रकम दाखिला गर्न पर्याप्त समय दिदासमेत हिनामिना दाखिला नगरेको कारण उल्लेखित रकम सहकारीमा सोधभर्ना गराउन मुद्दा दायर गरिएको फिराद पत्रमा उल्लेख छ ।
मात्र १८१ पेज लामो अभियोग पत्रमा मध्य नेपाल नगरपालिकाको सहकारी ऐन २०७४ को दफा ७९ बमोजिमको कसुर गरेको हुँदा सोही ऐनको दफा ८४ बमोजिम उक्त कसूरका सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही गरी पाउँ भनी वित्तीय विश्लेषकको राय सहितको प्रतिवेदन २०८२ का आधारमा मुद्दा दायर गरिएको हो । सो आधार पुष्टी गर्ने प्रमाण कागजात पाना नं. १४४२ तथा छानबिन प्रतिवेदनको कैफियत सुधार प्रतिवेदन पृष्ठ संख्या १४ र सो रकम सोधभर्ना पुष्टी गर्ने प्रमाण कागजात २५३ पाना सक्कल प्रति समेत संलग्न गरी रकम सोधभर्ना नदिने व्यक्तिहरूलाई कानून वमोजिम कारवाही गरेर सहकारीको रकम फिर्ता दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको मध्यनेपाल नगरपालिका नगर कार्यपालिकाको कार्यालय लमजुङको २०८२ असोज १ गतेको पत्रका आधारमा मुद्दा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।
सो अभियोगपत्रमा उजुरकर्ताको हकमा नगरपालिका बाहेक हामी बचत कर्ताहरूलाई नोक्सानी हुने गरी रकम ठगी गरी सुरेन्द्रराज पौडेलको सहकारी स्टेटमेन्टमा उल्लेख भए बाहेक अन्य खाता पनि रहेको र उक्त खातामा पनि अं. तीन लाख रुपैया बराबरको बचत उक्त खाता रकम जम्मा भएको विपक्षीहरूले नदेखाएको हुँदा सो खाता र रकमको हकमा समेत बुझी प्रतिवादीहरूलाई कानून बमोजिम कारवाही गरी हामीहरूको बचत रकमको सावा व्याज समेत भराई पाउन भन्ने समेत व्यहोराको अच्युतशाली घिमिरे समेत जना– ३ को जाहेरी दरखास्त संलग्न छ भनिएको छ ।
जसमा बचतकर्ता अच्युत शाली घिमिरे पाँच लाख ५५ हजार ३८३ बिगो रकम बचत, अच्युत शाली घिमिरेको आमा शिव घिमिरे एक लाख रुपैयाँ बचत, सुरेन्द्र राज पौडेल २२ लाख ६४ हजार ५९४ बिगो रकम बचत, अनिता अधिकारी एक लाख रुपैयाँ बचत स्टेटमेन्टमा उल्लेख भए बाहेक अन्य खातामा रहेको तीन लाख बचतसमेत जम्मा ३३ लाख १९ हजार ९७७ रुपैयाँ समेत विगोमा उल्लेख छ ।
यसैगरी, आफूहरूको बचत रकमको सावा व्याजसमेत भराई पाउ भन्ने व्यहोराको सुर्य बहादुर थापा समेत जाहेरी बचतकर्तामा प्रेम कुमार श्रेष्ठ सात लाख १५ हजार ५९३ रुपैयाँ, सोविता श्रेष्ठ जोशी तीन लाख ३३ हजार ८२५ रुपैयाँ, भावना÷दिपिका श्रेष्ठ संयुक्त खाता ६४ हजार ३८ रुपैयाँ, कौसिला श्रेष्ठ ६१ हजार ८२२ रुपैयाँ र विशाल थापा ४३ हजार ७८८ समेत १२ लाख १९ हजार ६६ रुपैयाँको पनि विगो दावी गरिएको छ ।
उक्त मुद्दाका बारेमा बुझ्न सहज होस् भन्ने हेनुले सो साकोसका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पौडेल, प्रवन्धक सरोज पौडेल र स्थापनाकालदेखिका सञ्चालक रहेका विश्वराज घिमिरेले वित्तीय विश्लेषक समक्ष गरेको कागज व्यहोरा यहाँ दिइएको छ ।
सञ्चालक तथा अध्यक्ष राजेन्द्र पौडेलले वित्तीय विश्लेषक समक्ष गरेको कागज व्यहोरा :
संस्था सञ्चालनमा रहेका स्थापना कालदेखि हालसम्मका व्यवस्थापक सरोज पौडेलको नै जिम्मेवारीमा सहकारी संस्था सञ्चालन भएको, नीतिगत निर्णयका कामकाजहरू म समेतका सञ्चालक पदाधिकारीहरू, ऋण तर्फका कामकाज सञ्चालक समितीको तर्फबाट ऋण समितीका पदाधिकारीहरू र सहकारीको नियमनको कामकाज लेखासुपरीवेक्षण समितिका पदाधिकारीहरूमार्फत गरी निर्णय गरी कार्यन्वयनको लागि निजलाई दिइने थियो । सहकारी ऐन, कानुन र मापदण्ड बमोजिम कार्य भए भएनन् भन्ने विषय एकिन भएन । सहकारी संस्था सञ्चालन गर्ने क्रममा मापदण्ड बमोजिम सञ्चालक समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरू, अन्य उपसमितिका पदाधिकारीहरू र व्यवस्थापकसँग छलफल गरी अन्य सहकारीहरूले गरेका कामकाजहरूको देखासिकीमा आपसी सल्लाहमा सहकारी संस्था सञ्चालन गर्दै आएको हो । सहकारी संस्थामा सञ्चालक समितिले तयार गरी साधारणसभाबाट स्वीकृत गराई कुनै पनि नीति नियम तथा कार्यविधीहरू भने तयार गरी सहकारी संस्था सञ्चालन गरिएको छैन ।
ईजाजतको विषय मिलाउला भनि कार्यक्षेत्र बाहीर दुईपिप्ले सेवा केन्द्र खोलिएको हो । कानुन बाहिर गई कारोबार गर्न नहुने हो, सो विषयमा हामी समितिका पदाधिकारीहरूको भूल भयो । त्यस बाहेक अर्को राम बजार सेवा केन्द्र भने कार्यक्षेत्र भित्र खोलिएको तर ईजाजत भने लिइएको छैन । सहकारी संस्थाको लेखापरीक्षण गर्ने विषयमा सहकारीको व्यवस्थापक सरोज पौडेलले नाउँ ल्याएका लेखापरीक्षकहरूलाई हामी समितिले लेखापरीक्षण गर्दिने निर्णय गरी दिएपश्चात् दस्तखत गरी प्रतिवेदन प्रमाणित गरी राख्ने थियौं । व्यवस्थापक सरोज पौडेलले उपलब्ध गराएका कागजातको आधारमा हिसाब रुजु गरी आन्तरिक लेखापरीक्षण भए बमोजिम कारोबार हुने थियो । तर सो क्रममा सरोज पौडेलले बैंक ब्यालेन्स मौज्दात नै कीर्ते गरी प्रमाण पत्रका प्रतिलिपीहरू देखाई हामीलाई झुक्याउने तथा सहकारीका बासलात र नाफानोक्सान खाता नै ईडिट गरी आफूले हिनामिना गरेको रकम लुकाउन कागज पत्र मिलाई पेश गरेर सञ्चालक र लेखासमितिले अनुगमन गर्दा पेश गर्ने गरेको बिषय हाल आएर मात्र थाहा भयो ।
कानून बमोजिम साधारण सभाका निर्णय नगरी गरिएका कामकाजहरू, सहकारी ऐन कानून बमोजिम सञ्चालक समिति, उपसमितिले गर्नभनि तोकिएका कामकाज नगरी भएको क्षति बापतको रकम मसमेतका सञ्चालक समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरू, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरू र व्यवस्थापकले तिर्ने बुझाउने होला ।
सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरूले कुनैपनि ऋण नीति तय गरी सोही अनुरुप स्पष्ट रुपमा ऋणमा लिने व्याजदर, व्याज गणन विधी, व्याज भुक्तानी विधी, सेवा शुल्क समेतका रकमहरू निर्धारण गरी लागु गर्नुपर्नेमा सो बमोजिम कनै नीति नियम बनाई व्यवस्थापन तहलाई प्रदान नगरेको अवस्थामा सञ्चालक समितिका पदाधिकारीहरूले लेखापरीक्षणको क्रममा खर्च लेखेर कर्जा नोक्सानी व्यवस्था देखाउँदा लाभांस बापत बाडेर खाने रकम कम हुन्छ भनि कर्मचारीहरूलाई ऋण रकम लगानी गर्दा निश्चित रकम उठाएर कर्जा नोक्सानी कोष खडा गर्नु भनि भनेकोले सोही बमोजिम भएको हो ।
यसो गर्न नहुने समितिका पदाधिकारीहरू, ऋण समितिका पदाधिकारीहरूको मुखे आदेशले यस प्रकारको कार्य हुन गएको हो । व्याज बढी लेखी सहकारीलाई नोक्सान पुर्याउने व्यक्तिहरू मध्ये क्रमशः सहकारीको सञ्चालक शंकरराज घिमिरे, विश्वराज घिमिरे, ताराशाली घिमिरेका छोरा अच्युतशाली घिमिरे सहकारीका नै मानिस हुन । विभिन्न बैंकहरूमा म राजेन्द्र पौडेल, कोषाध्यक्ष जाकिर हुसेन मिया र कुशल गुरुङ र सरोज पौडेलको दस्तखत चल्ने थियो । प्रायः जसो दस्तखतहरू गरी रकम निकासी गर्न हामी समितिका पदाधिकारीहरू, उपसमितिले लिएका लाभ हामीबाट र बाँकी रकम सरोज पौडेलबाट भराउनु पर्दछ भन्ने लाग्छ । व्यक्तिगत रुपमा सरोज र म मिली चलाएका रकम वापत बनेका ऋणहरू मेरा नाउँका हुन । हामीले समेत निजलाई नै अधिक विश्वास गरी निजको तजबिजमा नै सहकारी छोडेको कारण आफूहरूले कानुन बमोजिम अक्ष्यम गल्ती गरेको समेत महसुस भएको छ । व्यक्तिगत हिनामिना देखिएका रकम सरोज पौडेल समेतका व्यक्तिगत हिनामिनामा संलग्नले र कानुन बमोजिम गर्नुपर्ने काम समिति, उपसमितिले नगरी तथा गरेका निर्णयबाट भएको हानी म समेतका पदाधिकारीहरूले सहकारीमा क्षति भराई जनताको रकम दिने हो भनी खुलाई लेखाई दिएको कागज भन्ने उल्लेख रहेको छ ।
व्यवस्थापक सरोज पौडेलले वित्तीय विश्लेषक समक्ष गरेको बयान कागज :
म मिति २०७० बैशाख १ गतेको दिनबाट व्यवस्थापकको रुपमा सहकारीमा कार्यरत रहेको छु । स्थापनाका क्रममा स्वीकृत विनियम २०६८ बाहेक सहकारी संस्था सञ्चालन गर्ने कुनै नीति सञ्चालक समितिले तय नगरेको तथा समितिको मौखिक आदेश बमोजिम म व्यवस्थापकलाई सहकारी संस्थाको दैनिक कारोवार सञ्चालन गर्नु भने बमोजिम मैले दैनिक कार्य सम्पादन गर्ने÷गराउने कार्य हुने थियो । समितिका पदाधिकारीहरूले कानुन बमोजिम आफूले तोके बमोजिमको कामकाज गर्ने/गराउने र आन्तरिक नीति तथा कार्यविधी तय गरी सोही बमोजिम कामकाज गर्ने÷गराउन पर्ने थियो निजहरूको मौखिक आदेश बमोजिम व्यवहारिक पक्ष हेरी सहकारीको समिति, उपसमितिको मुखे आदेशमा सहकारी सञ्चालन हुने थियो । विनियम बाहेक सहकारीको सञ्चालक समितिले कुनै कार्यविधी, नीति लागु गरेको थिएन ।
व्याजदर प्रदान गर्ने/लिने, ऋण लिने दिने बिषय सञ्चालक समितिका विभिन्न पदाधिकारीहरूको सामुहिक तथा एकल निर्देशनमा हुने थियो । लेखापरीक्षण प्रतिवेदन बमोजिमको मुनाफा प्रदान गर्ने भन्ने सहमती वमोजिम सहकारीको सिष्टममा वास्तविक नाफा नभएकोले मैले ३१,१२,९००१०० रकम विभिन्न पेश्की खाताहरू, बैंक दाखिला वृद्धि र सहकारीको नाफाबाट सृजित लेजरखाताबाट विभिन्न समयका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरूलाई शेयरमा बढी गरिदिएको रकम हो । बचतकर्ताहरूको बचत रकम प्रयोग गरी सञ्चालक समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरू, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूले मागे बमोजिम नगद तथा निजहरूको बचत खातामा दाखिला गराई र केही रकम मेरो खातामा दाखिला गरी तथा नगद निकासी गरी विभिन्न कालखण्डमा प्रयोग गरेको रकम १९ लाख ७१ हजार ८५ रुपैंया रहेको छ । मुख्य कार्यालयबाट विभिन्न मितिमा सदस्यहरूको खातामा बाडेको र भरपाई सिट बनाई समितिसमेतले फिल्डमा नै गई बाड्न प्रयोग गरेको रकम ९६ लाख ५० हजार तीन सय ११ रुपैंया गरी कुल एक करोड ४७ लाख ७३ हजार २९६े रुपैंया रहेको छ ।
सहकारीको स्थापना पश्चात् करिव २०७० साल तिर एकपटक मात्र सञ्चालक समितिको निर्णयबाट केही बचतमा व्याजदर दिने निर्णय भएको देखिन्छ । सो बाहेक सहकारी संस्थामा के, कुन बचतमा कसरी व्याज दिने भन्ने विषयमा नीतिगत निर्णय र नीति छैन । सञ्चालकहरूले मेरो बचत फिर्ता गर, मिनिमम व्यालेन्स राखेर नभए मलाई व्याज थप्दे मिटरव्याजमा मान्छेलाई नै पैसा लगाए पनि दुई रुपैंया (सयकडा दुई) २४ प्रतिशत भन्दा बढी आउँछ भनि विशेषगरी सञ्चालक समितिको पदाधिकारी विश्वराज घिमिरे र शंकरराज घिमिरेले मलाई दबाब दिएको र मैले पनि सञ्चालक समितिको नियमित रेखदेख र अनुगमन नहुने हुँदा सहकारीको केही रकम प्रयोग गरेको, ऋण लगानीमा भएको ऋण नउठेको कारणबाट तत्काल फिर्ता गर्न नसक्ने बाध्यात्मक अवस्थाले मैले उनीहरूलाई फर्जी खर्च लेखी व्याज प्रदान गर्नु परेको हो ।
छानबिनकै क्रममा म र सञ्चालक समितिको रोहवरमा कारोबार परीक्षण गर्दा फर्जी दाखिला देखाएको कारोबार परीक्षण भएको रकम ९६ लाख ४० हजार ६६५ रुपैयाँ रहेको, सहकारीको लेखापाल पदमा कार्यरत रहेकी कर्मचारी सोनी धिङ्गलले आफूले कार्यालयको नगदलाई बैंक दाखिला देखाई प्रयोग गरेको रकम हो । निजको नै युजर आईडि प्रयोग गरी निजले फर्जी दाखिला देखाई कुल नौ लाख ४३ हजार तीन सय रुपैयाँ प्रयोग गरेको, कुशल गुरुङ समेतले सोनी धिङ्गालको झंै एक लाख छत्तीस हजार रकम प्रयोग गरेको, त्यसैगरी मिति २०८१ फागुन २१ गतेका दिनमा सहकारीको आन्तरिक लेखापरीक्षण पश्चात मैले विभिन्न मितिमा बैंक मार्फत हिनामिना गराएको रकम फिर्ता दिएको कारोबार प्रविष्ट गर्न छुटेकोमा ३१ लाख रुपैयाँ दाखिला गरी मैले व्याज जोडी ४६ लाख ४९ हजार ५५५ रुपैयाँ दाखिला देखाएको हो ।
त्यसैगरी वास्तविक बैंक दाखिला भन्दा सिष्टममा बढी दाखिला ईन्ट्रि गरेर र बास्तविक रकम निकासी भन्दा कम निकासी देखाई कुल ६६ लाख ७८ हजार भन्दा बढी रकम निकासी भएको छ, कारोबार फरक पारी भएको रकम निकासी सम्बन्धमा कर्मचारी सोनी धिङ्गलले मिति २०७९ असोज २ गते फरक पारी दाखिला गरेको, र मिति २०७५ असोज १ गतेका दिनमा चेकमार्फत शमशेर बहादुर नेपालीले तीन लाख निकासी गरेकोमा सिष्टममा दुईलाख मात्र निकासी देखाईएकोमा फरक रकम ममार्फत निजबाट लिई सहकारीलाई भराई दिनुपर्ने रकम हो । त्यस बाहेकका कारोबारका रकम मबाट भएका हुन । त्यसैगरी ग्लोबल आईएमी बैंकबाट मसमेतका व्यक्तिका नाउँमा रकम निकासी गराई तथा रकमान्तर गराई सोझै निकासी गरेको रकम एक करोड ७० लाख, ७५ हजार ११३ रुपैयाँ भन्दा अधिक रहेको छ । १० लाख ६० हजार रुपैयाँ निकासी भए भन्दा कम निकासी देखाई बैंक खाताबाट रकम लक्ष्मी बैंक लिमिटेडको बैंक खातामा जम्मा भएको रकम म समेतका व्यक्तिका नाउँमा रकम निकासी गराई तथा रकमान्तर गराई सोझै निकासी गरेको रकम ८७ सतासी लाखm रुपैयाँ भन्दा अधिक रहेको छ । बैंकमा दाखिला गरीएको बास्तविक रकम भन्दा फरक र बैंकबाट झिकिएको वास्तविक रकम भन्दा फरक रकमको लेजरमा कारोबार प्रविष्ट गरी सहकारीको रकम निकासी गराएको कुल १८ लाख ६५ हजार ८७५ रुपैयाँ बढी रहेको छ ।
यसरी रकम प्रयोग गर्ने सन्दर्भमा सहकारीको लेखापाल सोनी धिङ्गलले आफ्नो युजर आईडि प्रयोग गरी गरेको कारोबारबाट एक करोड एक लाख, ममता थापाको युजर आईडिबाट २१ हजार, कुशल गुरुङको युजर आईडिबाट ६८ हजार, शाखा कार्यालयबाट २८ हजार एकिन कारोबार कसले प्रविष्ट गर्यो जानकारी भएन, यस बाहेकको रकम मेरो युजर आईडि प्रयोग गरी निकासी कारोबार फरक देखाई गरेको निकासी हो ।
प्राईम कर्मसियल बैंक लि.बाट म समेतका व्यक्तिका नाउँमा रकम निकासी गराई तथा रकमान्तर गराई सोझै निकासी गरेको रकम ५५ लाख ९८ हजार ८२८ रुपैयाँ भन्दा अधिक रहेको छ । सानो उमेरमा नै समितिले ठूलो जिम्मेवारी दिएको र उहाँहरूको नियन्त्रण, नियमन र आन्तरिक नियन्त्रण प्रणालीनै कमजोर भएकोले मबाट बैंक खाता दुरुपयोग गरी भएको गल्ती कमीकमजोरी तिर्न बुझाउन मन्जुर छु । सहकारीको समस्या र बचतकर्ताहरूलाई सम्झेर ईमान पूर्वक रकम फिर्ता दिई सहकारीलाई सहयोग गर्नुपर्दछ । कृषी विकास बैंकमा फर्जी दाखिला देखाई ८० हजार रुपैयाँ सोनी धिङ्गलले निकासी गरेर लगेको हो । सञ्चालक समितिमा बसेर मात्र कहाँ हुन्छ सरोज कहिले काहीं भ्रमण जाने आफ्ना सोखहरू पुरा गर्ने भन्दा सहकारीको सञ्चालक भन्ने सेवा सुविधा केही नहुने देश नै भरीका सहकारीका सञ्चालकहरूले कति ठाउँ डुल्छन रमाईलो गर्छन, सबै पैसा सहकारीलाई भार पारेर जाँदा गाह्रो हुन्छ केही पैसा उठाउँ र बाँकी पैसा सहकारीको प्रयोग गरी जाउँ भनि मलाई भने पश्चात् सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू, लेखासुपरीवेक्षण समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरूको सल्लाहमा निर्णय गरी हामीसँग नजिक भएका केही शेयर सदस्यहरूलाई समेत समावेश गरी विभिन्न समयमा नेपालको सौराह, कालिञ्चोक, मुक्तिनाथ, लारपाक, बारपाक, दरौसिरुवारी, माझिकुना तथा भारतको नैनी ताल, सिक्किम, दार्जलिङ्ग, गोवा, भ्रमण गई सञ्चालक समिति, ऋण उपसमिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूसँग म व्यवस्थापक, कर्मचारी र शेयर सदस्यहरूले आफ्नो शोख पुरा गर्नको लागि निकासी गरेको रकम यही लेजर खाताबाट १४ लाख ८९ हजार १५० रुपैयाँ निकासी दिएको हो । लेजर कोड नं. १२०।२।२४ मा कायम रहेको छ ।
eye camp पेश्की खातामा भएको कारोबार : सहकारीको सचिव बद्रि प्रसाद पौडेलले आफू सभापति रहेको नेपाल रेडक्रस सोसाईटी भोर्लेटार शाखाले आँखा शिवीर राख्ने र सो बमोजिम सहकारीबाट रकम सहयोग गरौं र हामी पनि साझेदार बनेर आँखा शिवीर गरौं भने पश्चात सञ्चालक समितिका पदाधिकारीहरू राजेन्द्र पौडेल, बद्रि प्रसाद पौडेल, जाकिर हुसेन मिया, यसोदा न्यौपाने, गीता वि.क., बुद्धिभक्त रेग्मी, उमेश अधिकारी र व्यवस्थापक सरोज पौडल समेतको सल्लाहमा निर्णय नै गराई सहकारी संस्थाले आखाँ शिविर गर्ने रकम निकासी गरेको हो । तर उल्लिखीत रकम निकासीको सहकारीमा कुनै भौचर प्रमाण भने रहेको छैन, सहकारीमा खर्च लेख्ने प्रयोजनका लागि विभिन्न मानिसका नाउँमा औषधी किनेको बिल र यातायत बापतको खर्च भनि भुक्तानी गरेको १,३७,४१३१०० रुपैयाँ रहेको छ ।
सहकारीमा फर्जी लेखापरीक्षण बनाएको :
उक्त सहकारीमा फर्जी लेखापरीक्षण बनाएको र वास्तविक नाफा नरहेको कारणबाट सामाजिक विकास कोष लगायतका कोषमा रकम नरहेको अबस्थामा मैले पेश्की देखाई बचतकर्ताको बचत बापत उठेको रकम निकासी दिएको हुँ । लेजर कोड नं. १२०÷२०१९ मा कायम रहेको रेमिटान्स एडभान्स पेश्की खाता सम्बन्धमा : उल्लिखित लेजर खातामा कायम रहेको रेमिटान्स एडभान्स नाउँको लेजर खातामा प्रविष्ट गरिएको रकम ४० लाख सम्बन्धमा, मिति २०७६ असार ३१ गतेका दिनमा पेश्की लेजर खाता कृयट गरी सो पूर्व विभिन्न मितिमा रेमिटान्स एडभान्स नाउँको शुन्य प्रतिशत व्याजदरमा कर्जा देखाएको रकम भुक्तान गर्नको लागि प्रयोग भएको रकम हो । सो रकम फरफराक गर्ने दायित्व मेरो हो । सहकारी संस्थामा ऋण लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिका पदाधिकारीहरू, ऋण उपसमितिका पदाधिकारीहरूमार्फत साधारण सभाबाट स्वीकृत गराई कुनैपनी ऋण नीति लागु भएको छैन । म समेतका सञ्चालक ऋण समितिका पदाधिकारीहरूले हामीले गरेको मौखिक सहमती र सल्लाह बमोजिम त्यसरी तमसुक बनाई नबनाई रकम निकासी गरेका रकमहरू बिएलएम नाउँको प्रोडक्टमा बुक गरी दैनिक बचत रकम भन्दा अधिक ऋणका नाउँमा रकम निकासी गरी सहकारीलाई कानुन बमोजिम तिर्नुपर्ने व्याज नतिरेको र कतिपय हकमा मैले शुन्य प्रतिशतमा समेत ऋण प्रयोग गरेको लगायतका कारणबाट सहकारीलाई पुर्याएको हानी र अन्य व्यक्तिहरूलाई समेत त्यसरी ऋण दिएको कारण पुगेको क्षतिको गणना गरी तिर्न बुझाउन मन्जुर रही सहिछाप लगाई छानबिनको क्रममा नै त्यसरी ऋणका नाउँमा रकम निकासी गरेको ७४१ वटा ऋणबाट भएको कुल हिनामिना रकम एक करोड ८७ लाख आठ हजार १४० रुपैयाँ कुशुल गुरुङ, ममता भुजेल, म सरोज पौडेल, सोनी धिङ्गल, सरोज पौडेल, बुद्धिभक्त रेग्मी, जाकिर हुसेन मिया, केशवराज अधिकारी, लोकनाथ रिमाल, मदन कुमार न्यौपाने, पुनम गुरुङ, राजेन्द्र पौडेलको नाउँमा भएको राजेन्द्र पौडेल र मैले दामासाहीले, सचिन लामिछाने, सरिता पौडेल, शिवराज पौडेल, सीता गुरुङ, सुशील अधिकारी, उमेश अधिकारी, यशोदा न्यौपानेले व्यक्तिगत रुपमा लिएको लाभ बापत पुगेको नोक्सान ५२ लाख ४८ हजार पचास रुपैयाँ रहेको छ । लेखा सुपरीवेक्षण समिति र सञ्चालक समितिका पदाधिकारीहरू विश्व राज घिमिरे, अध्यक्ष राजेन्द्र पौडेलले मैले यसरी संस्था सञ्चालन गरेको थाह पाएपछि मलाई समयमा नै करेक्सन गर्नुपर्ने ठाउँमा उनीहरूसमेतले मेरो यही गल्तीबाट फाइदा उठाउन विभिन्न कामकाजमा लगाउने आफूलाई फाईदा पुग्ने गरी कामकाजमा लगाउने सहकारीबाट रकम माग गरी लाने तथा आफ्ना खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य गरी मेरो गल्तीको फाईदा उठाएको कारण मसमेत सच्चिन नसकी निजहरूको निर्देशन बमोजिम थप गल्ती हुँदै गयो । अन्त्यमा, जानेर नजानेर कमजोरी भई समितिका पदाधिकारीहरूका निर्णय र आदेश बमोजिम तथा मैले गरेका हिनामिनाहरूको लाभसमेत गरी जो जसले जे जति लाभ लिएका छौं । एउटा निश्चित समयसीमा भित्र फिर्ता गर्ने तथा समितिको लापरबाही र मेरो लापरबाहीबाट पुगेको कानुन बमोजिमको क्षतिसमेत भराईदिने हो भनी खुलाएको व्यहोरा कसुरको सम्बन्धमा बुझिएका क्रमशः शान्ती थापा, प्रतिक्षा परियार, सुरज सुनार समेतले कागज गर्दा सहकारी संस्था सञ्चालनको क्रममा उक्त सहकारी संस्थाको सञ्चालक समिति लगायतका पदाधिकारीहरूले सहकारीमा बचतकर्ताहरूले बचत गरेको तथा शेयर लगानी गरेको रकम हिनामिना तथा अपचलन गरेको भनी नियमनकारी निकाय मध्यनेपाल नगरपालिकाको कार्यालय मार्फत वित्तीय विश्लेषक सहित छानबिन गर्दाको बखत खुल्न आएको छानबिनकर्ता तथा वित्तीय विश्लेषकको प्रतिवेदनमा उल्लेख भए अनुसारको सञ्चालक समिति, पदाधिकारीहरू तथा ऋणीहरूबाट हिनामिना भएको रकम असुल उपर गरी सम्बन्धित बचतकर्ताहरूलाई नियमानुसारको ब्याजसमेत दिलाई भराई उक्त हिनामिना कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कारवाही हुनुपर्दछ भनी व्यवस्थापक सरोज पौडेलले वित्तिय विश्लेषक समक्ष गरेको कागजको पूर्ण रुप हो यो ।
संचालक विश्वराज घिमिरेले वित्तीय विश्लेषक समक्ष गरेको कागज व्यहोरा :
म स्थापना कालदेखि सहकारी संस्थाको संचालक हुँ । शेयर सदस्य नं. ३६ मार्फत कारोबार गर्दै विभिन्न मितिमा १२ लाख १२ हजार ६४९ रुपैयाँ रकमान्तर गरी मेरो खातामा रकम दाखिला भएको ठीक साँचो हो । यस बाहेक २०८० कार्तिक १२ गते फर्जि व्याज खर्च लेखी तीन लाख ८२ हजार एक सयरकम शेयरमा आएको छ । लेखापरीक्षण गराउने दायित्व कानुनत सञ्चालक समितिको हो । तर पनि मलाई जानकारी थिएन । संरक्षित पुँजीकोषमा भएको रकमबाट भ्रमण जाने सहमती बमोजिम सोही अनुरुप सञ्चालकहरू, उपसमितिका व्यक्तिहरू, व्यवस्थापक समेतका कर्मचारी र अन्य केही शेयर सदस्य समेत भ्रमणमा गएको हो तर हाल आएर नोक्सानमा भएको जानकारी प्राप्त भएको तर सो नोक्सान समितिबाट पारित नभएकोले सम्बन्धीत व्यक्तिहरूले जिम्मा लिनुपर्दछ । उपस्थितिमा मेरो नाउँको आडमा भएको दस्तखत मेरो नै हो भनि वित्तिय विश्लेषक समक्ष सनाखत गरीदिए ।
उक्त सहकारी ठगी मुद्दाका मुख्य मुख्य प्रतिवादीहरू :
राजनीतिक शक्ति केन्द्रको आडमा आफू उम्किएर केही सेयर सदस्यहरूलाई मात्र फसाउन खोज्ने उक्त सहकारीका सञ्चालकहरू पनि अन्ततः प्रतिवादीको सूचिमा अंकित भएको छ । प्रतिवादी बनाइएका ६४ जना सबै ‘फरार’ भन्ने प्रहरीको दावीले पनि राजनीतिक शक्ति केन्द्रको के कति चलखेल भएको वा दुरुपयोग गरिएको छ भन्ने आंकलन गर्न कठिन हुँदैन जानकारहरू बताउछन् ।
दोषिमा प्रमुख दायित्व भएता पनि सञ्चालकहरूलाई ४२ नंदेखि मात्र प्रतिवादीको सूचिमा राखिएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने सकेसम्म ४१ जनाबाट मात्रै यो मुद्दा सल्टियोस् भन्ने चाहना सो सहकारीका हर्ताकर्ताहरूको थियो । तर सधैं सबै कुरा मानिसले सोचेको जस्तो कहाँ हुन्छ र ? अब हेरौं ४२ औं नंदेखिका प्रतिवादीहरूको नाम । मुद्दामा जिल्ला, पुरानो र नयाँ वतन सम्बन्धित व्यक्तिको बाबु÷श्रीमान्को नाम, नागरिकता नंसमेत खुलाइएको छ । त्यो हामीले समाचारमा दिन आवश्यक ठानेनौं तर हामीसँग त्यो प्रति सुरक्षित छ । मध्यनेपाल नगरपालिका– ६ भोर्लेटार स्थित उक्त सहकारी संस्था लि.(साकोस)का बर्तमान अध्यक्ष वर्ष ५३ को राजेन्द्र पौडेल, सो साकोसका बर्तमान प्रबन्धक वर्ष ३५ को सरोज पौडेल, बर्तमान उपाध्यक्ष प्रताप शाली घिमिरे, तनहुँ भानु नगरपालिका– १३ बस्ने कमुर दिन मियाको छोरा वर्ष ४३ को जाकिर हुसेन मिया, संस्थाका बर्तमान सचिव वर्ष ४७ को वद्रि प्रसाद पौडेल, संस्थाका कोषाध्यक्ष वर्ष ५४ को राम बहादुर क्षेत्री अधिकारी रहेका छन् ।
त्यस्तै, संस्थाका बर्तमान सञ्चालक सदस्यहरू श्रीमती वर्ष ४८ की सीता गुरुङ, तेह्रथुम जलजले गा.वि.स.– ६ हाल कायम फेदाप गाउँपालिका– ३ स्थायी वतन भई मध्यनेपाल– ६ बस्ने बर्ष ५४ को लोकनाथ रिमाल, बर्ष ४३ को मुक्तिमणि पौडेल, बर्ष ४९ को मिन बहादुर भण्डारी क्षेत्री, वर्ष ४५ को शंकर राज घिमिरे, तनहुँ साविक खैरेनीटार नगरपालिका– ८ बस्ने वर्ष ६४ को शिवराज पौडेल, संस्थाका लेखा समिति सदस्य वर्ष ४० को सुशील अधिकारी, वर्ष ३७ को उमेश अधिकारी, सदस्य वर्ष ३५ की यशोदा न्यौपाने पौडेल, वर्ष ५० की गीता विश्वकमा, वर्ष ४४ को नवीन अधिकारी, केशव राज अधिकारी आदि सबै प्रहरीको दृष्टिमा फरार रहेका प्रतिवादीहरू हुन् ।
यसैगरी, प्रहरीले फरार सूचिमा राखेका अन्य प्रतिवादीहरूमा संस्थाका ऋण उप समिति सदस्यहरू वर्ष ५६ को कृष्णकान्त पौडेल, वर्ष ५३ को राममणि भट्टराई र वर्ष ३५ को सचिन लामिछानका साथै संस्थाको तत्कालीन कर्मचारी वर्ष ३२ की पुनम गुरुङ आदि रहेका छन् ।
साथै वारदात पश्चात फरार रहेका प्रतिवादीहरू भिम बहादुर श्रेष्ठ, बिराज गुरुङ, विशाल गुरुङ, विश्वराज घिमिरे, बुद्धि भक्त रेग्मी, ज्ञान प्रसाद अधिकारी, श्यामकला सापकोटा अधिकारी, ज्ञानराज मल्ल, गोरा गुरुङ, कृष्ण दुरा, कुशल गुरुङ, लबिन गुरुङ, मदन कुमार न्यौपाने, ममता थापा भुजेल, मनिराम खड्का, प्रदिपराज घिमिरे, प्रकाश न्यौपाने, सरिता पौडेल, सोनी धिङ्गल(दुरा), सिता देवी वि.क., सुर्यनाथ घिमिरे, उषा देवी श्रेष्ठ, अमृत गुरुङ, अनिता गुरुङ, बिकास गुरुङ, बिक्रम कुमार श्रेष्ठ, बिनोद परियार, धनसुव्वा गुरुङ, ध्रुव कुँवर, खेम बहादुर गुरुङ, मञ्जु विश्वकर्मा, मञ्जु श्रेष्ठ, नरेन्द्र पाण्डे, ओम कुमारी गुरुङ, राज कुमार गुरुङ, संसेर बहादुर नेपाली, सर्मिला क्षेत्री रेग्मी, सत्य विश्वकर्मा, सुनिल गुरुङ, सुर्य बहादुर कुवँर, तेज बहादुर तामाङ, बद्रि प्रसाद पौडेल, गिता बि.क., जाकिर हुसेन मिया, केशवराज अधिकारी, कृष्णकान्त पौडेल, लोकनाथ रिमाल, मिन बहादुर भण्डारी क्षेत्री, मुक्तिमणी पौडेल, नबिन अधिकारी, प्रतापशाली घिमिरे, पुनम गुरुङ, राजेन्द्र पौडेल, राम बहादुर अधिकारी क्षेत्री, राममणी भट्टाराई, सचिन लामिछाने, सरोज पौडेल, शंकरराज घिमिरे, शिवराज पौडेल, सिता गुरुङ, सुशील अधिकारी, ताराशाली घिमिरे, उमेश अधिकारी, यसोदा न्यौपाने पौडेलको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम सम्मानित अदालतबाटै म्याद जारी हुन सादर अनुरोध छ अभियोग पत्रमा उल्लेख छ ।
पुनश्चः उनीहरू मध्ये २३ जना सञ्चालकको हकमा व्यक्तिगत रुपमा छुट्टै विगो दावी र सजायको समेत माग गरिएको छ । त्यो विवरण आउँदो समाचारमा दिइने छ ।
प्रकाशित मिति २०८३ भाद्र २५, बिहीबार २०:५० गते